काठमाडौँ – नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले इतिहासमै पहिलोपटक छुट्टै राजनीतिक दल गठन गरेका छन्। महिला र अपाङ्गता भएका व्यक्तिहरूको समेत सहभागितामा गठन गरिएको नयाँ दलको नाम ‘समावेशी समाजवादी पार्टी’ राखिएको छ।
महिला र अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागितासहित देशभरका ५०० भन्दा बढी सदस्यहरूको एकमतमा काठमाडौँमा पार्टी गठन घोषणा गरिएको हो।
नयाँ दलको नाम समावेशी समाजवादी पार्टी राखिएको छ। पार्टीको चुनाव चिन्ह ‘बज्र’ हो भने झन्डामा निलो त्रिकोणको बीचमा सेतो कमलको फूल अङ्कित गरिएको छ।
पार्टीको नेतृत्वमा अध्यक्ष नुमा लिम्बु ‘चञ्चला’, उपाध्यक्ष रोजी पुन, महासचिव मनिन्द्र सिंह दनुवार, सचिव सन्ध्या लामा, कोषाध्यक्ष लासाङ दोर्जे बल र सल्लाहकारका रूपमा संविधानसभा सदस्य सुनिल बाबु पन्त रहेका छन्। पार्टीले आफ्नो घोषणापत्र साइबरनेटिक लोकतान्त्रिक सङ्घीयता’ शीर्षकमा सार्वजनिक गरेको छ।
समावेशी समाजवादी पार्टीको दृष्टि अनुसार राज्यको शक्ति सिंहदरबारबाट होइन, टोल र वडाबाट सञ्चालन हुने व्यवस्था निर्माण गरिनेछ। प्रविधि र करुणामा आधारित लोकतन्त्र निर्माण गरिनेछ। शक्ति नेतामा होइन, जनतामा रहने सुनिश्चित गरिनेछ।
संविधानसभा सदस्य तथा पार्टी सल्लाहकार सुनिल बाबु पन्तले “आजको यो दिन केवल नयाँ दल गठनको घटना होइन, यो हाम्रो राजनीतिक उपस्थितिको घोषणा हो भनेका छन्। दशकौँदेखि राज्य र दलहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई उपेक्षा गरेका छन्, तर अब हामी आफैँले आफ्ना अधिकार र भविष्यको नेतृत्व गर्न उठेका छौँ,पन्तले भने, यो दिन हाम्रो समुदायका लागि मात्र होइन, नेपालका लोकतन्त्रका लागि पनि ऐतिहासिक हो, किनभने लोकतन्त्र तब मात्र जीवित रहन्छ जब सबै नागरिकको आवाज सुन्छ।अब कसैले हाम्रो राजनीतिक अस्तित्व र अधिकारलाई बेवास्ता गर्न सक्दैन। हामी नागरिक हौँ, हामी मतदाता हौँ, र अब हामी नेतृत्वकर्ता पनि हौँ।”

पार्टीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेको छ। अध्यक्ष चञ्चलाले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन्। उनले अन्य दलमा आबद्ध भएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू र तिनीहरूलाई माया गर्ने सबै समुदायका नागरिकलाई पनि नयाँ दलमा सहभागी हुन आह्वान गरिन्।
महासचिव मनिन्द्र सिंह दनुवारले, “अरू दलका लागि सडकमा उभिएर लड्यौँ, अब आफ्नै पहिचानसहितको दलमार्फत प्रतिनिधित्व गर्ने समय आएको छ,” भन्दै आत्मनिर्भर राजनीतिक नेतृत्वको आवश्यकता औँल्याए।
२५ वर्षअघि अधिकारका लागि अभियान सुरु गरेको स्मरण गर्दै सल्लाहकार पन्तले भने, “फागुन २१ को चुनावमा विजय हासिल गरेर हामीले रजत जयन्ती मनाउनेछौँ।”
उपाध्यक्ष रोजी पुनले पनि पार्टी गठनलाई “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको ऐतिहासिक उपलब्धि” बताइन्। सचिव सन्ध्या लामा, कोषाध्यक्ष लासाङ दोर्जे बल, र केन्द्रीय सदस्यहरू विवेक मगर, मोनिका शाही, विश्वराज अधिकारी, प्रतीक्षा चापागाईँ, समायरा राईले पार्टीलाई सबै समुदाय समेट्ने राष्ट्रिय पार्टीको रूपमा स्थापित गर्ने प्रण गरे।

पार्टीले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा गर्दै त्यसको कार्यान्वयनमा दबाबमूलक भूमिका निर्वाह गर्ने जनाएको छ। साथै, सुशासन कायम गर्ने, वैचारिक बहस चलाउने, नेतृत्वमा चक्रीय प्रणाली अपनाउने र ‘राइट टु रिकल’ (पुनः आह्वान अधिकार) समेत पार्टीको विधानमा समावेश गरिएको छ।
समावेशी समाजवादी पार्टीले प्रविधिमा आधारित पारदर्शिता र स्थानीय स्रोतको न्यायसङ्गत बाँडफाँड नीति अवलम्बन गर्ने जनाएको छ। पार्टीका अनुसार स्रोत बाँडफाँडमा ६५ प्रतिशत गाउँमा, २५ प्रतिशत प्रदेशमा र १० प्रतिशत सङ्घमा विनियोजन गरिनेछ।
पार्टीले मानवसँगै प्रकृतिलाई पनि समान संरक्षण र सम्मान दिने नीति लिएको छ। साथै, “हेरचाहको अर्थशास्त्र, एआई प्रविधिमार्फत अन्तरसम्बन्धित कोटा प्रणाली, र साइबरनेटिक लोकतान्त्रिक सङ्घीयता” को अवधारणा अघि सारेको छ।
नयाँ दलले सार्वभौम अधिकार वडा स्तरसम्म पुर्याउने, न्याय स्थानीय तहमा विकेन्द्रीकरण गर्ने, र सबै नागरिकलाई सदस्यताको अवसर खुला गर्ने नीति अङ्गालेको छ।
सुनिल बाबु पन्त २०६४ सालको संविधानसभा निर्वाचनमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट निर्वाचित पहिलो र एकमात्र प्रतिनिधि थिए। त्यसयताका निर्वाचनहरूमा यो समुदायको स्थानीयदेखि सङ्घीय संसद्सम्मको प्रतिनिधित्व शून्य रहेको छ।
नयाँ पार्टी गठनमा ‘मायाको पहिचान नेपाल’, ‘लिड नेपाल’, ‘इन्क्लुशिभ फोरम’, ‘क्वयेर नेपाल’, ‘समानताका लागि आवाज’ लगायतका संस्थाहरूको सक्रिय भूमिका रहेको छ।
पार्टीका सदस्यहरूले पार्टी गठन भएको दिनलाई ऐतिहासिक मोड भन्दै नेपालमा समावेशी राजनीतिलाई नयाँ युगमा प्रवेश गराएको टिप्पणी गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.