काठमाडौं – नेपाल सरकार र जापान सरकारबीच वि.पी. राजमार्ग पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा हस्ताक्षर भएको हो।
वि.पी. राजमार्ग नेपालको एक महत्त्वपूर्ण राष्ट्रिय राजमार्ग हो, जसको लम्बाइ महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलान्चोक जिल्लाको धुलिखेलसम्म करिब १५९ किलोमिटर रहेको छ। यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा सम्पन्न गरिएको थियो।
गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए। विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए। ती क्षतिग्रस्त खण्डहरूको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गरेको छ।
अनुदान सहायतासम्बन्धी एक्सचेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर समारोहपछि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, जापान सरकारको तर्फबाट जापानी राजदूत तोरु माएदा, र जाइका नेपालको तर्फबाट प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले आफ्नो-आफ्नो भनाइ राखेका थिए।
अर्थमन्त्री खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै, जापानले नेपालको आर्थिक, सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे। साथै, उनले हाल प्रदान गरिएको यो अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको अर्को महत्त्वपूर्ण प्रतीक भएको पनि बताए।
जापानी राजदूत तोरु माएदाले पनि सम्बोधन गर्दै जापानले प्रदान गरेको यो अनुदान सहयोगले वि.पी. राजमार्गका क्षतिग्रस्त भागहरू पुनःस्थापना गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताए। उनले नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्धको पनि स्मरण गरे र आगामी दिनमा यो सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
हस्ताक्षर समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँस्थित जापान दूतावास, र जाइका नेपालका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.