काठमाडौं – संसदभन्दा बाहिरको व्यक्ति लिएर हालको सरकार बनेको छ। अहिलेको संवैधानिक प्रक्रिया अनुसार प्रधानमन्त्री बन्न संसद्को सदस्य हुनु आवश्यक हुन्छ।
सर्वोच्च अदालतका न्यायाधीश वा प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई मन्त्री वा प्रधानमन्त्री बन्न संविधानले स्पष्ट रूपमा रोक लगाएको छ। उनीहरूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षसम्म बनाउने संवैधानिक व्यवस्था भने खुला छ।
तर, संविधान अनुसार सबै कुरा भएको भए नयाँ सरकार ल्याउनै पर्दैनथ्यो। यो संविधानले जनताको चाहना पूरा गरेको भए आन्दोलनको आवश्यकता पनि पर्दैनथ्यो। एक खालको आन्दोलन भनौँ, क्रान्ति भनौँ वा विद्रोह भनौँ, जे नाम दिए पनि त्यसले देशमा ठुलो राजनीतिक र सामाजिक परिवर्तन ल्यायो।
त्यो परिवर्तनले पुराना कानुन र संविधानभन्दा माथि उठेर ‘जनम्यान्डेट’ प्रदान गरेको मानिन्छ। यही म्यान्डेटको अर्थमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको हो।
राष्ट्रपतिद्वारा नियुक्त कार्कीलाई आगामी निर्वाचन गराउनका लागि ६ महिनाको समय दिइएको छ। तर, ६ महिनाभित्र चुनाव नभए के हुन्छ भन्ने विषयमा विभिन्न अनिश्चितता र अन्योल उत्पन्न भएका छन्।
केही राजनीतिक शक्तिहरू संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् भने, केहीले संविधान भन्दा बाहिरबाट आएको यो परिवर्तनले भविष्यमा संविधानलाई नै फाल्ने कि राख्ने भन्ने अन्योल ल्याउने त होइन भन्ने चिन्ता व्यक्त गरेका छन्।
यो बीचमा विभिन्न राजनीतिक खेलहरू पनि चलिरहेका छन्। प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरे पनि मन्त्रिपरिषद् अझै पूर्णता पाउन सकेको छैन।
प्रधानमन्त्रीको वरिपरि जेनजी आन्दोलनका केही प्रतिनिधिलाई मन्त्रिपरिषद्मा ल्याउने कसरत भइरहेको देखिन्छ। तर, यसबारे प्रधानमन्त्री स्वयं वा आधिकारिक च्यानलबाट कुनै औपचारिक घोषणा गरिएको छैन।
“तिमी नेपालकै होइनौ?”, “यो विदेशीले चलाएको एजेन्ट हो” भन्ने भाष्यहरू सामाजिक सञ्जालमा व्यापक छन्।
विभिन्न जेनजी समूहहरूले आफ्ना नामहरू सरकारसम्म पुर्याएका छन्। एउटा जेनजी समूहले एक प्रतिनिधि दिएको छ भने अर्को समूहले अर्को नाम अघि सारेको छ। अहिले सरकारको सम्पर्कमा रहेका जेनजी समूहहरूको सङ्ख्या १५ भन्दा बढी भइसकेको छ।
ती समूहहरूभित्र पनि विविधता छ, कसैको विचार साम्यवादी, कसैको राजावादी, त कसैको गणतान्त्रिक छ। कतिले आफ्नै पहिचान सहितको जेनजी ग्रुप पनि गठन गरेका छन्। त्यस हिसाबले जेनजी आन्दोलनभित्र एकमुष्टता छैन, तर विविधता छ।
जेनजी आन्दोलनका मिराज ढुङ्गानाले राजनीतिक दल खोल्ने घोषणा नै गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी माग पुरा भए मात्रै चुनावमा जाने सर्त राखेका छन् उनले।
जेनजीका सबै समूहलाई उनले आफ्नो पार्टीमा आबद्ध हुन आव्हान पनि गरे। गोलमेच सम्मेलन गरेर दल खोल्नु पर्ने सुझाव भने उपयुक्त भएको मिराजले बताए।
पत्रकार सम्मेलनमा उनले सेरोमोनियल राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री मुख्य एजेन्डा रहेको बताए। सो क्रममा प्रश्नकर्तासँग मिराजको केही नोकझोक पनि पर्यो।
जसरी राजनीतिक दलहरू एक ठाउँमा जुट्न सकेका छैनन्, त्यसरी नै जेनजी समूहहरू पनि एकीकृत हुन नसकेका छन्। त्यही कारणले कतिपय षड्यन्त्रका कुरा र “कन्सपिरेसी थ्योरी” हरू समेत फैलिएका छन्।
जसको नाम सरकारसँग जोडिन्छ, उसैप्रति विदेशी एजेन्डा बोकेको आरोप लगाउने प्रवृत्ति बढेको छ। “तिमी नेपालकै होइनौ?”, “यो विदेशीले चलाएको एजेन्ट हो” भन्ने भाष्यहरू सामाजिक सञ्जालमा व्यापक छन्।

बाहिर जे–जस्तो हल्ला भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोग फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।
आयोगले गत एक वर्षमा गरेका मुख्य काम, कारबाही र उपलब्धि समेटिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
आयोगले आर्थिक वर्ष २०८१/८२ मा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सम्पन्न गरेको छ। साथै, स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन सम्पन्न गरेको, मतदाता शिक्षा र तालिम सञ्चालन गरेको, राजनीतिक दल दर्ता र अद्यावधिकको कार्य गरेको प्रतिवेदनमा उल्लेख छ।
आयोगको कानुनी, संस्थागत तथा प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयन गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।
“कहिलेकाहीँ महिला स्वयंले पनि अरू पुरुष वा तेस्रोलिंगीलाई ‘नामर्द’ भनेर गाली गर्छन्। तर महिलाहरू आफैँ पनि त ‘मर्द’ होइनन्, त्यसो भए त्यो गाली त आफैँमाथि फर्किएको होइन र?”
जेनजी आन्दोलनको बलमा बनेको यो सरकारसँग फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने मुख्य जिम्मेवारी छ। आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य तीव्र पारेको छ।
कार्तिक मसान्तसम्मका लागि राजनीतिक दल दर्ता गर्ने समयसमेत दिएको आयोगले जनाएको छ। दलहरूको अन्तिम सूची सार्वजनिक भएपछि सरकार चुनावमा भाग लिने दलहरूसँग छलफल गर्ने तयारीमा देखिएको छ।
राष्ट्रपति र निर्वाचन आयोगले चुनावी तयारीबारे छलफल गरे पनि सरकारले दलहरूसँग औपचारिक संवाद सुरु गर्न सकेको छैन। जेनजी आन्दोलनका विभिन्न समूहहरूसँग छलफल जारी राखे पनि राजनीतिक दलहरूलाई छलफलको औपचारिक निम्तो सरकारद्वारा गरिएको छैन।

राजनीतिक दलहरूलाई बोलाउन नभ्याएकी प्रधानमन्त्री कार्की सामाजिक सञ्जालमा भने ट्रोलको सिकार बनेकी छन्। ‘जुँगाको रेखीसमेत नबसेका केटाहरू आउँछन्, हप्काउँछन्, राति १–२ बजेसम्म कराउँछन्,’ भन्ने शब्दसहित कार्कीको तस्बिर राखेर लेखिएका पोस्टहरूमा गालीको वर्षा भइरहेको छ।
त्यस्ता प्रतिक्रिया दिनेहरूलाई एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्तले सामाजिक सञ्जालमार्फत नै जवाफ दिएका छन्। पन्तले लेखेका छन्, “‘बुख्याचा’, ‘शिखण्डी’, ‘नामर्द’, ‘जुँगा नउम्रिएको रे?’ प्रधानमन्त्री सुशीला कार्की आफैँको त कहाँ जुँगा उम्रिएको छ र? ‘शिखण्डी प्रवृत्ति’, ‘शिखण्डी पार्टी’ भनेर बोल्नेहरूलाई लाज हुनुपर्छ।”
पन्तले लेखेका छन्, “महारथी भीष्मलाई जित्न भगवान् कृष्णले धर्म र न्यायको स्थापना गर्न शिखण्डीलाई अगाडि सरेर युद्ध जित्नुभएको थियो।” उनले थप लेखेका छन्, “‘बुख्याचा’ भन्ने शब्द (हिजोआज धेरैले अरूलाई होच्याउन प्रयोग गर्न थालेका छन्) वास्तवमा यक्ष जातभित्रको तेस्रोलिंगी हो। हाम्रा प्रत्येक अजीमा, मातृका, देवीहरूले तिनै ‘ख्या’ हरूलाई साथ लिइरहेका हुन्छन्। हिन्दु र बौद्ध परम्परामा तिनै रूपहरूलाई गणेश भनेर पूजा गरिन्छ।”
पन्तका अनुसार, “कहिलेकाहीँ महिला स्वयंले पनि अरू पुरुष वा तेस्रोलिंगीलाई ‘नामर्द’ भनेर गाली गर्छन्। तर महिलाहरू आफैँ पनि त ‘मर्द’ होइनन्, त्यसो भए त्यो गाली त आफैँमाथि फर्किएको होइन र?”
पन्तले पितृसत्ताले सिर्जना गरेका यस्ता गालीगलौज तुरुन्त बन्द गर्न आह्वान गरेका छन्। ,उनले लेखेका छन्, “‘बुख्याचा’, ‘शिखण्डी’, ‘जुँगा नभएको’, ‘नामर्द’ जस्ता शब्दहरूलाई अपमानजनक अर्थमा प्रयोग नगर्नुहोस्। महिला हुनु कमजोरी होइन, तेस्रोलिंगी हुनु नीचता होइन। यी दुवै अस्तित्वले समाजलाई सन्तुलन, करुणा र सृजनाको शक्ति दिन्छन्।”
उनले अन्त्यमा लेखेका छन्, “पितृसत्तालाई मलजल नगर, यी गालीहरू दोहोर्याएर तिमी केवल आफ्नो अँध्यारो मानसिकता उजागर गरिरहेका छौ।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.