निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी अध्यक्ष रहेको पहिलो दल गठन (तस्बिरहरू)

तेस्रोलिंगी अध्यक्ष रहेको पहिलो दल गठन (तस्बिरहरू)

401
SHARES

काठमाडौँ – नेपालको राजनीतिक इतिहासमा पहिलो पटक तेस्रोलिंगी व्यक्तिको नेतृत्वमा नयाँ राजनीतिक दल गठन भएको छ। ‘समावेशी समाजवादी पार्टी’ नामक उक्त दलको अध्यक्ष तेस्रोलिंगी नुमा लिम्बु ‘चञ्चला’ बनेकी छन्।

यो दल नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिलो राजनीतिक दल भएको छ। पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। त्यसका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने अन्तिम तयारी छ।

सोमबार काठमाडौँमा आयोजित भेलाले २५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। चञ्चला अध्यक्षमा निर्वाचित भएकी हुन्। उनी लिड नेपाल दमककी कार्यकारी निर्देशक र मायाको पहिचान नेपालसँग आबद्ध छिन्। दुई दशकदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सक्रिय रूपमा वकालत गर्दै आएकी चञ्चलाको अबको भूमिका राजनीतिक बनेको छ।

पहिले गैरसरकारी संस्था (एनजिओ) मार्फत अधिकारका लागि आवाज उठाउँदै आएकी उनले अब राजनीतिक दलमार्फत संस्थागत दबाब दिने तयारी गरेकी छन्।

समावेशी समाजवादी पार्टीका सल्लाहकारमा सुनिल बाबु पन्त रहेका छन्। उनले सन् २००१ मा नेपालमा पुरुष र महिलाभन्दा भिन्न पहिचान भएका व्यक्तिहरूका अधिकारका लागि संस्थागत अभियान सुरु गरेका थिए। पन्तकै पहलमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय पहिलो पटक एउटै राजनीतिक दलभित्र गोलबद्ध भएका छन्।

पार्टीले “साइबरनेटिक लोकतान्त्रिक राज्य संयन्त्र निर्माण” गर्ने दीर्घकालीन लक्ष्य लिएको घोषणा पत्र पनि तयार गरेको जनाएको छ।

दलका केन्द्रीय उपाध्यक्षमा समानताका लागि आवाज संस्थाकी रोजी पुन चयन भएकी छन्। उनी पनि लामो समयदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूका अधिकारका लागि सक्रिय रूपमा वकालत गर्दै आएकी छन्।

महासचिवमा मिस्टर गे हेण्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवार चयन भएका छन्। उनी यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए। नयाँ दलमा उनी सर्वसम्मत महासचिव बनेका छन्।

सचिवमा तेस्रोलिंगी सञ्जीवनी लामा (सन्ध्या) सर्वसम्मत चयन भएकी छन्। उनी पनि समुदायको अधिकारका लागि निरन्तर सक्रिय रहेकी छिन्।

कोषाध्यक्षमा सिन्धुलीका लासाङ दोर्जे बल चयन भएका छन्। उनी मिस्टर गे नेपालको अनुशासित तर्फको उपाधि विजेता हुन्।

केन्द्रीय सदस्यमा मायाको पहिचान नेपाल, लिड नेपाल, क्वयेर नेपाल, समावेशी मञ्च, समर्पण सभ्य समाज नेपाल, समानताका लागि आवाज लगायतका गैरसरकारी संस्थासँग आबद्ध व्यक्तिहरू सर्वसम्मत चयन भएका छन्।

महिला, अपाङ्गता भएका व्यक्ति, समलैङ्गिक, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी सबै समूहलाई एउटै राजनीतिक छातामुनि ल्याएर चञ्चलाको नेतृत्वमा यो दल गठन गरिएको हो। सर्वसम्मत चयन भएको नेतृत्वलाई पन्तले टिका र मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले खादा लगाइदिएर बधाई तथा सफलताको शुभकामना दिए।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिलो राजनीतिक दल गठन

(तस्बिरहरू:)

समाचार शेयर गर्नुहोस्
401
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.