अमेरिका – यति खेर भुटानी-अमेरिकी समुदायमा चुनावी चहलपहल छाएको छ। समुदायभित्र अहिले दुई प्रमुख नाम चर्चामा छन् — डेमोक्रेटिक पार्टीका उम्मेदवार भुवन प्याकुरेल र रिपब्लिकन पार्टीका उम्मेदवार कमल सुबेदी। दुवै जना सिटी काउन्सिल सदस्यका उम्मेदवार हुन्।
तर, खास कुरा के छ भने उनीहरू एउटै क्षेत्रका मात्र होइन, फरक–फरक क्षेत्रमा उम्मेदवारी दिएका छन्। त्यसो भए पनि समुदायका बीचमा यी दुईको चुनावले असाध्यै ठूलो चर्चा पाएको छ। यसको कारण हो — पार्टीको प्रभाव र व्यक्तित्वको तुलना।
भुवन प्याकुरेल भुटानी-अमेरिकी समुदायका पुराना र अनुभवी नेताको रूपमा परिचित छन्। उनले समुदायका सामाजिक र राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका खेलेका छन्। अर्कोतर्फ, कमल सुबेदी राजनीतिमा नयाँ अनुहार हुन् तर उनको व्यक्तित्व रोचक छ — उनी भुवन प्याकुरेलकै बाल्यकालका शिक्षक हुन्। शिक्षक र विद्यार्थीबीचको यो राजनीतिक प्रतिस्पर्धाले चुनावलाई झन् रोचक बनाएको छ।
भुटानी-अमेरिकी समुदाय अहिले दुई धारमा बाँडिएको देखिन्छ। एकातिर, कमल सुबेदीलाई भोट दिन नहुने भनेर ठुलो समूह उभिएको छ। कारण हो — उनको पार्टीको नीतिहरू। रिपब्लिकन पार्टीमाथि आप्रवासी, न्यून आय भएका परिवार र रङ्गिन समुदायप्रति भेदभावपूर्ण नीति ल्याउने आरोप लगाइन्छ। डिपोर्टेसन नीति, शिक्षा र स्वास्थ्यमा कटौती जस्ता एजेन्डाहरूले समुदायभित्र असन्तुष्टि ल्याएका छन्।
तर अर्कातिर, कमल सुबेदीको समर्थनमा पनि ठुलो जमात उभिएको छ। समाजका बौद्धिक वर्ग, व्यापारी, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी आदिबीच मतभेद भए पनि सबैले कमलको नेतृत्व क्षमताको प्रशंसा गरेका छन्। त्यसैले, मतदाता अहिले साँच्चै अन्योलमा परेका छन्।
अब प्रश्न उठ्छ — के भुवनले आफ्नै शिक्षक कमललाई भोट मागिदिन्छन् त? “यदि कसैले ट्रम्प र उनको एजेन्डा विपरीत नागरिकको हकमा काम गर्छन् भने म त्यो व्यक्तिलाई सहयोग गर्न तयार छु त्यो जो सुकै या जुनसुकै पार्टीको होस।”, प्याकुरेलले भने। यो लेख तयार पार्दा सम्म सुबेदीसँग भने सम्पर्क हुन सकेन।
यो प्रतिस्पर्धा केवल दुई व्यक्तिको होइन, दुई दृष्टिकोण र दुई राजनीतिक दर्शनबीचको टक्कर हो।
भुटानी-अमेरिकीहरू अहिले अमेरिकी मेनस्ट्रीम राजनीतिमा स्थिर रूपमा अगाडि बढ्दै छन्। उदाहरणका लागि, न्यू ह्याम्सायरमा सुरज बुढाथोकी (डेमोक्रेट) राज्य कङ्ग्रेसमा छन् भने ह्यासिसबर्गमा बिनिता पुरी कमिसनरका उम्मेदवार बनेकी छन्। यी सबै उदाहरणले समुदायको राजनीतिक चेतना र सहभागिताको स्तर उच्च बन्दै गएको देखाउँछ।
हामीले कङ्ग्रेसम्यान बुढाथोकीलाई टेलिफोनमार्फत सोधेका थियौ र उनले भने,“म दुई पार्टीबीचको संवादलाई गहिरो सम्मान गर्छु र जसरी पनि आफ्ना समुदायको सेवा गर्ने व्यक्तिहरूप्रति आदर व्यक्त गर्दछु। तथापि, आफ्नो राज्य र पार्टी बाहिरका उम्मेदवारलाई समर्थन गर्नु म उपयुक्त ठान्दिन।”
यसरी नै हामीले भुटनीज अमेरिकन अगुवा विश्व क्षत्रीलाई के तपाई कमललाई भोट मागिदिनू हुन्छ त भन्दा एजेन्डा के हो समेत थाहा नभएकोले अभिव्यक्ति दिइरहनु उचित नभएको बताए।
अर्का भुटानी अगुवा तिलक निरौलाले भने,”सबैले उम्मेदवारी दिने हक भएको र आफ्नो समुदायको उम्मेदवारलाई आफूले सकेको सहयोग गर्ने बताए। उनले हाम्रालाई भन्दा पनि राम्रालाई छान्नु पर्छ भन्नेमा जोड दिँदै हाल सम्मका हाम्रा र राम्रा भएकाले ढुक्क भएर भोट दिन पनि अनुरोध गरे।
अर्का भुटानी अगुवा नारद अधिकारीले भने, “आफू त्यहाँको मतदाता नभएकोले केही नबोल्नु नै उचित होला तर हामी फुटेर होइन जुटेर जानु पर्छ र समाजको हितमा काम गर्नु पर्छ।”
कमल सुबेदी र भुवन प्याकुरेल दुवै सक्षम, अनुभवी र समाजप्रेमी उम्मेदवार हुन्। तर यो चुनाव केवल जित–हारको प्रतिस्पर्धा होइन; यो भुटानी-अमेरिकी समुदायको राजनीतिक परिपक्वता र पहिचानको प्रतीक पनि हो।
अब समुदायले उनीहरूलाई पत्याउँछ पत्याउँदैन त्यो त मतपेटिकाले नै भन्ला। एउटा कुरा पक्का छ — भुटानी-अमेरिकीहरू अब अमेरिकी राजनीतिमा केवल दर्शक होइन, निर्णायक शक्ति बन्दै गइरहेका छन्।
(निरौला भुटनीज अमेरिकन पत्रकार हुन)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.