भुटानले सधैँ आफ्नो दक्षिणी नागरिक (जसले नेपाली भाषा बोल्छन् ) लाई कहिल्यै पनि वास्तविक नागरिकको रूपमा स्विकारेन। बरु तिनीहरूलाई असमान व्यवहार, तिरस्कार, अपमान र लगातार ज्यादतीको सिकार बनाइरह्यो।
सन् १९९० ताका जब नेपालीभाषी भुटानीहरूलाई बन्दुकको नाल देखाउँदै जबरजस्ती देश निकाला गरियो, त्यसबेला विश्व समुदाय केवल दर्शक बनेर रह्यो। त्यसपछि त भुटानले ती आफ्नै नागरिकहरूमाथि नागरिकता खोस्ने, नेपाली भाषा, धर्म र संस्कृतिमाथि प्रतिबन्ध लगाउने कार्य निरन्तर गरिरह्यो। र, विश्वले त्यस अन्यायलाई मौन रूपमा स्विकार्दै भुटानको क्रूरतालाई वैधता दिनेजस्तै व्यवहार गर्यो।
देश निकाला गरिएका ती नेपालीभाषी नागरिकहरूलाई आतङ्ककारी वा विदेशीको आरोप लगाइयो। जो पनि यसको विरोध गर्थ्यो, उसलाई या त देश निकाला गरिन्थ्यो, या सिधै मारिन्थ्यो, वा बिना अदालती प्रक्रिया आजीवन जेलमा थुन्थ्यो। यस्तो अमानवीय व्यवहारको सीमा नै छैन। तर दुर्भाग्यवश, न भारतले आवाज उठायो न नेपाल सरकारले ठोस कदम चाल्यो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले भुटानबाट निकालिएका आफ्नै नागरिकहरूलाई पारोमा अवतरण गरायो। यस घटनाले अझ स्पष्ट प्रमाणित गर्यो कि भुटानले आफ्ना नेपालीभाषी नागरिकहरूमाथि राज्यद्वारा उत्पीडन गर्दै आएको छ।
अब त भुटानले राजनीतिक बन्दीहरूको रिहाइ, झापाका शरणार्थी शिविरमा रहेका करिब ६,५०० नेपालीभाषी भुटानीहरूको ससम्मान स्वदेश फिर्ती र परिवार पुनर्मिलनको प्रक्रिया आरम्भ गर्नुपर्ने हो। तर, भुटानले उल्टै ट्रम्प प्रशासनद्वारा फिर्ता गराइएका आफ्नै नागरिकहरूलाई फेरि देश निकाला गर्यो। आजसम्म तिनीहरूको अवस्था कुनै संस्था वा निकायले सार्वजनिक गरेको छैन।
भुटानले आफूविरुद्धको आवाज दबाउन निरन्तर बन्दुक र जेलको सहारा लिँदै आएको छ। यसको ताजा उदाहरण हुन् – झन्डै चालिस वर्षका भुटानी नागरिक रघु पाती सुवेदी (उर्फ रङ्गु पाती सुवेदी)। शिक्षित, प्रतिभाशाली मानवअधिकारकर्मी, भुटानको संसदका पूर्व उम्मेदवार, भिडियो ब्लगर तथा सामाजिक सञ्जाल प्रभावक सुवेदीलाई सन् २०२५ को फेब्रुअरी–मार्च बीचमा पक्राउ गरी, गेलेफु माइन्डफुलनेस सिटी परियोजनाको आलोचना गरेको आरोपमा २४ वर्ष कैद सजाय सुनाइएको छ। उनी अहिले कहाँ छन्, कस्तो अवस्थामा छन् — यसको जानकारी कसैलाई छैन।
यस्तो क्रूर शासनको विरोध विश्व समुदायले किन गर्दैन? ‘विश्वकै खुसी मुलुक’ भनेर प्रचार गर्ने भुटानले आफ्ना नागरिकको आवाज बन्द गरेर कसरी खुसीको नमुना बन्न सक्छ?
भुटानले तुरुन्तै रघु पाती सुवेदीलाई बिना सर्त र ससम्मान रिहा गर्नुपर्छ। अन्यथा, ‘खुसी मुलुक’को ढोल पिट्दै मानवीय अधिकारको हनन गर्ने भुटानको यो दोहोरो चरित्र विश्वले अझ स्पष्ट रूपमा देख्नेछ।
(निरौला भुटानी अमेरिकी पत्रकार हुन।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.