शताब्दीयौंदेखि एउटा मौन भावानुवादिक गल्तीले बुद्धको शिक्षाको मर्मलाई संसारले बुझ्ने तरिकालाई आकार दिँदै आएको छ। बौद्ध अभ्यासको अन्तिम लक्ष्य निर्वाण (जसलाई पालीमा निब्बान (Nibbāna) भनिन्छ) अङ्ग्रेजीमा अक्सर “विनाश” (extinction), “निभ्नु” (blowing out), वा “दियो निभ्नु” (the snuffing of a lamp) भनेर वर्णन गरिन्छ।
औपनिवेशिक कालका अनुवादकहरूदेखि आधुनिक mindfulness गुरुहरूसम्म, यही धारणा दोहोरिइरह्यो- कि ज्ञान प्राप्त गर्नु भनेको जीवनको ज्वालाको अन्त्य हो, पूर्ण रूपमा शून्यमा विलीन हुनु हो।
तर बुद्धको अर्थ त्यस्तो थिएन। निर्वाण शब्द वा पालीमा निब्बान (Nibbāna) को काव्यात्मक चित्रणलाई शाब्दिक रूपमा लिने (युरोपेली भाषामा गलत अनुवाद भएपछि) र यसको भाषिक जरालाई हल्का रूपमा लिनेहरूले गहिरो गल्ती गरेका छन्।
१. जल्ने आगो र निको पार्ने आगो
संस्कृतमा ‘निर्–’ (nir–) को अर्थ “बिना” वा “को अनुपस्थिति” हुन्छ। ‘वाण’ वा ‘वान’ शब्दका धेरै अर्थ छन्। प्राचीन भारतीय चलनमा बाण (bāṇa) केवल तीर मात्र थिएन; त्यो तीर थियो जसले ज्वलन दिन्थ्यो, पोल्थ्यो। तीरहरू प्रायः विष वा तेलमा डुबाइन्थे जसले छाला छेडेपछि ज्वलनशील पीडा दिन्थ्यो, त्यसैले बाण ले पीडा, वेदना र प्रज्वलित दुःखको प्रतीकत्व गर्थ्यो।
यही मूल शब्द गाउँले जीवनमा पनि देखिन्थ्यो:
परम्परागत रक्सी बनाउँदा, भाँडाहरूलाई आगोमा राखिन्छ, जसलाई ‘रक्सीको वान बसाल्ने’ भनिन्थ्यो।
मैले लुगा धुँदा, अशुद्धता हटाउन तिनीहरूलाई आगोमा उमाल्ने कार्यलाई पनि ‘लुगाको वान बसाल्ने’ भनिन्थ्यो।
संस्कृतको अग्नि (agni) बाटै अङ्ग्रेजी शब्द agony (अत्यन्त पीडा) आएको हो।
अङ्ग्रेजीको burn (जल्नु) शब्द पनि वान (bāṇa) सँग जोडिएको प्राचीन इन्डो–युरोपियन जरासँग सम्बन्धित हुन सक्छ-जल्नु, दुख्नु, उत्तेजित हुनु।
त्यसैले निर्–बाण (nir–bāṇa) को शाब्दिक अर्थ हुन्छ, ज्वलनले गर्दा हुने पीडाको अनुपस्थिति; तृष्णा (taṇhā), द्वेष (dosa), र मोह (moha) ले उत्पन्न गर्ने भित्री आगोलाई शीतल पार्नु।
२. विनाश होइन, शीतलता
बुद्धले निर्वाणको जुन कल्पना गर्नुभएको थियो, त्यो कहिल्यै विनाश होइन, बरु शीतलता हो, ज्वरो उत्रिएपछि आउने राहत, दुःखको आगो शान्त भएपछि आउने गहिरो शान्ति।
इतिवुत्तक (Itivuttaka 44) मा बुद्ध भन्नुहुन्छ:
“रागको, द्वेषको, र मोहको विनाश, यसलाई नै निब्बान भनिन्छ।”
यहाँ अस्तित्वको अन्त्य वा आत्माको विनाशको कुनै उल्लेख छैन। यसको सट्टा, निब्बान भनेको तृष्णा र घृणाका ज्वलनशील विषहरूबाट मुक्त भएको मनको अवस्था हो।
यो मृत्युपछि प्राप्त हुने मुक्ति होइन, जीवनभित्रै प्राप्त हुने मुक्ति हो; अस्तित्वको विनाश होइन, बरु यसको रूपान्तरण हो।
३. बुद्धले जवाफ दिन अस्वीकार गर्नुभएको प्रश्न
बुद्धले जवाफ दिन अस्वीकार गर्नुभएका प्रसिद्ध बाह्र प्रश्नहरू (अव्याकत – avyākata) मध्ये एउटा थियो:
“तथागतको मृत्युपछि अस्तित्व रहन्छ? रहँदैन? दुवै रहन्छ र रहँदैन? वा दुवै रहँदैन?”
यी चार वटै प्रश्नमा बुद्ध मौन रहनुभयो।
किन?
किनभने “निर्वाणपछि के हुन्छ?” भन्ने प्रश्नले नै ‘हुनु’ र ‘नहुनु’ भन्ने द्वैतता मान्छ, जुन निर्वाणले पार गरिसकेको हुन्छ।
४. पश्चिमले कसरी गलत बुझ्यो
जब १९औँ शताब्दीका प्रारम्भिक पश्चिमी विद्वान र मिसनरीहरूले बौद्ध धर्मसँग सामना गरे, उनीहरू दुई पूर्वाग्रहले सुसज्जित थिए, क्रिस्चियन द्वैतवाद (स्वर्ग विरुद्ध नरक, जीवन विरुद्ध मृत्यु) र ग्रीक तर्कवाद (अस्तित्व विरुद्ध शून्यता)। उनीहरूले निर्वाणलाई यी फिल्टरहरूबाट पढे।
उनीहरूका लागि “समाप्ति” भनिएको लक्ष्यको अर्थ विनाश मात्र हुन सक्थ्यो। निर्वाणको शीतलता (cooling) लाई ‘चिसोपन’ (coldness) भनियो; जागरणको शान्ति लाई ‘विनाश’ (extinction) भनेर गलत रूपमा अनुवाद गरियो।
यसरी केही प्रारम्भिक सूत्रहरूमा प्रयोग गरिएको “दियोको ज्वलन निभ्नु” भन्ने काव्यात्मक रूपकलाई कठोर dogma मा परिणत गरियो। बुद्धको सजीव ज्ञानलाई शून्यताको निष्प्राण तत्त्वज्ञान (sterile metaphysics) मा घटाइयो।
५. शब्दको गलत अर्थ बुझ्नबाट बच्ने समय
हामीले निर्वाणलाई “विनाश” भनेर औपनिवेशिक गलत अनुवाद दोहोर्याउन छोड्ने समय आएको छ।
यो “दियो निभ्नु” (extinction into darkness) होइन – आगोलाई शान्त पार्नु हो।
बुद्धले nihilism (खालीवाद) सिकाउनुभएन; उहाँले दुःखबाट मुक्ति सिकाउनुभयो।
उहाँले हामीलाई जीवनबाट भाग्न होइन, जीवनलाई असह्य बनाउने आगोहरू शीतल पार्न सिकाउनुभयो।
निर्वाणलाई महसुस गर्नु भनेको अस्तित्वको शीतल मर्म पुनः पत्ता लगाउनु हो – जुन भित्री शान्ति अस्तित्वहीनता बाट होइन, बरु ज्वलनको अनुपस्थितिबाट आउँछ।
निर्वाण प्रकाशको अन्त्य होइन – यो ज्वलनले उत्पन्न गरेको पीडाको अन्त्य हो।
यो मृत्यु होइन, बरु गहिरो शीतलता हो – ज्वालालाई यसको शुद्ध, कोमल प्रकाशमा फर्काउनु हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.