निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गुरु नानक: एक ओमकार सत नाम

गुरु नानक: एक ओमकार सत नाम

“मेरो मेरो सभी कहत हैं, हित सों बाध्यौ चीत। अंतकाल संगी नहिं कोऊ, यह अचरज की रीत”-गुरु नानक

326
SHARES

रात अँध्यारोको सङ्केत हो। रात आफूले आफैलाई पनि देख्न नसक्ने, चिन्न नसक्ने, छाया पनि बन्न नसक्ने अवस्था हो। यसैले हामीलाई उज्यालो मन पर्छ। प्रकाश मन पर्छ। किनकि प्रकाशमा उज्यालो हुन्छ। उज्यालोमा हामी आँखाले देखिने संसार देख्न सक्छौ, हेर्न सक्छौ।

पूर्णिमा उज्यालोको सङ्केत हो। प्रत्येक महिनामा एकपल्ट आउने पूर्णिमाको रात उज्यालो हो। यसैले हामीलाई पूर्णिमाको रात धेरै मन पर्छ। पूर्णिमा भन्नु चन्द्रमाको पूर्ण रूप हो। यो पूर्ण चन्द्रमाले हामीलाई धेरै कुरा दिएको छ। बुद्ध जन्माएको छ, बुद्धत्व हुर्काएको छ। बुद्धत्वलाई परिनिर्माणमा पुर्‍याएको छ। प्रत्येक पूर्णिमाले हामीलाई केही न केही दिइरहेको छ।

आज पनि कार्तिक महिनाको शुक्ल पक्षको पूर्णिमाको दिन हो। यो पूर्णिमाको रातले हामीलाई गुरु नानक दिएको छ। सिख धर्मका संस्थापक गुरु नानकको जन्म आजकै दिन अर्थात् कार्तिक महिनाको शुक्ल पक्षको पूर्णिमाको दिन भएको मानिन्छ। अङ्ग्रेजी पात्रो अनुसार उहाँको जन्म १५ अप्रिल १४६९ मा तलवण्डी गाउँ (हालको ननकाना साहिब, पाकिस्तान) मा भएको थियो। यसकारण सिख धर्ममा कार्तिक पूर्णिमाको दिनलाई गुरु नानक जयन्तीका रूपमा ठुलो धूमधाम र भक्तिभावका साथ मनाइन्छ।

गुरु नानकको जन्म श्रीननकाना साहिबमा (हाल पाकिस्तान) मा एकगरिब परिवारमा भएको थियो। उनका आमाको नाम तृप्ता देवी र बुबाको नाम कालू थियो।

उनको महानता र असाधारण गुणहरू बाल्यकालदेखि नै देखिन थालेका थिए। उनले बाल्यकालमै समाजका रूढीवाद र अन्धविश्वासहरूका विरुद्धमा सङ्घर्ष गर्न थालेका थिए। उनी सधैँ धार्मिक, सत्यनिष्ठा र दयालु थिए।

जब उनको उमेर ११ वर्ष मात्र थियो, उनलाई जनै धारण गराउने परम्परा अनुसार संस्कार गराउँदा, गुरु नानकले यो कर्मकाण्ड र असमान परम्पराको विरोध गर्दै भनेका थिए कि साँचो जनै आत्मिक ज्ञान र सत्य आचरणबाट धारण गरिन्छ, कपडाको धागोले होइन।

नानकले मुस्कुराउँदै उत्तर दिए-“पिताजी, मैले त साँचो व्यापार गरेँ। भोकोलाई भोजन दिएँ। यही नै साँचो व्यापार हो।”

जब पण्डित बालक गुरु नानकको गलामा जनै (पवित्र धागो) लगाउन लागिरहेका थिए, तब नानकले उनीहरूको हात रोकेर विनम्र स्वरमा भने–“पण्डितजी, यदि जनै लगाउँदा मानिसको दोस्रो जन्म हुन्छ भनेर तपाईँहरू भन्नुहुन्छ भने, जनै पनि आत्मिक हुनुपर्छ, जसले आत्मालाई बाँध्न सकोस्। तर यो जनै त कपासको धागो हो, यो त मैलो हुन्छ, चुँडिन्छ र मृत्युमा पनि शरीरसँगै जल्छ। त्यसैले यस्तो जनै आत्माको लागि कसरी पवित्र जन्मको प्रतीक हुन सक्छ?”

यसरी गुरु नानकले जनै धारण गर्न अस्वीकार गरेर बाल्यकालमै समाजमा फैलेको अन्धविश्वास र बाह्य आडम्बरको विरोध गर्दै सत्य, आत्मज्ञान र नैतिक आचरणलाई नै साँचो “जनै”माने।

उनी एकता, प्रेम, समानता र सत्यका सन्देश वाहक हुन। उनको शिक्षा सबै धर्म, जात, र वर्गभन्दा माथि उठेर मानवता र ईश्वर प्रेममा आधारित छ।

उनी सिख धर्मका संस्थापकमात्र होइन, दश सिख गुरुमध्ये पहिलो गुरु पनि हुन्। उनलाई एक महान् आध्यात्मिक गुरु, सुधारक र दार्शनिकका रूपमा सम्मान गरिन्छ।

उनले सत्य र ईश्वर प्रेमको सन्देश फैलाउनका लागि भारत, नेपाल, तिब्बत, साउदी अरब, श्रीलङ्का आदि विश्वका धेरै देशहरू भ्रमण गरे। यी यात्रालाई“उदासी”भनिन्छ।

उनका शिक्षाले एक ईश्वरमा विश्वास, समानता, सत्य, सेवा र मानवताको मार्ग देखाएको छ, जसले आज पनि संसारभरका मानिसहरूलाई प्रेरित गरिरहेको छ।

गुरु नानकको जीवनको रोचक प्रसङ्ग–”सच्चा सौदा” हो। गुरु नानक जब ठुला भए, उनका पिताले उनलाई व्यापार गर्न पठाउने सोच बनाए। एक दिन उनले बिस रुपैयाँ दिएर भने,“नानक, यी रुपैयाँ लिएर बजार जाऊ र सच्चा सौदा (सही व्यापार) गरेर आऊ।

गुरु नानक व्यापार गर्न हिँडे। बाटोमा उनीले केही भोको साधु-सन्तहरूको समूहसँग भेटे। नानकले ती सबैको अवस्था देखे र सोच्न थाले- “यी भोका-प्यासा साधुहरूलाई भोजन खुवाउनु नै सबैभन्दा साँचो व्यापार हो।” त्यसपछि उनले बिस रुपैयाँले ती साधुहरूलाई भोजन गराएर सन्तुष्ट मनले घर फर्किए।

घर पुगेपछि उनका पिताले रुष्ट हुँदै सोध्नुभयो-“नानक! तिमीले के व्यापार गर्‍यौ? पैसा कहाँ खर्च गर्‍यौ?”

नानकले मुस्कुराउँदै उत्तर दिए-“पिताजी, मैले त साँचो व्यापार गरेँ। भोकोलाई भोजन दिएँ। यही नै साँचो व्यापार हो।”

यो घटनाले बालक नानकको दयालु स्वभाव, निःस्वार्थ सेवा र साँचो मानवताको भाव प्रकट गर्छ। त्यसै दिनदेखि उनलाई “सच्चा सौदा गर्ने नानक” भनेर चिनिन थालियो।

गुरु नानकले सधैँ मानिसहरूलाई सत्य मार्गमा लाग्न सन्देश दिए। उनका अनुसार साधुसँगत (सत्सङ्ग) र गुरबाणीको अनुसरण गर्नु नै जीवनको सही बाटो हो। ईश्वर मानिसको हृदयमै बस्छ, तर यदि त्यो हृदयमा निर्दयता, घृणा, निन्दा, क्रोध आदि विकारहरूले ठाउँ लिएका छन् भने,त्यस्तो अपवित्र हृदयमा परमात्मा वास गर्न सक्दैन।

त्यसैले गुरु नानकले—“यी सबै विकारहरूबाट टाढा रही, परमात्माको नाम स्मरण आफ्नो हृदयमा बसाउनु पर्छ भन्ने सन्देश दिएका छन्।

गुरु नानकका शिक्षाहरू भक्ति गीतहरूमार्फत व्यक्त गरिएका छन्, जुन आज पनि सिख धर्ममा महत्त्वपूर्ण मानिन्छन्। उनका उपदेशहरूले जन्म–मरणको चक्रबाट मुक्ति पाउन ध्यान र परमेश्वरको नाम जप्न (नामस्मरण) जोड दिन्छन्।

गुरु नानकलाई“मूल मन्त्र”को सृष्टिकर्ता मानिन्छ। यो मूल मन्त्र सिख धर्मको अत्यन्त महत्त्वपूर्ण अंश हो। यसले एकेश्वरवादको सार व्यक्त गर्दछ जसले हिन्दु र इस्लामिक परम्पराहरूलाई संयोजन गरेको छ।

यो मूल मन्त्र“आदि ग्रन्थ”को सुरुवातमा पाइन्छ। “आदि ग्रन्थ” सिख धर्मको पवित्र ग्रन्थ हो जसमा गुरु नानक र अन्य ९ गुरुहरूको भजन, प्रवचन र वाणीहरू समेटिएका छन्। यस ग्रन्थमा सबै १० सिख गुरुहरूको शिक्षाहरू समावेश छन्। यो सिखहरूको धार्मिक मार्गदर्शनको आधार हो।

आजको दिनले गुरु नानकको करुणा, सद्भाव र सत्यका उपदेशहरूको स्मरण गराउँदै “एक ॐकार सत नाम”को अनुभवमा आउन प्रेरणा दिन्छ।

गुरु नानकको जीवनबारे थोरै मात्र जानकारी छ, जुन मुख्य रूपमा कथाहरू, प्रसङ्गहरू, र परम्पराबाट सङ्कलित भएको हो। यी कथालाई“साखी”भनिन्छ, जसको अर्थ हुन्छ “साक्षी”। साखीलाई सङ्कलन गरी क्रमिक रूपमा राखिएको सङ्ग्रहलाई जनमसाखी भनिन्छ। जनमसाखीमा गुरु नानकको बाल्यकाल र उनका यात्राहरूमा बढी ध्यान केन्द्रित गरिएको पाइन्छ।

जनमसाखीका अनुसार, गुरु नानकले आफ्नो प्रारम्भिक जीवन परिवारको गाई-बोका पाल्दै र बाटोमा भेटिने सूफी तथा साधुहरूसँग (मुस्लिम र हिन्दु भिक्षुहरू) कुरा गर्दै बिताएका थिए।

२० वर्षको उमेरतिर उनले सुल्तानपुरमा बसोबास गरे र केही वर्षसम्म अन्नगोदाममा काम गरे। तर पछि उनको धार्मिक आह्वानले उनलाई परिवार र जागिरबाट अलग गरायो।

करिब ३० वर्षको उमेरमा उनी एक गहिरो आध्यात्मिक अनुभवबाट गुज्रिएका थिए। जनमसाखीहरूमा वर्णन छ कि जब उनी नदीमा स्नान गर्दै थिए, अचानक तीन दिनसम्म हराए। अनि डुबेर मरेको भनी अनुमान गरियो।

तीन दिनपछि जब उनी नदीबाट फर्किए, उनी केही समय मौन बसे र अन्ततः भन्न थाले-“न हिन्दु छन्, न मुस्लिम। एक ओमकार सत नाम“

यो वचनले मुस्लिम–हिन्दु भेदलाई अस्वीकृत गर्दै एकताको सन्देश दिन्छ, जुन उनको आध्यात्मिक अनुभवसँग मेल खान्छ।

यी कथाले भन्छन् कि त्यो समयमा उनी सर्वोच्च ईश्वरसँग संवाद गरिरहेका थिए, जसले उनलाई अमरताको अमृतपान गरायो र उनले परमेश्वरको नामको ज्ञानप्राप्त गरे। यो रहस्यमय अनुभवले उनलाई परम वास्तविकताको दर्शन गरायो।

गुरु नानकले आफ्नो अन्तिम समय कर्टारपुर (पाकिस्तान)मा बिताए। सन् १५३९ मा उनी ज्योतिमा समाए (महापरिनिर्वाण)भए। त्यही स्थान आज कर्टारपुर साहिब भनेर प्रसिद्ध तीर्थ बनेको छ।

गुरु नानकको सन्देशको सार“ एक ॐकार सतनाम हो। न कोही हिन्दु, न कोही मुस्लिम सबै भगवानको सन्तान हुन। धर्म कसैको होइन, मानवता नै सबैभन्दा ठुलो धर्म हो। सबै धर्महरू एउटै सत्यतिर जान्छन्। ईश्वर एक छ-एक ॐकार सतनाम!!!!

आज उनै गुरु नानकको जन्म-जयन्ती हो। यसलाई गुरु नानक जयन्ती वा गुरु पर्व पनि भनिन्छ। सिख धर्ममा सबैभन्दा महत्त्वपूर्ण पर्वमध्ये यो एक हो। आजको पूर्णिमाको उज्यालो झैँ गुरु नानकको जन्म-जयन्तीले सेवा, समानता र मानवताको सन्देश सम्पूर्ण विश्वलाई दिएको छ। आजको दिनले गुरु नानकको करुणा, सद्भाव र सत्यका उपदेशहरूको स्मरण गराउँदै “एक ॐकार सत नाम”को अनुभवमा आउन प्रेरणा दिन्छ।

(लेखक – पुर्व नायब-महालेखा परीक्षक तथा बेरुजू फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिको सदस्य-सचिब हुन्।)

समाचार शेयर गर्नुहोस्
326
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.