मैले हिजो प्रसारित Fireside कार्यक्रममा गगन थापाको अन्तर्वार्ता हेरेँ। सधैँझैँ उनी स्पष्ट, संयमित र विषयगत रूपमा गहिरा लागे। पहिलो संविधानसभामा मौलिक अधिकार समितिमा सँगै काम गरेको अनुभव भएकाले म उनलाई लामो समयदेखि एक उदार, विवेकी, विविधता र मानवअधिकारका समर्थक नेता भनेर चिन्छु। उनको बौद्धिक गहिराइ, राजनीतिक र संवैधानिक समझ अहिलेका नेताहरूमा दुर्लभ गुण हो।
उनले अन्तर्वार्तामा भनेका कुरामा कुनै गल्ती थिएन। तर ध्यानपूर्वक सुन्दा उनको दृष्टि र राजनीतिक साहसबीच सानो खाडल देखिन्छ। उनले भने, “निजी र सार्वजनिक सम्पत्तिहरू जलाइयो, लुटियो, जुन गलत हो।”
यो कुरा पूर्णतया सहमत छु। तर अपेक्षा थियो, उनले यति मात्र होइन, गत दुई दशकदेखि सत्तामा बसेका नेताहरूले देशकै सम्पत्ति, प्रतिष्ठा र भविष्य लुटेको अपराध पनि त्यत्तिकै स्पष्टताका साथ भन्न सक्थे। केही घर वा पसल लुटिनु दुःखद हो, तर देश लुटिनु क्षमायोग्य होइन। साँचो राष्ट्र नेताले दुवै प्रकारका अपराधविरुद्ध बोल्ने साहस गर्नुपर्छ।
गगनले अन्तर्वार्तामा भने ,“मैले संसद् र नेपाली कांग्रेसभित्र १८ पटक कुरा उठाएँ, तर कुरा मेरो नियन्त्रणमा थिएन।” उनले आफ्नै सम्पत्तिको छानबिन गर्न सरकारलाई निवेदन दिएको कुरा पनि उल्लेख गरे, जुन पारदर्शिताको दृष्टिले सराहनीय हो। तर यसले उनको सावधानी(always playing safe) र ‘सधैँ सही देखिनु’ चाहने प्रवृत्ति पनि झल्काउँछ।
सही हुनुमा दोष छैन, तर आज ‘देशलाई सही पार्ने’ कुरा अझ महत्त्वपूर्ण छ। गगन ‘आफैँ सही’ हुनु पर्याप्त छैन — ‘देश सही’ हुनुपर्छ। अहिले नेपाललाई शब्द र सैद्धान्तिक हिसाबले सही देखिने नेताहरू होइन, जरोबाट परिवर्तन गर्न तयार राष्ट्रिय नेताहरू चाहिएका छन्। उनको विवेक, तर्क र संयमता प्रशंसनीय छ, तर यदि त्यही संयमता राजनीतिक ‘जोखिम’ लिनबाट रोक्ने कारण बन्यो भने, त्यो गुण नै उनको सीमितता बन्न सक्छ।
गगन प्रायः भन्छन्, “मले संसदमा सधैँ सही कुरा बोलेँ।” त्यो सत्य हो। तर जब ती सही कुराहरूले देशमा ठोस परिणाम ल्याउँदैनन्, जब सत्य भाषणमा मात्र सीमित रहन्छ र नीतिमा रूपान्तरण हुँदैन — तब ती कुरा आफूलाई ‘जोगाउने’ साधन मात्र रहन्छन्। देश अगाडि बढ्न, नेताले सही बोल्नु मात्र होइन, त्यसका लागि लड्न, सामना गर्न, र आवश्यकता परे आफ्नै पार्टीभित्रै विद्रोह गर्न पनि तयार हुनुपर्छ।
गगन थापामा आम नेतृत्वका सबै गुण छन्। तर राष्ट्र नेता बन्नका लागि उनलाई “म सही हुनुपर्छ” भन्ने सीमाबाट निस्केर “देश सही हुनुपर्छ” भन्ने उच्च राजनीतिक चेतना अपनाउनुपर्छ। जब उनका तर्क र साहस एकैसाथ अगाडि बढ्छन्, तब नेपालले साँच्चिकै आफ्नो प्रतीक्षित नेता पाउनेछ।
यो अन्तर्वार्ता हेर्दा उनले भनेका कुरा सही लाग्छन्। तर अब मुख्य प्रश्न उठ्छ — उनी ‘देशलाई कसरी सही’ बनाउँछन्?
राजनीति नेताहरूको “म सही छु” भन्ने प्रतिस्पर्धा होइन, ‘देश र राजनीतिलाई सही’ बनाउने यात्राको मूल उद्देश्य हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.