"/>
नेपालमा दरबार हत्याकाण्ड भएको २०५८ सालतिर उनी भारतमा थिइन्। नाच्ने र गाउने उनको पेसा थियो। तीन महिनाका लागि १५ हजार भारतीय रुपैयाँमा ठेक्कामा भारत गएकी थिइन्,तीन महिनापछि मात्रै तलब पाउने सर्तमा। “काम भए पनि नभए पनि तोकिएको समय बस्नै पर्थ्यो,” उनी भूतकाल सम्झिँदै भन्छिन्।
त्यो टोलीमा उनीसँगै पाँच जना तेस्रोलिंगीहरू थिए, तर नेपालबाट भने उनी एक्लै थिइन्। उनका साथीहरू नयाँ दिल्ली र गोरखपुरका थिए। सबै एउटै स्टेजमा नाच्थे, गाउँथे, तर बस्ने ठाउँ भने छुट्टाछुट्टै। “नराम्रो व्यवहार कहिल्यै भएन, नराम्रो बाटोमा पनि हिँडिनँ,” उनी भन्छिन्, “भाग्यको खेल हो, जता लड्छ, त्यतै बगेर जान्छ भन्ने जस्तै छ मेरो जीवन।”
त्यसपछि उनी नेपाल फर्किइनन्। “यस्तै हुनुपर्छ भन्ने सोचिनँ, तर भयो,” उनी भन्छिन्। काठमाडौँ आएर सुनिल बाबु पन्तले स्थापना गरेको संस्थामा पियर एजुकेटरको रूपमा काम पाइन् त्यो पनि मासिक तलब २ हजार २५ सय रुपैयाँ मात्रै। “तर काम भने गर्थेँ, किनभने त्यो मेरो पहिचानसँग जोडिएको थियो,” उनी थप्छिन्।
सबै साथीहरूले उनलाई ‘कान्छी’ भनेर बोलाउँछन्। उनको दुई नाम छ घरमा ‘गुबे’, बाहिर ‘कान्छी’। स्कुल पढ्दै गर्दा नै उनीभित्र केटीको हाउभाउ प्रस्ट देखिन्थ्यो। अहिले उनी अन्य लैङ्गिक पहिचानमा नागरिकता लिएर बाँचिरहेकी छन्। सर्लाहीकी कान्छी भन्छिन्, “म मेटी हुँ। केटीको पारा देखाउँछु, गुन्युचोली लगाउँछु, चुरा लगाउँछु, टिका लगाउँछु, नाच्छु, हिँड्छु, भाडाकुटी खेल्छु। त्यही गर्न मन आउँछ।”
उनी भन्छिन्, “महिलाले गर्ने काम गर्दा मात्रै मन अघाउँछ। यहाँ केटी हुँ, घरमा गएर केटा हुँ भन्न सक्दिन।” साथीहरूलाई पनि उनले पहिचानअनुसार नागरिकता बनाउन आग्रह गरेकी छन्। “नागरिकता बनाउँदा पहिचानअनुसारको बनाउनु, त्यसो गर्दा समस्या हुँदैन,” उनी भन्छिन्।
तर उनको अनुभव पीडादायी छ। “बैङ्कमा खाता खोल्न जानु, केटाको नागरिकता देखाउनु अनि मान्छेहरू शिरदेखि पाउँसम्म हेर्छन्,” उनी भन्छिन्। सर्जरी गरेका तेस्रोलिंगीहरूलाई पनि सुरुको नागरिकता पुरुष वा महिलाकै हुने भएकाले समस्या झन् गहिरो भएको उनको बुझाइ छ। “त्यसैले नागरिकता बनाउँदा आफ्नो नाम, आफ्नो पहिचान राख्नुपर्छ,” उनी जोड दिन्छिन्।
कान्छीका अनुसार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका धेरै नागरिकता विहीन छन्। “बुढेसकालमा भए पनि आफ्नो पहिचान राख्नुपर्छ। भेदभाव नहोस्, सबै राम्रै होस् भन्ने मेरो चाहना हो,” उनी भन्छिन्।
उनले सबै तेस्रोलिंगीहरूलाई आह्वान गर्छिन्, “पहिचानअनुसारको नागरिकता लिनुहोस्। त्यसो गर्न सके, बाटोमा, बैङ्कमा, फाइनान्समा जहाँ पनि सहज हुन्छ। आफ्नो पहिचानअनुसार भोट हाल्न पनि पाइन्छ।” कान्छीको अनुभवमा, “पहिचानअनुसारको नागरिकता लिँदा कसैसँग डर मान्नुपर्ने अवस्था आउँदैन।”
कान्छी गोलेका बुबा–आमा दुवैको निधन भइसकेको छ। उनको घरमा दाइ–भाउजू छन्। “तीन सन्तानमध्ये घरको कान्छो म, बाहिरको कान्छी म नै हुँ,” उनी हाँस्दै भन्छिन्—तर त्यो हाँसोभित्र वर्षौँको पीडा लुकेको छ।
उनी ठोकुवा गर्छिन्, “तेस्रोलिंगीले आफूलाई केटी हो भनेर परिचय दिए पनि सरकारले सहजै पहिचान गर्न सक्दैन। नागरिकताबाट छुट्टाउन नसक्ने अवस्था छ।” सरकारी कर्मचारीको सामान्य प्रतिक्रिया उनी सम्झिन्छिन्“केटी हो मैले माने, तर नागरिकतामा के छ त? प्रमाण देखाऊ।”
कान्छीको विश्वास छ “इज्जत राख्ने पनि आफूमै निर्भर हुन्छ। आफूले इज्जत राखेन भने समाजले पनि राख्दैन। आफू राम्रो त सबै राम्रो, आफू नराम्रो त सबै नराम्रो।”
उनले सर्जरी गरेका तेस्रोलिंगीहरूको नागरिकता समस्याबारे चिन्ता व्यक्त गर्दै भनिन्, “सर्जरी गरे पनि केटाकै नागरिकता हुन्छ। नागरिकता नपाउँदा कति दुःख भोगिरहेका छन्।” उनले सिन्धुलीकी एक तेस्रोलिंगी साथीको कथा सुनाइन्“धेरै कोसिस गर्दा पनि नागरिकता बनाउन पाइएन। एकदिन उनले मलाई भनिन्, ‘कान्छी दिदी, मलाई पनि तपाईँको जस्तै नागरिकता चाहियो। बैङ्क खाता खोल्न गाह्रो भयो। तपाईँको नागरिकताको फोटोकपी दिनु न।’ मैले दिएँ, भनेँ त्यही आधारमा बनाउनुहोस्।”
तर दुर्भाग्यवश, स्थानीय तहले सिफारिस नगरेकाले उनको साथीले आजसम्म नागरिकता पाएकी छैनन्। कान्छीको आवाज थरथर काँप्छ, “हामी जन्मेर पनि अजन्मा जस्तै छौँ, नागरिकता बिना हाम्रो अस्तित्व अधुरो छ।”
“हामीलाई पहिचान दिनुहोस्, आधारकार्ड बनाइदिनुहोस्। त्यो बनेपछि कसैले केही भन्न पाउँदैन। कसैले हेला गरे कानुन लाग्छ। सरकारले आधारकार्ड बनाएर दिए भने हामी एकदम खुशी हुनेछौं। तर अहिलेसम्म बनाइदिएको छैन।”
“मेटीहरूलाई बाँच्न धेरै गाह्रो हुन्छ,” कान्छीले आँखाभरि पीडा राख्दै भनिन्। “सेक्सचेन्ज गरेको मान्छेले परिवार भएको केटासँग बस्न झनै गाह्रो हुन्छ,” उनी थप्छिन्। “बालबच्चा भएको केटासँग बस्दा दुख पाउने रहेछ।”
उनी १२ वर्षसम्म एउटै पुरुषसँग सम्बन्धमा रहिन्। तर एक दिन त्यो पुरुषले अर्को महिलासँग सम्बन्ध राखेको थाहा पाइन्। “त्यो सुन्दा दुख लाग्यो,” उनी सम्झिन्छिन्, “तर जबरजस्ती रोक्न चाहिनँ। कोही अरूसँग उसको सम्बन्ध छ भने त्यसमा हस्तक्षेप गर्न पाइँदैन, होइन र?” उनी भन्छिन्। “१२ वर्षसम्म उसको मायामा डुबेर बसेँ, तर ऊ अर्को सम्बन्धमा छ भन्यो। म रोक्ने होइन, किनभने मेरो पनि जीवन छ, ऊ पनि आफ्नै बाटोमा गयो।”
उनी भन्छिन्, “मान्छेले आफू जे हो, त्यसैमा बाँच्नुपर्छ। अर्काले हिँडेको बाटो काटेर रोक्न हुँदैन।” त्यसै प्रसङ्गमा उनले एउटा पीडादायी घटना सम्झाइन् “मेरो एक शल्यक्रिया गरेका साथीका पार्टनरको छोराको विवाह रद्द भयो। केटाका बुबा र त्यो साथीबीच सम्बन्ध रहेछ। केटाको विवाहका लागि केटी पक्का भइसकेको रहेछ। तर केटीका बुबाले थाहा पाएछन्,‘तेरो बाउ त हिजडासँग बस्ने रहेछ’ भनेर विवाहै क्यान्सिल गरिदिएछन्।”
त्यो घटनाको सम्झना गर्दा कान्छीको स्वर भारी हुन्छ। “केटाको श्रीमती र छोरालाई पनि सबै थाहा छ, बुबाले मलाई कान्छी बुढी बनाएर राखेको भनेर। परिवारले केही भन्न सकेन, तर ससुरालीले सह्य गर्न सकेन। बुबाको सम्बन्धका कारण छोराको विवाह रद्द भयो। त्यसो गर्नु हुँदैन, न त बुबाले, न त समाजले त्यसरी निर्णय गर्न,” उनी भन्छिन्।
अहिले कान्छी एक्लै बस्छिन्। “भगवानको कृपाले अहिलेसम्म ठुलो बिरामी परिनँ,” उनी मुस्कुराउँछिन्। केही समयअघि भने उनको जीवनले अर्को मोड लियो,“अरूको लहैलहैमा हिँड्दा मोटरसाइकलले हानेर घाइते भएँ। एक महिनासम्म थला परेँ,” उनी सम्झिन्छिन्। “४० हजार क्षतिपूर्ति पाएँ, तर त्यो पनि कोठा भाडा र औषधि खर्चमै सकियो।”
त्यो प्रसङ्गमा बोल्दै गर्दा उनी भावुक बन्छिन्,“माया त बुबाआमाकै हुने रहेछ। आमा भनेको धर्ती हुन्, माटो छैन भने आमा छैनन्। बुबाआमाले जस्तो माया गर्ने संसारमा कोही हुँदैन।”
उनले कहिल्यै बिर्सिन नसक्ने एउटा गीतको याद गर्छिन्,“अल्झेछ क्यार पछ्यौरी माया चियाको बोटमै… पिरतीको माया मलाई लाउने होइन, अल्झाउने कुरा गर्ने होइन भन्थे। जवानीमा त अल्झिनै पर्यो नि, त्यतिबेला रमाइलो लाग्थ्यो। अब त्यो बाटो नै छोडेकी छु,” उनी मुस्कुराउँदै भन्छिन्।
भारतमा आधारकार्ड, नेपालमा बेवास्ता
२०७९ सालको निर्वाचनमा उनले भोट दिएकी थिइनन्। “यो चुनावमा के हुन्छ, हेरौँ। घर गएपछि हाल्नुपर्ला अब,” उनी भन्छिन्। अहिले भने उनले मतदाता नामावलीमा नाम दर्ता गराएकी छन्। “हामी जस्ता लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई माया गर्ने, सहयोग गर्नेले नै मेरो भोट पाउँछ,” उनी भन्छिन्।
कान्छीलाई राजनीतिमा कुनै चाहना छैन। “पढेलेखेको छैन, नेता बन्ने मन पनि छैन,” उनी हाँस्दै भन्छिन्। “सबै जनतासँग खुलेर बोल्न पाए पुग्छ।” तर उनले सरकारसँग एउटा माग राखिन्,“तेस्रोलिंगीका लागि परिचयपत्र चाहियो। भारतमा त आधारकार्ड बनाइदिन्छ, नेपालमा किन नदिने?”
उनको स्वर चर्किन्छ,“हामी पनि मानव हौँ। छक्का, हिजडा भनेर नबोलोस् कोही। हामीलाई पनि चित्त दुख्छ। हामीले कसैको थाल मागेका छैनौँ, कसैको लुगा मागेका छैनौँ। दुख गरेर खाएको हौँ। त्यसरी अपमानजनक शब्द प्रयोग गर्दा कति चस्किन्छ मन।”
उनले प्रश्न गरिन्, “भारतमा हिजडाहरूलाई आधारकार्ड दिन सक्ने, नेपालले किन नसक्ने? के कमी छ नेपालमा? सरकारले चाह्यो भने गर्न सक्छ। आखिर जनता छन् भने मात्र सरकार छ, जनता नभए के रहन्छ सरकार?”
“सरकारले साथ नदिए जनता मात्रै के गर्न सक्छ?” उनी भन्छिन्, “हामीलाई पहिचान दिनुहोस्, आधारकार्ड बनाइदिनुहोस्। त्यो बनेपछि कसैले केही भन्न पाउँदैन। कसैले हेला गरे कानुन लाग्छ। सरकारले आधारकार्ड बनाएर दिए भने हामी एकदम खुसी हुनेछौँ। तर अहिलेसम्म बनाइदिएको छैन।”
नेताको व्यवहारबारे उनको बुझाइ पनि गहिरो छ,“नेता घरघरमा आएर भोट माग्छन्, तर त्यो त किनेजस्तो लाग्छ। हामीलाई किन किन्नु? हामी त आफ्नै इच्छाले भोट दिन्छौँ।” उनी भन्छिन्, “हामी जस्ता साथीहरू उठ्यौँ भने, सबै जना मिलेर आफ्नो परिवार, गाउँका मान्छेलाई भन्छौँ,‘यो मान्छेलाई भोट हाल। अर्कोमा नहाल।’”
कान्छीको आवाज सशक्त छ, “हामीले भोट दिएको मान्छे विजयी भएर हाम्रो समुदायको लागि केही गर्छ भने त्यो नै सबैभन्दा ठुलो खुसी हो। हाम्रो पनि मन रमाउँछ, हामीलाई पनि लाग्छ,हामीलाई अब समाजले हेर्ने नजर बदलिँदैछ।”
कन्डम बाँडेकी, सहारा नपाएकी
सुनिल बाबु पन्त हुँदा उनले पियरमा जागिर पाएकी थिइन्। तलब दुई हजार थियो। समुदायमा काम गर्दा महिनामा तीन हजार रुपैयाँसम्म हुन्थ्यो। एचआइभी/एड्स रोकथाममा उनी सक्रिय थिइन् कन्डम, लुब्रिकेन्ट वितरण गर्थिन्, यौन स्वास्थ्यबारे जनचेतना दिन्थिन्। त्यतिबेला उनी लगनखेलमा खटिएकी थिइन्।
उनको ड्युटी तीन घण्टा मात्र थियो। चिडियाखानासम्मको क्षेत्रमा उनी कन्डम वितरण गर्थिन्। समुदायका लागि उनले पनि लामो त्याग गरिन्। ब्लु डायमन्ड सोसाइटीका कतिपय मान्छेलाई उनले नजिकबाट हेरिसकेकोले थाहा छ,सोसाइटीले धर्ना दिन जाऊ भन्दा उनी धर्ना दिन गइन।
तर पछि उनको आँखाले देखेका कुराले उनलाई चोट पुर्यायो। राम्रो मान्छेलाई १५, २०, २५ हजार पैसा दिएर पोखरा घुमाउन लगाएको चाल पाइन उनले। अहिले उनलाई लाग्छ, ब्लु डायमन्ड सोसाइटीले उनलाई भुलेको छ। “बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि नबिक्ने” जस्तो अवस्था सोसाइटीले गराएको उनले सुनाइन्।
ब्लु डायमन्ड सोसाइटीबाट समुदाय शोषित भएको उनको गुनासो छ। “ब्लु डायमन्ड सोसाइटी भनेर नाम मात्रै हो, काम छैन के गरेछ तिनीहरूले हामीलाई?” उनी कराउँछिन्। तेस्रोलिंगीले दुख, बिमारी झेले पनि सोसाइटीले वास्ता गरेको पाइनन्,जब मेटी बिमारी पर्दा बम्बईबाट र कतैबाट तेस्रोलिंगीहरूले पैसा पठाउँदै सहयोग गर्छन् भन्ने बताइँदा पनि कोइलीले पैसा दिएनन्, उनी बताउँछिन्।
दुख, बिमार पर्दा पनि पैसा नदिएको पीडा उनले खुलाइन्। “नदिएकोलाई नदिएकै भन्छु हामी, झुट कुरा किन बोल्नु? खाएको पो विष लाग्छ, नखाएको के विष लाग्छ?” उनले कसिलो स्वरमा प्रश्न गरिन्।
गत साउन १४ गते उनी पनि ब्लु डायमन्ड सोसाइटीको धुम्वाराही कार्यालयमा धर्ना दिन गएकी थिइन्। धर्नाको तस्बिर हेरेर कोइलीले उनलाई फोन गरेर सोधेकी थिइन्,“किन धर्ना दिन गएको?” उनले जवाफ दिइन्,“धर्ना बस्दा टाउको किन दुख्यो भनेर?” कोइलीले अर्को प्रश्न गरिन्,“तिमीलाई के पाउँछ भनेर?” त्यसमा कान्छीले ठट्टै तर कटु जवाफ दिइन्। “मलाई चाहे पाओस्, नपाओस्, त्यसको अर्थ यही हो कि मैलै पाउनु पर्छ भनेर धर्ना थापेको हैन; साथीभाइको लागि धर्ना बसेको,” उनले स्पष्ट पारेकी थिइन्।
उनले भनिन्, अप्ठ्यारो पर्दा, दुख बिमार पर्दा काम लाग्ने संस्था चाहिएकोले धर्ना दिएकी हुँ। समुदायलाई अप्ठ्यारो पर्दा बस्ने ठाउँ छैन,बाहिरको बाटोमा हिँड्ने मेटीहरूलाई दुख बिमार हुँदा बस्ने ठाउँ छैन; घर खाली छ। “तिनीहरूले केही गरेका छैनन्,” उनले कटु रूपमा प्रश्न गरिन्। यत्रो बजेट आएपछि के गर्छ त? उनले प्रश्न उठाइन्।
नेपालमा हजारौँ तेस्रोलिंगी छन् भनेर नाम मात्र फैलाएर काम हुँदैन,उनले जोड दिइन्,“काम गरेर देखाउनु पर्छ? गरेनन्, नाम मात्रै ब्लु डायमन्ड सोसाइटी, ब्लु डायमन्ड सोसाइटी भन्छन्। आफू भने हजार हजार नोट बुझ्ने, गरिब दिन दुःखीहरू सबै रोडमा हिँडेर मागेर खानु पर्छ। के गर्नु? केही पनि छैन।”
उनले संस्था खोल्दा त्यसले के हेर्ने भन्ने स्पष्ट हुनुपर्ने बताइन। लड्ने, जुलुस गर्ने, रोडमा सुत्ने त्यो सबैमा हामीले भाग लिएका छौँ, तर त्यसपछि संस्थाले हाम्रो लागि के दियो? उनले प्रश्न गरिन्। पुलिसको कुटाइ खाँदा, सुम्लै सुम्ला भएर हातखुट्टा दुख्दा, प्रहरीले हानेपछि सोसाइटीले सोधपुछ गर्न पनि आएन, “तिमीहरूलाई के भएको छ भनेर औषधी पुर्याउन पैसा छ कि छैन भनेर सोध्न कोही आएनन्,” उनले दुखेसो गर्दै भनिन्।
१५–२० दिनसम्म थला परे पनि ब्लु डायमन्ड सोसाइटीले वास्ता नै नगरेको उनले बताइन। लाठीले हानेर सुम्ला उठेपछिको त्यो पिडा सम्झँदै उनले भनिन्, “त्यो बेला खोइ, ब्लु डायमन्डले हेर्यो हामीलाई?” उसले हामीलाई कसले कुट्यो भनेर खोजी पनि गरेन।
तेस्रोलिंगीको लागि बजेट आएको भए पनि त्यसबाट बचेको पैसाले हेर्नुपर्नेमा नहेरेको उनको गुनासो छ। “ब्लु डायमन्ड सोसाइटीले साथ दिएन भने हामीले पनि साथ कसरी दिने? उ चाहिँ साथ नदिने,कुखुराले अण्डा छोपे जस्तो ओथारो बस्ने। ग्वामग्वाम सुतिसुती खाने, हामी चाहिँ लाठी भाटा खान पुग्ने” उनको शब्दमा अन्यायको पीडा तीव्र छ।
यो पनि : “तेस्रोलिंगीलाई नै पीडा दिने ब्लु डायमण्डको अद्भुत महानता”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.