निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“जीवन सधैँ जन्मदिनको केक जस्तो मिठो हुँदैन”

“जीवन सधैँ जन्मदिनको केक जस्तो मिठो हुँदैन”

म अहिले बिजुलीले हानेको टुटेको रूखझैँ भएकी छु। वरिपरि संसार चकनाचुर छ, र म पहिचान सङ्कटको गहिरो आघातमा परेकी छु।

427
SHARES

मेरो नाम सुश्री प्रतीक्षा चापागाई हो र म नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीक्यू) अपाङ्गता समुदायको प्रतिनिधित्व गर्छु। हामी विश्वकै सबैभन्दा यौनिक तथा लैङ्गिक रूपमा सीमान्तकृत समुदाय हौँ, किनभने आजसम्म हाम्रा तथ्याङ्कहरू समेत छुट्याएर अध्ययन गरिएको छैन। अपाङ्गता भएका एलजीबीक्यू व्यक्तिहरूलाई नेपालको मुख्यधारको एलजीबीटीक्युआईप्लस समुदायभित्र योगदानकर्ता वा सहभागीका रूपमा न त स्वीकृति मिलेको छ, न त पहिचान। म पनि त्यही घृणित राजनीतिक विभेदको शिक्षित सिकार हुँ। त्यसकै परिणामस्वरूप, देशको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि कुनै लगानी गरिएको छैन।

मेरो जन्म सन् १९८८ मा कोशी प्रदेशमा भएको हो र सानो उमेरमै म मेरा आमाबुबासँग काठमाडौं सरेकी थिएँ। म जन्मजात दृष्टिविहीन छु र मेरो परिवार तल्लो मध्यम आय वर्गमा पर्छ। मेरा आमाबुबाले मलाई र मेरा दुई भाइ–बहिनीलाई हुर्काउन निकै सङ्घर्ष गर्नुभयो। मेरो दृष्टिविहीनता देखेर समाजले बारम्बार हाम्रो परिवारलाई तुच्छ रूपमा हेर्थ्यो र श्राप दिने गर्दथ्यो, किनभने हाम्रो समाज अझै पनि साँघुरो सोचमा बाँधिएको छ। विविधताको स्वीकृति, सहानुभूति र करुणाको कमीले गर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई परिवर्तनका सहभागीको रूपमा स्विकार्ने इच्छाशक्ति समाजमा छैन।

न भारतमा स्वीकृति, न नेपालमा। म अहिले बिजुलीले हानेको टुटेको रूखझैँ भएकी छु। वरिपरि संसार चकनाचुर छ, र म पहिचान सङ्कटको गहिरो आघातमा परेकी छु।

मेरा आमाबुबाले मलाई कीर्तिपुरस्थित ल्याबोरेटरी हाइअर सेकेन्डरी स्कुलमा समावेशी शिक्षाको अवसर दिनुभयो, जहाँ मैले कक्षा १० सम्म अध्ययन गरेँ। अहिले म दृष्टिविहीन लेस्बियन महिला भएकी नाताले ठुलो चुनौतीहरूमा बाँचेकी छु। “जीवन सधैँ जन्मदिनको केक जस्तो मिठो हुँदैन।” १३ वर्षको उमेरमा किशोरावस्थामा पुगेपछि म महिलातर्फ स्वाभाविक रूपमा आकर्षित हुन थालेँ। मैले आफ्नो आकर्षण परिवर्तन गर्न खोजेँ तर सकिन। त्यसले म भित्र डर पैदा गरेको थियो। मलाई लाग्यो, म कतै असामान्य त छैन?

तर जब म उच्च अध्ययनका लागि भारतको नयाँ दिल्ली गएँ, त्यहीँ मैले आफ्नो पहिचान (दृष्टिविहीन लेस्बियन महिला) पत्ता लगाएँ। आफ्ना आमाबुबा वा वरपरका मानिसहरूसँग मैले यो कुरा भन्न सकिनँ। भारतमा पुगेपछि म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्पर्कमा त आएँ तर त्यहाँ पनि म दुवै क्षेत्रमा (अपाङ्गता र लैङ्गिक अल्पसङ्ख्यक समुदाय) दुबैबाट अलग्याइएकी भएँ। त्यो एक्लोपन र बहिष्करणको जीवन असह्य थियो। सन् २०१८ मा नेपाल फर्किँदा त्यो रिक्तता अझ गहिरो भएर आयो। न भारतमा स्वीकृति, न नेपालमा। म अहिले बिजुलीले हानेको टुटेको रूखझैँ भएकी छु। वरिपरि संसार चकनाचुर छ, र म पहिचान सङ्कटको गहिरो आघातमा परेकी छु।

निजी स्वार्थका लागि कुनामा पीडा भोगिरहेका साथीहरूलाई बेवास्ता गरेर, ढोँगी सामाजिक सुधारक बनेर हामी अघि बढ्ने हो भने, नेपालको एलजीबीटी समुदाय कहिल्यै गुणात्मक रूपमा फस्टाउन सक्दैन।

हाल म आमाबुबा र भाइ–बहिनीहरूसँग खुसीपूर्वक बस्दै छु। मैले जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) बाट स्नातकोत्तर (मास्टर) डिग्री पूरा गरेकी छु। अहिले म मायाको पहिचान नेपालमा एलबीटी फोकल पर्सनका रूपमा कार्यरत छु र यसअघि विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका संस्थामा पनि काम गरेकी छु। म प्रमाणित मनोसामाजिक परामर्शदाता पनि हुँ। यो सबै मेरो आमाबुबाको सङ्घर्ष, मिहिनेत, मेरो इमानदारी र समर्पणको परिणाम हो।

तर आज पनि मलाई न अपाङ्गता समुदायले स्वीकार गरेको छ, न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले। यसको कारण सरल छ — हाम्रो सोच झन् साँघुरिँदै गएको छ। ‘शरीर–राजनीति’ को नाममा हामीले लैङ्गिक पहिचानलाई पितृसत्तात्मक ‘पुरुष’ वा ‘महिला’ को साँचोमा ठेल्दै मुख्यधारमा देखिने प्रयास गरिरहेका छौँ, जसले हाम्रो आफ्नै समुदायभित्रको विविधता र एकरूपता नष्ट गरिरहेको छ।

उदाहरणका लागि, हाम्रो देशका ट्रान्स समुदायका केही व्यक्तिहरूले जब जबरजस्ती ‘पुरुषत्व’ वा ‘महिलात्व’को परिभाषा अपनाएर त्यसैलाई पहिचानको रूपमा स्थापित गर्न खोज्छन्, त्यो मानवतामाथिको ठुलो ठगी हो। हाम्रो पूर्वीय सभ्यताले दिएको ‘अन्य’ पहिचानको गहिरो अर्थ र सौन्दर्यलाई त्याग्नु नै वास्तविक धोका हो। हाम्रो आफ्नै इतिहासमा पनि यस्ता उदाहरण प्रशस्त छन्।

यस लेखमार्फत म हाम्रो समुदायका सबैलाई आग्रह गर्न चाहन्छु – हामीले सार्वजनिक रूपमा एक–अर्काको मूल्य घटाउने काम बन्द गर्नुपर्छ। आत्म–विनाशकारी झगडाबाट बाहिर निस्केर लैङ्गिक विविधताको एकता स्थापित गर्नुपर्छ। निजी स्वार्थका लागि कुनामा पीडा भोगिरहेका साथीहरूलाई बेवास्ता गरेर, ढोँगी सामाजिक सुधारक बनेर हामी अघि बढ्ने हो भने, नेपालको एलजीबीटी समुदाय कहिल्यै गुणात्मक रूपमा फस्टाउन सक्दैन।

हामी अझै पनि बौद्धिक योगदानमा पछाडि छौँ। दान–मागेको स्वीकृतिबाट होइन, अधिकार–आधारित व्यवहारिक अभ्यासमा उक्लिन जरुरी छ। त्यसैगरी, म सबै दातृ संस्था र सहयोगीहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु — एलजीबीटी समुदायको सशक्तीकरणका लागि लगानी गर्दा ‘समावेशी दृष्टिकोण’ र ‘अन्तर–संवेदनशीलता’लाई अनिवार्य रूपमा समावेश गरियोस्। यसले दीर्घकालीन विकास र स्थायित्व सुनिश्चित गर्छ। नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरू र दिगो विकासका लक्ष्यहरूमा हस्ताक्षर गरिसकेको छ, त्यसैले यस्तो प्रयासले हाम्रो जीवनमा आशा जगाउने दियो बाल्न सक्छ।

त्यस्तै, म दुवै समुदाय (अपाङ्गता र लैङ्गिक अल्पसङ्ख्यक) लाई पनि मानवताको दृष्टिले समावेशी हुन आग्रह गर्छु। मलाई “अपाङ्ग यौनिक अल्पसङ्ख्यक महिला” का रूपमा स्वीकार गर्नुहोस्। तपाईँको सानो प्रयासले हामीलाई अपनत्वको अनुभूति दिन सक्छ।

म दृढ रूपमा विश्वास गर्छु–आकर्षण अनुभूति, भावना र संवेदनासँग सम्बन्धित कुरा हो, शरीर–राजनीतिक घृणित खेल होइन। यसै खेलले नेपालका ट्रान्स समुदायमा नागरिकता सङ्कट सिर्जना गरेको छ र निर्दोष अनुयायीहरू भ्रममा परिरहेका छन्। म एक शिक्षित दृष्टिविहीन लेस्बियन महिला हुँ र म कसैकी अन्धी अनुयायी होइन। म आफ्नै विवेकद्वारा निर्देशित छु र अरूलाई पनि त्यही आग्रह गर्छु हामी एक–अर्काको भलाइप्रति आकर्षित हुन्छौँ, त्यसैले म पूर्ण रूपमा सामान्य मानव हुँ।

त्यस्तै, जेन–जी आन्दोलन, नेपालको हालको अन्तरिम सरकार र राजनीतिक दलहरूले अपनाएको बहिष्करणवादी नीति नेपालको संविधानकै भावना विपरीत छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका वास्तविक माग, मन्त्रालयस्तरीय प्रतिनिधित्व र समस्याका सम्बोधनमा उनीहरूको बेवास्ता अत्यन्तै दुखद छ। त्यसैले हामी सबै मिलेर सरकारको ढोका ढकढक्याउनुपर्छ, सकारात्मक संवादको सुरुवातका लागि।

अन्त्यमा, म समाजलाई एउटा सन्देश दिन चाहन्छु—कृपया स्वीकार गर्न सिकौँ, किनभने हामी सबै एकअर्काका लागि परिपूरक हौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई विकासका सबै क्षेत्रमा प्रवेश दिलाउने नीति हस्तक्षेप अहिलेको आवश्यकता हो। यदि हामीले अहिलेबाटै पाइलाहरू चढ्न थालेनौँ भने, हाम्रो आवाज अरू बलिया प्रतिनिधित्वले दबाउनेछ।

समाचार शेयर गर्नुहोस्
427
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.