काठमाडौँ – समाजमा तेस्रोलिङ्गी समुदायप्रति फैलिएका जिज्ञासा, पूर्वाग्रह र बुझाइबीच सामाजिक सञ्जालमा एउटा अभिव्यक्ति र त्यसको जवाफले ध्यान तानेको छ।
एक नागरिकले सामाजिक सञ्जालमा लेखेका छन्, “हरेकपटक म ठमेलबाट हिँड्छु, म त्यहाँ भाग्य पर्खिरहेका तेस्रोलिङ्गीहरू देख्छु। तर म बुझ्दिनँ, किन र कस्ता मानिसहरू उनीहरूमा विशेष चासो देखाउँछन्।”
उनले लेखेका छन्, “उनीहरूलाई हेर्दा म उनीहरूको जीवनबारे सोच्न थाल्छु, उनीहरू दिनको समयमा के गर्छन् होला? दिनमा पनि त्यही पहिचानमा बाँच्छन् कि साँझपखको रूप मात्र हो त्यो? उनीहरूले जीवनलाई कसरी बुझ्छन्? हाम्रो जस्तै उनीहरू पनि समाजका विषयहरूबारे सोच्छन् होला?”

उनले थपेका छन्, “तेस्रोलिङ्गीहरूको मेकअप, साँझको तयारी, दैनिकी, ती सबै थकाइ लाग्ने हुन्छ कि रमाइलो? के यो उनीहरूको वास्तविक स्वभाव हो कि बाँच्नका लागि गरिएको सङ्घर्ष?” उनी लेख्छन्, “तेस्रोलिङ्गी भएर बाँच्नु कस्तो हुन्छ, म शायद कहिल्यै बुझ्न सक्दिन।”
यस अभिव्यक्तिले समाजमा तेस्रोलिङ्गी समुदायप्रति रहेको जिज्ञासा र संवेदनशील दृष्टिकोण दुवै झल्काएको छ। ठमेलमा देखिने दृश्यहरूलाई केवल यौनिक दृष्टिले होइन, मानवीय दृष्टिले बुझ्नुपर्ने सन्देश पनि यसले दिन्छ,किनभने ती जीवनहरू पनि सङ्घर्ष, अस्तित्व र सम्मानको खोजीमा छन्।
सुनिल बाबु पन्तको जवाफ
उक्त प्रश्नमाथि प्रतिक्रिया दिँदै एसियाकै पहिलो समलिङ्गी सांसद, मायाको पहिचान नेपालका कार्यकारी निर्देशक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारका अभियन्ता सुनिल बाबु पन्तले सामाजिक सञ्जालमार्फत एक सन्देशमूलक टिप्पणी सार्वजनिक गरेका छन्।
उनले लेखेका छन्, “तपाईँको जिज्ञासा र आत्मीय शैलीका प्रश्नका लागि धन्यवाद 🌈🙏।”
पन्तका अनुसार तेस्रोलिङ्गी मानिसहरू पनि हामी सबैजस्तै विविध छन्। “कोही शिक्षक, कलाकार, विद्यार्थी, चालक, व्यापारी छन् वा बन्न चाहन्छन्,” उनले लेखेका छन्, “कोही बाँच्नका लागि यौनकर्ममा संलग्न छन्।”
पन्तले समाजमा देखिने दृश्यलाई वास्तविकतासँग जोड्दै लेखेका छन्, “तपाईँले ठमेलमा साँझपख देख्नुहुने तस्बिर उहाँहरूको पहिचान होइन। त्यो त हाम्रो समाजको अस्वीकार र अवसरको अभावको परिणाम हो। जब शिक्षा, रोजगारी र परिवारको माया बन्द हुन्छ, तब मानिसहरू बाँच्नका लागि कठिन बाटो रोज्न बाध्य हुन्छन्।”
उनका अनुसार, तेस्रोलिङ्गी भन्नाले छोरा भएर जन्मेका तर प्रमुख रूपमा स्त्रीगुण भएका, वा छोरी भएर जन्मेका तर प्रमुख रूपमा पुरुषगुण भएका व्यक्तिलाई जनाइन्छ। “यो जैविक, शारीरिक र आत्मिक गुणहरूको मिश्रित पहिचान हो,” उनले स्पष्ट पारेका छन्। “समाजको गलत बुझाइबाट बनेको भिन्नता होइन, बरु ‘आफू’ भएर बाँच्ने साहस हो।”
पन्तले तेस्रोलिङ्गी समुदायलाई समान नागरिकका रूपमा सम्मान र अवसर दिन समाजलाई आह्वान गर्दै लेखेका छन्, “तेस्रोलिङ्गी व्यक्ति पनि हाम्रो समाजका समान सदस्य हुन्, जसलाई सम्मान, सुरक्षा, रोजगारी र प्रेम चाहिन्छ।”
उनले अझ भावनात्मक रूपमा जोड्दै भनेका छन्, “भविष्यमा जब तपाईँ ठमेल वा अन्यत्र तेस्रोलिङ्गी व्यक्तिहरूलाई देख्नुहुन्छ, एउटा सानो ‘नमस्ते’ वा मुस्कान नै उहाँहरूको जीवनमा ठुलो अर्थ राख्न सक्छ।”
पन्तको यो सन्देशले तेस्रोलिङ्गी समुदायले दैनिक जीवनमा भोगिरहेको अस्वीकार, अवसरहीनता र सामाजिक दूरीको पीडा उजागर गरेको छ। उनका शब्दहरूले तेस्रोलिङ्गीहरूलाई दया होइन, सम्मान र अवसरको दृष्टिले हेर्ने चेतना फैलाउने सङ्केत दिएका छन्।
पन्तको अभिव्यक्ति अहिलेको सन्दर्भमा विशेष महत्त्वपूर्ण छ, किनकि तेस्रोलिङ्गी र अन्य लैङ्गिक अल्पसङ्ख्यक समुदाय अझै पनि रोजगारी, शिक्षा र परिवारमा विभेद र बहिष्कारको सामना गरिरहेका छन्।
समाजमा दृष्टिकोण परिवर्तनका लागि आवश्यक चेतना फैलाउने सन्देशका रूपमा पन्तको भनाइलाई हेरिएको छ। उनले भनेजस्तै, “तेस्रोलिङ्गीहरूलाई देख्दा होइन, बुझ्दा सुरु हुन्छ परिवर्तन।”
यो पनि : ब्लु डायमन्डमा माफियातन्त्र : पिंकी–मनिषाको कोपभाजनमा समुदाय पीडित
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.