"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बस्नलायक नेपाल बनाउने प्रधानमन्त्री कार्कीको लक्ष्य

बस्नलायक नेपाल बनाउने प्रधानमन्त्री कार्कीको लक्ष्य

294
SHARES

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रका नाममा अब घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल कुनै हालतमा पनि सह्य नहुने चेतावनी दिएकी छन्। काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस २.० कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूलाई विशेष सम्बोधन गर्दै उनले इमानदार उद्यमीहरूलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था अब रहन नसक्ने स्पष्ट पारिन्।

भर्खरै सम्पन्न जेनजी आन्दोलनलाई उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसले देशलाई स्पष्ट सन्देश दिएको बताइन्। उनले भनिन्, “यो आन्दोलनले देशका युवाहरूको आवाज सरकारसम्म पुर्‍याएको छ, जसमा घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य छैन भन्ने जनादेश आएको छ। लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन भन्ने सन्देश आएको छ। इमानदार उद्यमीहरूलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था अब रहनु हुँदैन भन्ने स्पष्ट सन्देश आएको छ।”

प्रधानमन्त्रीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदानप्रति आभार व्यक्त गरिन्। उनले भनिन्, “हाम्रो कुल गार्हस्थ्य उत्पादन, निर्यात, रोजगारी सिर्जना र कर सङ्कलनमा निजी क्षेत्रको योगदान सधैँ अग्रणी रहेको छ। उद्योगी व्यवसायीहरू आर्थिक समृद्धिको जगका ठूला ढुङ्गा हुन्, जसको बलमा समृद्ध नेपालको धरहरा अडिनेछ।” उनका अनुसार समृद्ध, सम्मानित र सभ्य मुलुक निर्माणको बाटो केवल शान्ति र सहकार्यबाटै सम्भव छ।

प्रधानमन्त्रीले नेपाल निरन्तर रूपान्तरणको आन्दोलन र सङ्क्रमणको प्रसव पीडाबाट गुज्रिरहेको देश भएको बताइन। उनका अनुसार हाम्रो अर्थतन्त्र रेमिट्यान्स, प्राकृतिक स्रोत र पर्यटनमा बलियो भएर पनि संरचनागत कमजोरी, पुँजी पलायन र अवसरको अभावका कारण हामीले मेहनत अनुसारको फल प्राप्त गर्न सकेका छैनौँ।

प्रधानमन्त्रीले युवाहरू कामको खोजीमा बिदेसिन बाध्य भएको, उद्योगधन्दा विस्तार हुन नसकेको र बैङ्कहरूले लगानीको ऋण उठाउन नसकेको अवस्थाले बजारमा निराशा बढाएको उल्लेख गरिन्। उनले भनिन्, “हामीले पछिल्ला दशकहरूमा सशस्त्र द्वन्द्व, भूकम्प, महामारी र बाढीपहिरो जस्ता ठूला चुनौतीहरू सामना गर्‍यौँ, तर अहिलेको चुनौती फरक छ, यो सुशासन र आत्मविश्वाससँग जोडिएको छ।”

प्रधानमन्त्रीले आन्दोलनको क्रममा केही उच्छृङ्खल समूहहरूले उद्योग व्यापारिक क्षेत्रमा पुर्‍याएको क्षतिप्रति दुःख प्रकट गरिन्। उनले भनिन्, “राज्यविहीनताको फाइदा उठाउनेहरूले निजी क्षेत्रलाई नोक्सानी पुर्‍याए पनि सरकार मर्माहत निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापना गर्न कुनै कसर बाँकी राख्ने छैन।” उनका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई नयाँ म्यान्डेट दिएको छ, जसअनुसार अब देश पछौटेपनको यथास्थितिमा बस्न सक्दैन र युवा पुस्तासँग मिलेर अग्रगामी दिशामा अगाडि बढ्नुपर्छ।

उद्योगी व्यवसायीहरूका पीडा र मर्का सरकारका पनि पीडा हुन् भन्दै प्रधानमन्त्रीले भनिन्, “उद्योगीहरूले राज्यलाई कर तिरेका छन् मात्र होइन, जनताका लागि रोजगारी सिर्जना गरेर र सामाजिक सुरक्षाको सुनिश्चितता दिई ठूलो दायित्व पनि पूरा गरेका छन्। उद्योग व्यवसायबिना देश चल्दैन र उद्योगीको मनोबल नउठेसम्म अर्थतन्त्र उठ्न सक्दैन।”

प्रधानमन्त्रीले अर्थतन्त्रलाई इन्जिनको उदाहरण दिएर व्याख्या गरिन्। उनले भनिन्, “नेपाल निर्माणका इन्जिनियर नेपाली जनता स्वयं हुन्। समाज र सरकार त्यसका प्रणाली इन्जिन हुन्। उद्यमी, व्यवसायी र श्रमिक त्यसका इन्धन हुन्। यी सबैबीच सहकार्य भए मात्रै आर्थिक इन्जिन चल्छ।”

उनले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन देशलाई दिगो लोकतान्त्रिक प्रक्रियामा लैजाने अवसर भएको बताइन्। प्रधानमन्त्रीले उद्यमी, किसान र युवाहरूलाई डराउने होइन, आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गरिन्। उनले भनिन्, “अध्ययनहरूले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने सङ्केत दिएका छन्। हामी सबै मिलेर हिजोभन्दा राम्रो भोलि बनाउन सक्छौँ। हाम्रो देश हामीले नबनाए अरूले आएर बनाइदिँदैन। हाम्रै हातले सन्ततिका लागि बस्नलायक नेपाल बनाउनु छ।”

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासनका लागि प्रधानमन्त्री र मन्त्रीहरू सक्रिय रूपमा लागिरहेकाले अब विगतको जस्तो अवस्था नदोहोरिने बताए। उनले भने, “जेनजी पुस्ताको आन्दोलनको मुख्य कारण कुशासन नै हो।”

अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि आन्दोलन गर्दा देशलाई क्षति पुर्‍याउन नहुनेमा जोड दिँदै भने, “यसमा सरकार र निजी क्षेत्र बाेल्नुपर्छ।”

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलले उच्च मनोबलका साथ उद्योगी व्यवसायीहरूलाई काम गर्न आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा उद्यमशीलता विकास कार्यक्रम तत्काल सुरु गर्न माग गरे। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताए।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले जेनजी आन्दोलनमा ध्वस्त भएका होटल तथा पर्यटन क्षेत्रको पुनर्निर्माणका लागि पुनर्स्थापना कोष गठन गर्न सरकारसँग माग गरे।

नेपाल ट्रस्टका पूर्वसहसचिव कार्की पक्राउ

ठगी र आपराधिक विश्वासघातको आरोपमा नेपाल ट्रस्ट कार्यालय, दरबारमार्गका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्। चितवनको भरतपुर–१५ निवासी ६६ वर्षीय कार्कीले ट्रस्टको नाममा दर्ता जग्गा बद्नियतपूर्वक लिजमा दिएर संस्थालाई दीर्घकालीन हानि पुर्‍याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई नियन्त्रणमा लिएको हो।

सिआइबीका वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार कार्की संलग्न लिज सम्झौतामा सूचनामा उल्लेख नभएको कित्ता नं. ४६०५ समेत अवैध रूपमा समावेश गरिएको पाइएको छ। उक्त सम्झौतामा निर्माण अवधि तीन वर्ष तोकिएर ३० वर्षका लागि लिजमा दिने व्यवस्था गरिएको थियो।

२०७४ जेठ १४ गते भएको सम्झौताबाट नेपाल ट्रस्टलाई ठूलो आर्थिक हानि पुगेको सिआइबीले जनाएको छ। अनुसन्धानका क्रममा नेपाल ट्रस्टको जग्गा लिजमा लिने लाभग्राही र सहयोगी अधिकारीहरूले गैरकानुनी लाभ उठाएको, जसबाट राष्ट्रलाई समेत हानि भएको पाइएको छ। सिआइबीका अनुसार ठगी र आपराधिक विश्वासघात मुद्दामा कार्कीमाथि थप अनुसन्धान भइरहेको छ।
youtube.com/watch?v=Mgt0RnkXSeA&feature=youtu.be

समाचार शेयर गर्नुहोस्
294
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.