ओशोलाई सुन्नु, ओशोलाई पढ्नु एउटा नियति जस्तै बनेको छ- मेरो जीवनमा। प्राय: म उनलाई सुनिरहन्छु,पढिरहन्छु किनकि मलाई ओशो सुन्न र पढ्न मन पर्छ।
उनका विचारहरू गहिरा, स्वतन्त्र र जीवनसँग प्रत्यक्ष सम्बन्धित हुन्छन्। ओशोले प्रेम, ध्यान, स्वतन्त्रता र चेतनाकोबारे यस्तो सरल तर गहिरो भाषामा व्यक्त गर्छन् कि मन छुन पुग्छ। ओशोका कुरा सुन्दा वा पढ्दा जीवन बुझ्ने दृष्टि फराकिलो हुन्छ र आत्मविश्वास बढ्छ। जीवनलाई सहज, प्रेमपूर्ण र जागृत दृष्टिले हेर्न सिकाउँछ।
ओशो सुन्ने क्रममा उनको प्रवचन “साधना सूत्र” सुन्न पुग्छु। साधना–सूत्र ओशोद्वारा सन् १९७३ मा माउन्ट आबु, भारतमा दिइएका २० वटा प्रवचनहरूको सङ्ग्रह हो।
यी प्रवचनहरूमा ओशोले ब्रिटिस लेखक मैबल कॉलिन्सद्वारा लिखित“लाइट अन द पाथ”(प्रकाशको बाटो) नामक किताबका सूत्रहरूको गहिरो व्याख्या गरेका छन्, जसले आध्यात्मिक मार्गमा लाग्ने साधकहरूलाई एक प्रकारको आन्तरिक अनुशासन र आध्यात्मिक मार्गदर्शन गर्दछ। धर्म, जात वा संस्कारभन्दा माथि उठेर आत्म–खोज, मौनता, ध्यान र प्रेममा आधारित जीवन तर्फ डोर्याउँछ। यी सूत्रहरू आत्म-ज्ञान प्राप्त गर्न र आत्म–विकासतर्फ लाग्न मद्दत गर्छन्। यो एक आध्यात्मिक किताब हो। ओशोले यसै किताबको व्याख्या गर्दै “साधना सूत्र” नामक प्रसिद्ध ग्रन्थ तथा प्रवचन तयार गरेका हुन।
मैबल कॉलिन्स (सन् १८५१-१९२७)एक बेलायती लेखिका, पत्रकार र थियोसोफिस्ट (आध्यात्मिक सिद्धान्तमा विश्वास गर्ने व्यक्ति) थिइन्। उनले आध्यात्मिकता र आन्तरिक विकासबारे लेखेका धेरै किताबहरूमध्ये “लाइट अन द पाथ’ सबैभन्दा प्रसिद्ध कृति हो।
यस किताबमा जीवनलाई उज्यालो बनाउने तिस वटा साधना-सूत्रहरू दिइएका छन्, जसले साधकलाई अहङ्कार, डर, र अज्ञानताबाट मुक्त भएर आत्मिक प्रकाशमा प्रवेश गर्न सहयोग गर्छ। यो किताबलाई आत्म-ज्ञान, ध्यान र अन्तर्मनको जागरणतर्फ यात्रा गर्ने मार्गदर्शनको रूपमा मानिन्छ।
मैबल कॉलिन्सले यो किताब कुनै “आन्तरिक स्रोत ”वाध्यानद्वारा प्राप्त सूत्रहरूको रूपमा प्रस्तुत गरेकी छन्। उनले यो ग्रन्थ स्वयंले सिर्जना नगरेको, बरु आत्मिक सन्देशहरू सुनेर लेखेको बताउँछिन्।
मैबल कॉलिन्सको भनाइअनुसार, यो किताब उनले लेखेकी होइनन्, देखेकी हुन्। उनको भनाइ छ कि यो कुनै पुरानो संस्कृत भाषाको हराइसकेको ग्रन्थका शब्दहरू हुन्। उनको लेखन शैली रहस्यमय, गूढ, तर अत्यन्त प्रभावशाली छ,जसले आत्मा, मौनता, र साधनाको मार्गमा पाठकलाई गहिरो सोचमा पुर्याउँछ।
यो उनको ध्यानको गहिरो तहबाट सङ्कलन गरेको रहस्यात्मक कृति हो भने, ओशोले त्यसलाई व्याख्या गरेर आधुनिक साधकका लागि बुझिने भाषामा पुनः जीवन दिएका छन्। यो किताब ओशोका प्रिय किताबहरूमध्ये एक अद्भुत किताब पनि हो।
“आँखा हेर्नुअघि, ती आँसुको लायक हुनुपर्छ। कान सुन्नुअघि, तिनीहरूको संवेदनशीलता हराइसक्नुपर्छ। सद्गुरुहरूको उपस्थितिमा वाणी केही भन्नुअघि, त्यसले चोट पुर्याउने शक्ति गुमाउनुपर्छ। आत्मा सद्गुरुहरू सामु उभिनुअघि, उसको पाइला हृदयको रगतले गल्नुपर्छ।“
यो किताब सन् १८८५ मा प्रकाशित भएको थियो। त्यसबेला यो किताबले थियोसोफी आन्दोलनमा गहिरो प्रभाव पारेको थियो। मैबल कॉलिन्सले यस किताबलाई ध्यानको कुनै गहिराइमा देखेकी र उनले त्यसलाई जस्ताको तस्तै लेखेकी छिन्।
यस किताबको प्रत्येक सूत्र अमूल्य छ। किताबका प्रत्येक सूत्रलाई उनले ध्यानपूर्वक अवलोकन गरी लिपिबद्ध गरेकी छिन्। किताबका सूत्रहरू हजारौँ वर्षसम्म हजारौँ साधकहरूले गरेका साधनाको निचोड हुन्।
‘लाइट अन द पाथ’ अर्थात् बाटोको उज्यालो। उज्यालोलाई मानव समाजबीच ल्याउन एक बहाना बनिन्- मैबिल कोलिन्स। एक बेलायती महिला जो थियोसाफी आन्दोलनकी सदस्य थिइन्।
“लाइट अन थ पाथ” (प्रकाशको बाटो) किताबलाई मुख्यतः चार भागमा विभाजन गरिएको छ।
पहिलो भागमा साधकका लागि प्रारम्भिक नियमहरू छन्, जसले आध्यात्मिक मार्ग सुरु गर्न आवश्यक आधार दिन्छ।
दोस्रो भागमा ध्यान, मौन, र अन्तर्मनको आवाज सुन्न सिकाउने गहिरा सूत्रहरू छन्। दोस्रो भाग यस आधारमा लेखिएको छ कि”तिमीले जे पाएका छौ त्यसका बीउ अब अरूका लागि बाँड। साधक अब शिष्य बनिसकेको छ, ऊ अब आफ्नै खुट्टामा उभिन सक्छ, हिँड्न सक्छ, नाच्न सक्छ, र आनन्दित हुन सक्छ।
तेस्रो भागमा आत्म–बोध र आध्यात्मिक रूपान्तरणका चरणहरू छन् भने चौथो भागमा उच्च चेतनाको अनुभव, गुरु र शिष्यबीचको सम्बन्ध, र अन्ततः प्रकाशमा लय हुने अवस्थाका सूत्रहरू छन्।
अतः लाइट अन द पाथ”आत्म–यात्राको चार चरणहरूमा आधारित मार्गदर्शन हो, जसले अन्धकारबाट प्रकाशतर्फ र बाह्यबाट अन्तर यात्रातर्फ मार्गदर्शन गर्दछ।
सत्यलाई टिकाइ राख्न सजिलो छैन, किनकि सत्य धेरै गहिरो चेतनास्तरमा झर्छ, केवल ती व्यक्तिहरूले देख्न सक्छन्, जो जीवन–चेतनाको शिखरमा पुगेका हुन्छन्।
सूत्रहरू निकै छोटा छन्, यी सूत्रहरूलाई बुझ्नका लागि मैबिल कोलिन्सले “लाइट अन द पाथ”मा आफ्ना शब्दले सूत्रहरूको लामो व्याख्या गरेकी छिन्। ती व्याख्याहरू स्पष्ट रूपमा उनको बुद्धिबाट उत्पन्न भएका हुन् र ती व्याख्याले सूत्रहरूमा लुकेका गूढ अर्थहरूलाई उजागर गर्छन्।
ती व्याख्याले सूत्रहरू पढ्नुअघि पाठकलाई मानसिक रूपले तयार पार्ने भूमिका खेल्दछ। यसले यी सूत्र कसरी पढ्ने भने र एउटा दृष्टिकोण दिन्छ। किनभने यो न कुनै उपन्यास हो, न कुनै समाचार पत्र हो।
लेखिका भन्छिन्:यो किताब पढ्ने सबै पाठकहरूले यस कुरा सम्झनुपर्छ कि जो कोही यसलाई सामान्य अङ्ग्रेजीमा लेखिएको ठानेर पढ्छ, उसले यसमा अलिकति दर्शनशास्त्र त पक्कै देख्नेछ, तर खास अर्थ उसले बुझ्दैन।
यसलाई पढ्ने अर्कै तरिका छ, जुन धेरैजसो लेखकहरूका सन्दर्भमा सही हुन्छ। त्यो हो- “दुई पङ्क्तिहरूको बीचमा लुकेको गहिरो आशय खोज्नु।“ वास्तवमा, यो गहिरो र गोप्य भाषाको अर्थ खोज्ने कला हो। सबै रूपान्तरणको रसायन प्रस्तुत गर्ने कृतिहरू यसै प्रकारको गोप्य भाषामा लेखिन्छन्।
ठूला-ठूला दर्शनशास्त्री र कविहरूले पनि यस्ता भाषाको प्रयोग गरेका छन्। उनीहरूले आफ्नो गहिरो प्रज्ञा बाँड्छन्, तर शब्दहरूमा रहस्य भरिदिन्छन्, जसले ती रहस्यहरूलाई स्वरूप दिन्छ। हरेक व्यक्तिले ती रहस्यहरू आफैँले खोज्नु पर्छ। यही प्रकृतिको नियम हो। यसमा कोही कसैको सहायता गर्न सक्दैन।
थियोसाफीको नियम अनुसार लेखिकाले भन्छिन् कि सम्पूर्ण किताब सूक्ष्म तहका अक्षरहरूमा लेखिएको छ, त्यसैले त्यसै तहमा पढ्नु आवश्यक हुन्छ। यो सूत्र सूक्ष्म शरीरलाई विकास र पोषण गर्नका लागि दिइएको हो। उनी एउटा कुरा स्पष्ट पार्छिन् कि यी सूत्रहरू केवल ती व्यक्तिहरूका लागि लेखिएका हुन्, जो गोप्य ज्ञानप्रति उत्साहित छन्।
उनी किताबमा लेख्छिन् “आँखा हेर्नुअघि, ती आँसुको लायक हुनुपर्छ। कान सुन्नुअघि, तिनीहरूको संवेदनशीलता हराइसक्नुपर्छ। सद्गुरुहरूको उपस्थितिमा वाणी केही भन्नुअघि, त्यसले चोट पुर्याउने शक्ति गुमाउनुपर्छ। आत्मा सद्गुरुहरू सामु उभिनुअघि, उसको पाइला हृदयको रगतले गल्नुपर्छ।“ साधना-सूत्र”मा ओशोले यसलाई धेरै मिठो तरिकाले व्याख्या गरेका छन्।
किताबको शैली सूत्रमय छ। किताबका सबै भागहरूको अन्त्यमा तीन शब्दहरू छन्: “तिमीलाई शान्ति प्राप्त होस्।”
यी शब्दहरूमा के जादू छ…? थाहा छैन। तिनीहरू पढ्दै मात्र पनि मनभित्र शान्तिको तरङ्गहरू उठ्न थाल्छन्। जागरूक गुरुहरूको वाणीमा यस्तै शक्ति हुन्छ। यदि यी सूत्रहरू साधारण मानिसको बुझाइमा आउने भए, गुरुहरूको आवश्यकता हुँदैन थियो। उनीहरूको तर्फबाट एक कुरा स्पष्ट छ कि यी सूत्रहरू केवल शिष्यहरूका लागि नै हुन्।
सत्यको मूल झल्को बिस्तारै हराउँछ, र केवल खाली शब्दहरू बाँकी रहन्छन्। कहिलेकाहीँ त ती शब्दहरू पनि हराउँछन् र फेरि मानवले त्यही सत्यका सार–वचनहरू पुनः खोज्न थाल्छ।
जो शिखरको यात्रा गर्न चाहन्छ भने उसले ‘लाइट अन द पाथ’ बुझ्नै पर्छ। यो सानो किताब हो, आकारको कुरा गर्दा, केही पानाहरू मात्र। तर गुणस्तरको हिसाबले यो निकै ठूलो छ, उत्कृष्ट किताबहरूमध्ये एक हो। अचम्मको कुरा, यो आधुनिक समयमा लेखिएको हो। सायद कसैलाई थाहा छैन लेखिका मैबिल कॉलिन्स को हुन्। उनी आफ्नो पूरा नाम पनि लेख्दिनन्, केवल ‘एम० सी०’ लेख्छिन्।
ओशोले आफ्नो प्रवचन साधना सूत्रमा ‘लाइट अन द पाथ’का सूत्रहरूलाई केवल धार्मिक शिक्षा नभई आत्मिक क्रान्तिको सङ्केत मानेका छन्। ध्यान, मौन, प्रेम र आत्म–अनुशासनमार्फत साधकले आफ्नो अन्तरात्मासँग एक हुने यात्रा सुरु गर्छ भनेर ओशो सङ्केत गर्छन्।
ओशोले सूत्रहरूलाई आधुनिक सन्दर्भमा व्याख्या गर्दै, साधकहरूलाई आत्म-ज्ञान प्राप्तिको मार्गमा लाग्न प्रेरित गरेका छन्। उनले यी सूत्रहरूलाई केवल अध्ययनको विषय नभई जीवनमा प्रयोग गर्ने मार्गदर्शनका रूपमा प्रस्तुत गरेका छन्।
ओशो चेतनाको एक क्रान्तिकारी आवाज हो। उनले संसारभरिका मानिसहरूलाई आफ्नो अन्तरात्माको खोज र मुक्ति–मार्ग विभिन्न माध्यमबाट देखाएका छन्। उनले देखाएको माध्यममध्ये “लाइट अन द पाथ” पनि एक हो।
ओशोका अनुसार, मैबल कोलिन्स यसकी स्रष्टा होइनन्, उनी त केवल एउटा माध्यम हुन्। यस्ता सत्यका वाक्यहरू समय–समयमा मानवतामा प्रकट हुन्छन् र फेरि हराउँछन्। सत्यलाई टिकाइ राख्न सजिलो छैन, किनकि सत्य धेरै गहिरो चेतनास्तरमा झर्छ, केवल ती व्यक्तिहरूले देख्न सक्छन्, जो जीवन–चेतनाको शिखरमा पुगेका हुन्छन्।
त्यस्ता महान् आत्माहरूले सत्यको झलक सबैका लागि सम्पत्ति बनोस् भनेर लेख्छन्, बोल्छन्, शिक्षा दिन्छन्। तर जो अझै त्यो चेतनाको शिखरमा पुगेका छैनन्, उनीहरू ती वचनहरूलाई ठिकसँग बुझ्न सक्दैनन्।
त्यसैले सत्यको मूल झल्को बिस्तारै हराउँछ, र केवल खाली शब्दहरू बाँकी रहन्छन्। कहिलेकाहीँ त ती शब्दहरू पनि हराउँछन् र फेरि मानवले त्यही सत्यका सार–वचनहरू पुनः खोज्न थाल्छ।
ओशोका अनुसार सूत्रहरू केवल पढ्नका लागि होइनन्, हाम्रो जीवनमा भिजाउन, बाँच्न र रूपान्तरण गर्नका लागि हुन्। ओशोले यी सूत्रहरूलाई केवल धार्मिक शिक्षा नभई आत्मिक क्रान्तिको सङ्केत मानेका छन्।
अतः ओशोले साधना-सूत्रमा मैबल कोलिन्सको “लाइट अन द पाथ” किताबलाई बडो सरल र मिठो भाषामा व्याख्या गरेका छन्। मैबल कालिन्सको आत्मिक सन्देशहरू मार्फत जीवनमा उज्यालोको अनुभव गर्नको लागि ओशोको साधना-सूत्र श्रवण गर्दा जीवनका धेरै गहिराइहरू बुझ्न मार्ग दर्शन गर्दछ।
(लेखक – पुर्व नायब-महालेखा परीक्षक तथा बेरुजू फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिको सदस्य-सचिब हुन्।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.