निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“तेरो श्रीमतीलाई भन्दिन्छु भन्दै धम्की: समलिङ्गी र तेस्रोलिङ्गी समुदायमाथि मानसिक र यौन शोषण”

“तेरो श्रीमतीलाई भन्दिन्छु भन्दै धम्की: समलिङ्गी र तेस्रोलिङ्गी समुदायमाथि मानसिक र यौन शोषण”

“तपाईँको एउटा साझा प्रयासले कसैको जीवन सुरक्षित गर्न सक्छ।”

499
SHARES

काठमाडौँ – समलिङ्गी, तेस्रोलिङ्गी समुदायका सदस्यहरूमाथि बढ्दो धम्की, ब्ल्याकमेल, जबरजस्ती यौन सम्बन्ध र मानसिक हिंसाका घटनाबारे चेतना जगाउन ‘मायाको पहिचान नेपाल’ले सुरक्षा र कानुनी सहयोग सम्बन्धी सूचना जारी गरेको छ।

सूचनामा विवाहित वा पारिवारिक जिम्मेवारी बोकेका ती व्यक्तिहरूले आफ्नो यौनिक तथा लैङ्गिक पहिचान परिवार वा श्रीमती–श्रीमानसँग खुलाउन नसक्दा भोग्नुपरेका जोखिम, शोषण र अपमानजनक व्यवहारका वास्तविक अवस्थाहरू उजागर गरिएको छ।

सूचनाअनुसार हाम्रा थुप्रै साथीहरू विवाहित छन्, जसले आफ्नो यौनिक पहिचान परिवारसँग खुलाउन नसक्दा सामाजिक डर र मानसिक दबाबका कारण मौन बस्ने गर्छन्। तीमध्ये केहीले आफ्नै आकर्षण र भावना अनुसार समलिङ्गी व्यक्तिसँग प्रेम सम्बन्ध वा यौन सम्पर्क कायम गर्ने गर्छन्। तर, यस्तो व्यक्तिगत विवरण सार्वजनिक भएपछि केही पुरुषहरू वा समुदायभित्रकै व्यक्तिहरूले उनीहरूलाई धम्की, ब्ल्याकमेल र जबरजस्ती यौन सम्पर्कमा तान्ने गरेको उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “तेरो श्रीमतीलाई भन्दिन्छु”, “तेरो अफिसमा गएर तेरो बेइज्जती गर्छु” भन्ने धम्की दिने, इच्छा विपरीत यौन सम्पर्कमा जबरजस्ती गर्ने, श्रीमतीलाई समेत धम्क्याउने, “यौन सम्बन्ध राख्न दे” भनी दबाब दिने, पैसा वा सम्पत्ति हडप्ने, र मानसिक तथा शारीरिक यातना दिने घटनाहरू देखिएका छन्।

पीडितहरू प्रायः आफ्नो नाम वा पहिचान खुल्ने डरले मौन बस्ने गर्छन्, जसले अपराधीको मनोबल अझ बढाउँछ र यस्ता अपराध दोहोरिन सक्ने चेतावनी सूचनामा दिइएको छ। यस्ता कार्यका कारण धेरै पीडितहरू गहिरो मानसिक पीडा भोग्न बाध्य भएका छन्, र कतिपयले आत्महत्या गर्न समेत बाध्य भएको तथ्य पनि उजागर गरिएको छ।

यस्ता कार्यहरू गैरकानुनी अपराध हुन्। मुलुकी ऐनका धारा २३०, २३१, २३२, २३६, २३७ र २३८ अनुसार ब्ल्याकमेल, ठगी, जबरजस्ती यौन सम्पर्क र मानसिक हिंसामा संलग्न अपराधीलाई जेल सजाय र जरिवाना हुने कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ।

मायाको पहिचान नेपाल र अन्य सहयोगी सङ्गठनहरूले यस्ता पीडितहरूको गोपनीयता सुरक्षित राख्दै कानुनी सहायता र मनोसामाजिक सहयोग प्रदान गर्दै आएको जनाएका छन्। मायाको पहिचान नेपालले समाजमा फैलिँदै गएको मौनतालाई तोड्न सबैलाई सचेत गराउँदै भनेको छ,“एक्लै नहुनुहोस्, सहयोग लिनुहोस्, सत्यका लागि अघि बढ्नुहोस्।”

कानुनी सहायता र समर्थन उपलब्ध रहेको भन्दै संस्थाले अपराधीहरू कानुनको कारबाहीबाट बच्न नसक्ने चेतावनी दिएको छ। मायाको पहिचान नेपालले सूचनालाई व्यापक रूपमा प्रचार–प्रसार गर्न सबैलाई अनुरोध गर्दै भनेको छ, “तपाईँको एउटा साझा प्रयासले कसैको जीवन सुरक्षित गर्न सक्छ।”

समाचार शेयर गर्नुहोस्
499
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.