काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल दुई लाख रुपैयाँका दरले सहायता उपलब्ध गराउन निर्देशन दिएको छ।
प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको हो।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले क्षति पुगेका जिल्लाहरूमा उद्धार र राहत कार्य तत्काल पुर्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेका छन्। मनसुन प्रतिकार्य कमान्ड पोस्टका संयोजकसमेत रहेका भट्टको अध्यक्षतामा आइतबार बसेको बैठकले आठ वटा निर्णय गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
उनका अनुसार प्राधिकरणले बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पुर्याएको इलाम जिल्लामा मात्रै तत्काल ७० लाख रुपैयाँ उपलब्ध गराएको छ।
बैठकले लामो दूरीका साथै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाउँदै खुकुलो पार्ने निर्णय गरेको छ। यसका लागि अवरुद्ध सडकहरूको मर्मत–सम्भार गरी यथाशीघ्र सडक सुचारु गर्न सडक विभागलाई लेखिपठाउने निर्णय पनि गरिएको छ।
त्यसैगरी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग र सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न र नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।
वर्षा रोकिएका ठाउँहरूमा पहिरो हटाउने काम जारी रहेको छ। केही राजमार्गहरू सञ्चालनमा आइसकेका छन्। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएर दुईतर्फी सवारी सञ्चालन गरिएको छ। वर्षा रोकिएपछि बिहानैदेखि पहिरो पन्छाएर सवारी आवतजावत सहज बनाइएको सडक विभागले जनाएको छ।
त्यस्तै, पहिरोका कारण अवरुद्ध कोशी राजमार्गको मुलघाट–धनकुटा खण्ड पनि सञ्चालनमा आएको छ। शनिवारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–पाख्रिबास–लेगुवा सडक खण्ड पनि सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।
सडक विभागका प्रवक्ता इन्जिनियर प्रभात कुमार झाका अनुसार नारायणघाट–मुग्लिङ सडक अन्तर्गत तुइन खोलामा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ भने त्यहाँबाट भग्नावशेष हटाउने काम तीव्र रूपमा भइरहेको छ।
मनसुन अझै केही दिन रहने
ठूलो वर्षा गराउने न्यूनचापीय मौसमी प्रणाली नेपालबाट बाहिरिइसकेको छ। प्रणाली बाहिरिएसँगै देशका अधिकांश स्थानमा मौसममा सुधार आएको भए पनि मनसुन अझै केही दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि मनसुन अक्टोबरको दोस्रो हप्तासम्म रहने सम्भावना छ। पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भएको छ।
गण्डकी र लुम्बिनीमा हल्कादेखि मध्यम वर्षा भएको छ भने मधेस र कोशी प्रदेशको पहाडी र तराई भेगमा भारीदेखि अति भारी वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज २० गते अपराह्नसम्म नदी आसपासका क्षेत्रमा अझै पनि जोखिम कायमै रहेको जनाएको छ।
लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ। पछिल्लो मापनअनुसार कोसीमा पाँच लाख २३ हजार क्युसेक प्रति सेकेन्डको बहाव पुगेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन्। नदीमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको छ। सुरक्षाका कारण ब्यारेज क्षेत्र र वरिपरि सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.