निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी घाइतेको आक्रोश : नक्कलीको सम्मान, सक्कलीको बेवास्ता

जेनजी घाइतेको आक्रोश : नक्कलीको सम्मान, सक्कलीको बेवास्ता

पाँच दिनभित्र माग पुरा नभए कडा आन्दोलन चेतावनी

315
SHARES

काठमाडौं – आफूहरूको बलिदान र आन्दोलनको उपलब्धिबाट बनेको सरकारले उल्टै आफ्ना घाइते आन्दोलनकारीलाई सडकमा पछार्ने काम गरेको भन्दै जेनजी आन्दोलनका घाइतेहरूले आक्रोश पोखेका छन्। आइतबार पाँच बुँदे मागपत्र बुझाउन गएका जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीले भेट्न नमानेपछि तीव्र असन्तुष्टि जनाएका हुन्।

घाइतेहरूले बिहान ९ बजे नै सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेट्न प्रयास गरेका थिए। तर प्रधानमन्त्री कार्कीले समय अभावको कारण देखाउँदै उनीहरूसँग भेट गर्न अस्वीकार गरेपछि आन्दोलनका घाइतेहरू थप आक्रोशित बने। उनीहरूले आफूहरूको रगत र बलिदानले बनेको अन्तरिम सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले नै हाम्रो कुरा नसुन्ने हो भने देश कतातिर जाँदैछ?” भन्दै प्रश्न उठाए।

जेनजी आन्दोलनका घाइतेहरूका अनुसार, सरकारले अहिले आन्दोलनका वास्तविक सहभागी र घाइतेहरूलाई बेवास्ता गर्दै नक्कली कार्यकर्ताहरूलाई अघि सारेको छ। उनीहरूका एक जना प्रतिनिधिले भने, “सरकारले नक्कली जेनजीलाई भित्र पठाएर सक्कली घाइते भएका हामीलाई बेवास्ता गर्‍यो। हाम्रो बलिदानको अपमान गरिएको छ।”

अर्का घाइतेले तत्कालीन सरकारले आन्दोलनका क्रममा गोली चलाएर निर्दोष युवाहरूको ज्यान लिँदा समेत कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनीहरूको भनाइमा, “भदौ २३ र २४ गते भएको गोलीकाण्डमाथि अझैसम्म न्यायिक छानबिन भएको छैन। हामीले बाँचेर पनि अन्याय भोगिरहेका छौँ, हाम्रो माग न्याय र उत्तरदायित्व मात्र हो।”

जेनजी आन्दोलनका घाइतेहरूले पाँच बुँदे मागमा भदौ २३ र २४ गतेको गोलीकाण्डमाथि तत्काल न्यायिक कारबाही, संवैधानिक सुधार र जनमत सङ्ग्रहको व्यवस्था, जेनजी आन्दोलनको कानुनी संरक्षण र दीर्घकालीन सुरक्षा, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सम्पत्ति छानबिन, संवैधानिक निकायहरूमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोक्ने जस्ता विषय समावेश छन्।

उनीहरूले पाँच दिनभित्र माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। जेनजी आन्दोलनका यी मागहरूलाई राजनीतिक र सामाजिक न्यायको निरन्तरता मानिएको छ।

जेनजी आन्दोलनले नेपालमा आर्थिक असमानता, बेरोजगारी, र राजनीतिक भ्रष्टाचारविरुद्ध जनआन्दोलनको नयाँ रूप लिएको थियो। आन्दोलनमा ठुलो सङ्ख्यामा युवाहरूले सहभागिता जनाएका थिए।

आन्दोलनमा संलग्न एक पक्राउ

भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण र हतियार लुटपाटमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौँ प्रहरी परिसरका अनुसार, दोलखाको सैलुङ गाउँपालिका–१ का ३२ वर्षीय गौतम घिसिङ पक्राउ परेका हुन्। उनी हाल काठमाडौँ महानगरपालिका–३२ मा बस्दै आएका थिए।

प्रहरीका अनुसार, उनीसहितको समूहले नयाँ बानेश्वरमा प्रहरीमाथि ढुंगामुढा गर्दै प्रहरी वृत्तमा आगजनी गरेको र प्रहरीलाई बर्दी खोल्न लगाएर हतियार लुटेर बागमती नदी किनारसम्म लखेटेको थियो। घटनाको भिडियो प्रमाण प्रहरीले फेला पारेको छ।

प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, “घिसिङमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा आठ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।” उनका अनुसार, घिसिङमाथि यसअघि बैङ्किङ कसुरसम्बन्धी दुई मुद्दा दर्ता भएका उनी फरार थिए।

यस्तै, जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरको नख्खु कारागारमा कैद भोगिरहेका सङ्खुवासभा खाँदवारि–८ का २७ वर्षीय विशाल विश्वकर्मालाई पनि प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

जेनजी आन्दोलनका क्रममा लुटिएका सरकारी हतियारहरू फिर्ता ल्याउन र आन्दोलनकै समयमा जेलबाट भागेका कैदीहरूलाई पुनः पक्राउ गर्न गृह मन्त्रालयले विशेष अपरेसन सञ्चालन गर्ने तयारी गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा, लुटिएका हतियार फिर्ता ल्याउने र भागेका कैदीहरूलाई नियन्त्रणमा लिने विषयमा विस्तृत कार्ययोजना बनाइएको छ।

गृहमन्त्री अर्यालले भने, “राज्यको सम्पत्ति हतियार र उपकरण फिर्ता ल्याउन ढिलाइ हुन दिने छैनौँ। यो सरकार कानुनी शासन र शान्ति सुरक्षाप्रति प्रतिबद्ध छ।” त्यस क्रममा आन्दोलनका क्रममा हतियार प्रदर्शन गर्ने व्यक्तिहरूमाथि पनि आवश्यक कारबाही अघि बढाउने तयारी गृह मन्त्रालयले गरेको छ।

समाचार शेयर गर्नुहोस्
315
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.