निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘भुटानमा जेनजी विद्रोहको सङ्केत’

‘भुटानमा जेनजी विद्रोहको सङ्केत’

“गेलेफु माइन्डफुलनेस सिटी” परियोजनाको आलोचना गर्ने भिडियो र गीत सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षको जेल सजाय

334
SHARES

थिम्पु – भुटानमा स्वतन्त्र अभिव्यक्ति र नागरिक अधिकारका लागि बोल्ने युवा पुस्तामाथि राज्यको कठोर नियन्त्रण झन् कडा बन्दै गएको संकेतस्वरूप, लगभग चालीस वर्षीय भुटानी नागरिक रघु पाटी सुवेदीलाई २४ वर्षको जेल सजाय सुनाइएको छ।

उनी एक शिक्षित, प्रतिभाशाली र स्वतन्त्र चिन्तन भएका व्यक्ति हुन्, भुटानी संसद्को माथिल्लो सदनका पूर्व उम्मेदवार, ब्लगर, गायक तथा सामाजिक सञ्जालमा प्रभावशाली आवाजका रूपमा परिचित।

फेब्रुअरी र मार्च २०२५ को बीचमा पक्राउ परेका सुवेदीमाथि भुटानको “गेलेफु माइन्डफुलनेस सिटी” परियोजनाको आलोचना गर्ने भिडियो र गीत सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लगाइएको छ। यो परियोजना राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुकको ‘नयाँ भुटान निर्माण’ अभियानसँग प्रत्यक्ष सम्बन्धित मानिन्छ।

सुवेदीको गिरफ्तारी र सजायबारे भुटानका मिडिया संस्थाहरू पूर्ण मौन रहेका छन्। अपेक्षाकृत स्वतन्त्र ठानिने द भुटानीज जस्ता निजी मिडियाले समेत कुनै समाचार प्रकाशित गरेका छैनन्।

सामाजिक सञ्जाल प्लेटफर्महरूमा पनि यो मुद्दा उल्लेख हुन नसक्नु भुटानभित्र बढ्दै गएको दमन र भयको प्रतिविम्बका रूपमा देखिएको भुटानी शरणार्थी अगुवाहरूले टिप्पणी गरेका छन्।

भुटानी शाही प्रशासनले सुवेदीमाथि लगाइएका आरोप, न्यायिक प्रक्रिया र उनको अवस्थिति सार्वजनिक गरेको छैन। देशभित्रको कानुनी प्रणाली पारदर्शिता र मानवअधिकारका मापदण्डअनुसार चलेको छ कि छैन भन्ने प्रश्न उठिरहेको छ।

२४ वर्षको सजाय भुटानमा अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्ने व्यक्तिमाथि दिएको सबैभन्दा कठोर सजायमध्ये एक हो। मानवअधिकारकर्मीहरू यसलाई “राजतन्त्रविरुद्ध उठ्न थालेको नयाँ पुस्ताको आवाजलाई कुल्चने सङ्केत” का रूपमा हेरिरहेका छन्।

भुटानी शरणार्थीहरूले सामाजिक सञ्जालमा सुवेदीप्रति समर्थन व्यक्त गर्दै न्यायिक प्रक्रियाको पारदर्शिता र स्वतन्त्रता सुनिश्चित गर्न माग गरिरहेका भुटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि विश्वव्यापी अभियानका संयोजक राम कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्। अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूले पनि घटनाप्रति चासो देखाउन थालेका छन्।

स्रोतहरूका अनुसार, सुवेदीसँग केही व्यापारिक असफलताबाट उत्पन्न ऋणसम्बन्धी विवादहरू रहेका थिए। तर ती विवादहरू सामान्य प्रकृतिका थिए र यति कठोर २४ वर्षे सजायको औचित्य ठहरिन सक्दैन।

भुटानका स्वतन्त्र पत्रकार र मानवअधिकारकर्मीहरूले यस घटनालाई राजाको एकाधिकारवादी शासनविरुद्ध जेनजी पुस्ताको असन्तोष र विद्रोहको सुरुवातको रूपमा लिएका छन्।

भुटानका युवाहरूले स्वतन्त्रताको माग गर्न थालेका छन् – जसले राजतान्त्रिक शासनको गहिरो असन्तोष र सम्भावित जेनजी विद्रोहको सङ्केत स्पष्ट रूपमा देखाउँछ।

समाचार शेयर गर्नुहोस्
334
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.