निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तिहारमा स्वदेशी फूलमालाको प्रोत्साहन : काठमाडौँ महानगरले तोक्यो ३२ बिक्री केन्द्र, सयपत्री १३० र मखमली ६५ रुपैयाँसम्म

तिहारमा स्वदेशी फूलमालाको प्रोत्साहन : काठमाडौँ महानगरले तोक्यो ३२ बिक्री केन्द्र, सयपत्री १३० र मखमली ६५ रुपैयाँसम्म

आयातित र प्लास्टिकजन्य फूलमालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानको उत्पादनलाई प्राथमिकता

290
SHARES

काठमाडौँ — नेपालीको महान् चाड तिहार (दीपावली) नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै नेपाली किसानले उत्पादन गरेका फूलमालाको बिक्री–वितरणका लागि ३२ स्थान तोकेको छ। यस अभियानको उद्देश्य आयातित र प्लास्टिकजन्य फूलमालाको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्दै स्थानीय उत्पादनको सम्मान र प्रवर्द्धन गर्नु रहेको महानगरले जनाएको छ।

विगत तीन वर्षदेखि तिहारका बेला स्वदेशी फूलमालाको प्रवर्द्धनका लागि बिक्री स्थल व्यवस्थापन गर्दै आएको महानगरले यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो।

महानगर प्रमुख बालेन्द्र शाहले भने, “हामी विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तु निरुत्साहन गर्न निरन्तर प्रयासरत छौँ। निर्वाचित भएदेखि नै प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरणमा रोक लगाएका थियौँ। यस तिहारमा पनि कार्तिक १ गतेदेखि ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि स्थल व्यवस्था गरिएको छ।”

उनका अनुसार महानगरको उद्देश्य आयातित र प्लास्टिकजन्य फूलमालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनु हो।

यसअघि जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच दिलाउन, ढुवानीमा सहयोग गर्न र अवैध रूपमा माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न तयारी गरिएको छ। नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन गरिने पनि महानगरले जनाएको छ।

प्रमुख शाहले थपे, “हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गरून्।” नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको भन्दै उनले यस तिहारमा स्वदेशी फूलको प्रयोग गर्न सबैलाई आग्रह गरे। “आफ्नो संस्कृति र नेपालमै फुलेका फूल हाम्रो पहिचान हुन्, यही हाम्रो सम्मान हो,” उनले जोड दिए।

महानगर प्रमुख बालेनले व्यापारीहरूलाई स्वदेशी फूलमाला मात्र प्रयोग र बिक्री गर्न आग्रह गर्दै भने, “वास्तविक किसानले डोकोमा फूल ल्याए पनि हामीले तोकिएका केन्द्रमा पुगेर बिक्री गर्न सहजीकरण गर्नेछौँ। आवश्यक परे ढुवानीमा समेत महानगरले सहयोग गर्नेछ। हाम्रो चाहना किसानले उत्पादनको उचित मूल्य पाउनु हो।”

महानगरका अनुसार किसानहरूले कार्तिक १ गतेदेखि तोकिएका स्थानमा फूलमाला बिक्री–वितरण गर्न सक्नेछन्। कुनै समस्या परे महानगर प्रहरीमार्फत सहज समन्वय गरिनेछ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा कृषि, वन र जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले महानगरको यो निर्णयले नेपाली किसान र उपभोक्ता दुवैलाई खुसी बनाउने विश्वास व्यक्त गरे। उनले भने, “आयातित र प्लास्टिकजन्य फूलको बहिष्कार गर्दै स्वदेशी फूललाई प्राथमिकता दिनु सकारात्मक कदम हो। यसले बिचौलियाको प्रभाव घटाउँछ र किसानको आम्दानीमा प्रत्यक्ष फाइदा पुर्‍याउँछ।”

श्रेष्ठले उपभोक्तालाई कोल्ड स्टोरमा राखिएका गन्धयुक्त माला प्रयोग नगर्न र आयातित मालाबाट स्वदेशी माला छुट्याउन सजग रहन आग्रह गरे। उनका अनुसार आयातित माला प्रायः एकनासे आकारका र विषादी प्रयोग गरिएका हुन्छन्, जबकि स्वदेशी माला प्राकृतिक रूपमा ओइलाउँदै जाने हुन्छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले भने, “काठमाडौँ महानगरले विगत तीन वर्षदेखि आयातित र प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध लगाउने अभियान निरन्तर चलाउँदै आएको छ, र यसलाई सफल बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ।” उनले पुष्प व्यवसायीहरूलाई कुनै पनि कोल्ड स्टोरमा फूलमाला भण्डारण नगर्न र स्वदेशी फूलको प्रवर्द्धनमा जोड दिन आग्रह गरे।

एसोसिएसनका महासचिव हिरामणि शर्माले भारतलगायत अन्य देशबाट सयपत्री फूल वैधानिक रूपमा नेपाल भित्रिन नसकेको स्पष्ट पारे। “नेपाल सरकारले तोकेको मापदण्डअनुसार मात्र फूल आयात गर्न पाइन्छ। सयपत्रीबाट १६ किसिमका रोग फैलन नदिने मापदण्ड छ, तर अहिले कसैले त्यो मापदण्ड पूरा गरेर फूल ल्याउन सकेका छैनन्। त्यसैले अवैध रूपमा आउने फूल रोक्न महानगर र हामी सक्रिय छौँ,” उनले भने।

शर्माका अनुसार नेपाल सयपत्री फूल उत्पादनमा लगभग आत्मनिर्भर भइसकेको छ। तिहारको पाँच दिनमा करिब ४० लाख माला खपत हुन्छ, जसमध्ये ३५ लाख माला आन्तरिक उत्पादनबाट आपूर्ति गर्न सकिन्छ। बाँकी ५ लाख माला गाउँघरका उत्पादनबाट आपूर्ति गर्न सकिने र अब बाहिरबाट आयातको आवश्यकता नरहेको उनको भनाइ छ। मखमली फूलमा नेपाल पूर्ण रूपमा आत्मनिर्भर भइसकेको र करिब २ लाख मखमली माला निर्यात गर्न सकिने पनि उनले जानकारी दिए।

मूल्यको हिसाबले सयपत्री मालाको मूल्य करिब १३० रुपैयाँ र मखमली मालाको मूल्य ६०–६५ रुपैयाँसम्म पर्ने अनुमान छ। सोभन्दा बढी मूल्यमा बिक्री भएमा महानगरले अनुगमन गर्ने जनाएको छ।

महानगरपालिकाले तोकेका ३२ स्थानहरू:

१. एन.भी. सेन्टर – नयाँ बानेश्वर
२. बिग मार्ट – शंखमूल
३. आइ प्लेक्स मल – नयाँ बानेश्वर
४. सेल्सबेरी – मध्यबानेश्वर
५. फोनेक्स टावर – बत्तीसपुतली
६. तीनकुने चौर – तीनकुने
७. सिफल चौर – सिफल
८. एसी कम्प्लेक्स – चाबहिल
९. चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल
१०. के.एल. टावर पूर्व – चाबहिल
११. चाबहिल सेन्टर अगाडि – चाबहिल
१२. धर्म चक्र पार्क – स्वयम्भू
१३. कालीमाटी ब्याङ्क्वेट – कालीमाटी
१४. द्यौखेल – कालीमाटी
१५. भाटभटेनी – कलङ्की
१६. भ्याली कोल्ड स्टोर – नयाँ बजार
१७. बुद्ध महल – माछापोखरी
१८. गुणस्तर खाल्डो – माछापोखरी
१९. वडा ५ अगाडिको डबली – हाँडीगाउँ
२०. गणेश मन्दिर डबली – हाँडीगाउँ
२१. कोइराला स्मार्ट – सामाखुसी, वडा २६
२२. सेल्सबेरी – महाराजगन्ज
२३. बिग मार्ट – गोङ्गबु
२४. बिग मार्ट – चपलकारखाना
२५. बिग मार्ट – बालुवाटार
२६. आइटी भवन – कमलादी, वडा २८
२७. स्टार मल – पुतलीसडक, वडा २८
२८. भाटभटेनी – अनामनगर, वडा ९
२९. टेवाल मन्दिर – सुन्धारा
३०. काठमाडौँ महल – सुन्धारा
३१. वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८
३२. बजरा कम्प्लेक्स (न्यु प्लाजा) – गुडमार्ट

काठमाडौँ महानगरपालिकाले नेपाली किसानको उत्पादनको सम्मान, मूल्य र बजार सुनिश्चित गर्दै स्वदेशी फूलमालाको प्रवर्द्धनलाई यस तिहारमा पनि निरन्तरता दिने जनाएको छ।

समाचार शेयर गर्नुहोस्
290
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.