निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैंगिक अल्पसंख्यकलाई बिहानीको प्रत्यक्ष राहत

लैंगिक अल्पसंख्यकलाई बिहानीको प्रत्यक्ष राहत

304
SHARES

काठमाडौं – समाजले पछाडि पारेका, परिवारले अस्वीकार गरेका र राज्यको नीति–कार्यविधिमा उपेक्षा भोगिरहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूका लागि “रेनबो प्रोजेक्ट”जीवन्त आधार बनेको छ।

बिहानी सामाजिक उद्यमद्वारा सञ्चालित यो परियोजनाले आफ्नो सातौँ सत्र सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। रेनबो प्रोजेक्टले मायाको पहिचान नेपालसँग सहकार्य गर्दै समुदायका लाभग्राहीहरूलाई शैक्षिक सामग्री, आवश्यक औषधि तथा दैनिक उपभोग्य खाद्यान्न (रासन) वितरण गरेको छ।

विशेषगरी घरपरिवारले अस्वीकार गरेका, वृद्धावस्थामा पुगेका वा रोगपीडित सदस्यहरूले यसबाट प्रत्यक्ष राहत पाउँदै आएका छन्। समुदायका सदस्यहरूका धर्म सन्तानको अध्ययन शुल्क बिहानी संस्थाले भुक्तानी दिने गरेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नाममा वर्षेनि करोडौँ रुपैयाँ विदेशी सहयोग लिने ठुला गैरसरकारी संस्थाहरूको अवहेलना भोगिरहेका यिनै सदस्यहरूले सहयोग पाउँदै आएको मायाको पहिचान नेपालले जनाएको छ।

संस्थाले भन्यो, “जसलाई समाजले मात्र होइन, आफ्नै समुदायका संस्थागत संरचनाले समेत छाडिदिएका छन्, उनीहरूलाई समेट्ने प्रयास नै हाम्रो मूल उद्देश्य हो।”

मायाको पहिचान नेपालका अनुसार एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्तसँगको छलफलपछि बिहानीले रेनबो प्रोजेक्टलाई अघि बढाएको हो। ब्लु डायमन्ड सोसाइटीले आवश्यकतामा ध्यान नदिँदा बेखबर बनेका ज्येष्ठ सदस्यहरू हरेक महिना एक दिन संस्थामा भेला भई आपसी पीडा साट्ने र सहयोग पाउने गरेका छन्।

बिहानीले रासन सहयोगका लागि शर्मिष्ठा थापा र समृद्धि राणाप्रति विशेष आभार व्यक्त गरेको छ। उनीहरूको उदार योगदानले विपन्न सदस्यको भोकमरीलाई केही हदसम्म टारेको आयोजकहरूले बताएका छन्।

मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्रीको समन्वयमा विद्यालय शुल्क तिर्न नसकेका सदस्यका धर्म सन्तानलाई नगद सहयोग गरिएको छ भने बिरामी सदस्यलाई औषधिको बिल अनुसार नगद उपलब्ध गराइएको छ। सातौँ संस्करणसम्म आइपुग्दा समुदायका सदस्यले हरेक महिना, नगद र खाद्यान्न सहयोग पाउँदै आएका छन्।

संस्थाका कार्यकारी निर्देशक तथा एसियाकै पहिलो समलिङ्गी सांसद पन्तले समुदायका वास्तविक आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए। संस्थाले भनेको छ, “यो प्रोजेक्ट केवल राहत मात्र होइन, सङ्घर्ष व्यवस्थापन र आत्मसम्मान पुनःस्थापित गर्ने प्रयास हो।”

बिहानीले रेनबो प्रोजेक्ट अन्तर्गत सञ्चालन गरिएको द्वन्द्व समाधान कार्यशाला सहभागीहरूको जीवनअनुभवसँग प्रत्यक्ष सम्बन्धित भएको बताएको छ।

समाज र राज्यको ओझेलमा परेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि यो सहयोग वितरण मात्र होइन, बरु आत्मसम्मान, पहिचान र आशाको आधार बनेको समुदायका सदस्यहरूले बताए।

समाचार शेयर गर्नुहोस्
304
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.