काठमाडौं — देशभर मुसलधारे वर्षा भइरहेको छ। निरन्तरको वर्षाले जनजीवन नराम्ररी प्रभावित बनेको छ। अत्यावश्यक काम बाहेक नागरिक घरभित्रै थुनिएका छन्।
बडादशैंको उल्लासमा रहेका नागरिकलाई नरोकिने वर्षाले अत्यासलाग्दो बनाइदिएको छ। माइती घर र मावली गएका दशैंका पाहुनाहरू कठिनाइमा परेका छन्।
प्राकृतिक विपत्तिका कारण दशैं खल्लो भएको छ। मुख्य राजमार्गदेखि स्थानीय सडकसम्म भत्किएका छन्, कतिपय ठाउँमा पहिरो खसेर बाटो थुनिएको छ। यात्रुहरू बिचल्लीमा परेका छन्।
खराब मौसम र बाटोको अवस्था हेरेर मात्र यात्रा गर्न प्रहरीले ‘माइकिङ’ गरेर सर्वसाधारणलाई सचेत गराएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारका आवश्यक बन्दोबस्त गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।
अलपत्र यात्रुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी तथा सरकारी र गैरसरकारी सङ्घ–संस्थासँग समन्वय गरी सहयोग गर्न आग्रह गरिएको छ। सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधनको आवतजावत असोज २० गतेसम्म रोक लगाइएको छ।
बाढी, पहिरो र डुबानका घटनाले नागरिकहरू आत्तिएका छन् र सुरक्षित स्थलको खोजीमा छन्। राज्यका सबै संयन्त्र उद्धार र राहतका लागि तयारी अवस्थामा छन्। सशस्त्र प्रहरीले बिदामा रहेका कर्मचारीलाई कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त सुशीला कार्की नेतृत्वको सरकारले ठुलो विपत्तिको सामना गर्नुपरेको छ। प्रधानमन्त्री कार्कीले देशवासीका नाममा नियुक्तिको एक महिना नपुग्दै दोस्रो पटक सम्बोधन गर्नुपरेको छ।
बाढी, पहिरो र डुबानमा परेकालाई सरकार भएको सन्देश प्रवाह गर्नुपरेको छ। प्रधानमन्त्री कार्कीले सरकारी निकायहरू उद्धार र राहतका लागि उच्च मनोबलका साथ तयारी अवस्थामा रहेको बताएकी छन्।
बडादशैंको बिदा सकिँदै थियो। आइतबारदेखि नियमित सरकारी कार्यालयहरू खुल्ने तालिका थियो। तर, देशभर भारी वर्षा भइरहेको र दशैं मनाउन कर्मचारीहरू घरमै रोकिएका कारण सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री कार्कीले एक्लो महसुस नगर्न अपिल गरेकी छन्।
दशैंको रमझममा रहेका नागरिकको उठीबास भएको छ। कतिपय ठाउँमा अकालमा ज्यान गएको छ। पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, रौतहटमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ, र रसुवामा ४ जनालाई खोलाले बगाएको छ।
जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ। अति भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन विभागका महानिर्देशक कमलराज जोशीले आग्रह गरेका छन्।
निरन्तरको वर्षासँगै काठमाडौं उपत्यका आसपासका नदीहरूको जलसतह बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको खोकना जलमापन स्टेसनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ।
विभागका अनुसार काभ्रेको रोसी, काठमाडौँको मनोहरा र बागमती, मकवानपुरको लालबकैया नदीले सतर्कता तह पार गरेका छन्। बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी–नालामा जलसतह सतर्कता तह नजिक पुगेको छ।
लगातारको वर्षाका कारण बागमती किनारका सुकुम्वासी बस्ती डुबानमा परेका छन्। सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरिएको छ। काठमाडौं उपत्यकाका कोरिडोर सडकहरूमा बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।
गृह मन्त्रालयले खोज, राहत र उद्धारका लागि सबै निजी वायुसेवाका हेलिकप्टरहरूलाई तयारी अवस्थामा राख्न अनुरोध गरेको छ। मन्त्रालयले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापनाका लागि सहयोग गर्न वायुसेवा सञ्चालकहरूलाई पत्राचार गरेको हो।
वायु सेवा सञ्चालक सङ्घ नेपालले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा सदस्य वायुसेवा कम्पनीका हेलिकप्टरहरूले निःशुल्क उद्धार गर्ने जानकारी दिएको छ।
उद्धार कार्यमा समन्वयका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर काठमाडौँलाई समन्वय अधिकारी तोक्न आग्रह गरिएको छ। उक्त अधिकारीको निर्देशनअनुसार उद्धार कार्य गर्ने वायु सेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक उडानहरू रद्द गरिएको छ।
देशलाई महादशा लागेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अहिले प्राकृतिक विपत्तिले वितण्डा मच्चाएको छ। यो दशा कुन राहु–केतुले ल्याएको हो भन्ने अनुमान छैन, तर देशलाई महादशा लागेको लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले काभ्रे सेवा समाजले गत शनिवार गरेको कार्यक्रममा बताएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.