काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको जनाएको छ।
बुधवार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगका पदाधिकारीहरूले अहिलेसम्मको प्रगतिबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री कार्कीको सचिवालयले आयोगले निर्वाचन तयारीको प्रगतिबारे औपचारिक रूपमा जानकारी गराएको जनाएको छ।
आयोगले हालसम्मको मूल्याङ्कनमा तोकिएकै मिति फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरेको छ। आयोगमा दर्ता भएका दलहरूमध्ये वडा सदस्यस्तरमा पनि विजय हासिल गरेका दलहरूसँग आयोगले लगातार छलफल गरिरहेको र कुनै पनि दलले निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव प्रकट नगरेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार, विगतमा निर्वाचन बहिष्कार गर्दै बाधा–विरोध गर्ने समूह र दलहरू समेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएकाले वातावरण विगतको तुलनामा अझ सहज बन्दै गएको छ। “हाम्रो मूल्याङ्कनअनुसार तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि पूर्ण रूपमा सक्षम छ, कुनै दुबिधा राख्नुपर्ने अवस्था छैन,” भण्डारीले भने।
आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको जानकारी दिँदै उनले भने, “आयोगका सबै तयारी सकारात्मक दिशामा अघि बढेका छन्।”
प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीन बुँदे पत्रमा उल्लेख गरिएका कार्यहरूको प्रगतिबारे पनि आयोगले जानकारी दिएको थियो। सोअनुसार आयोगले अनलाइन प्रणालीमार्फत मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालेको, जनशक्ति बढाइएको र प्राविधिक समस्याको तत्काल समाधानको व्यवस्था मिलाइएको जनाएको छ।
यस्तै, राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका क्रममा सङ्कलित जैविक तथ्याङ्क निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए। यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका तर निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदाताहरूलाई मतदानमा सहभागी हुन सहज बनाउनेछ।
आयोगले बिहीबारदेखि नै राष्ट्रिय परिचयपत्रका विवरणका आधारमा पनि मतदाता नामावली समावेश गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। यसका लागि रातभर प्राविधिक परीक्षणका सबै तयारी पूरा गरिसक्ने आयोगले जनाएको छ।
हालसम्म आयोगको तथ्याङ्कअनुसार देशभर १ करोड ८३ लाख ७७ हजार मतदाता अभिलिखित छन्। पछिल्लो निर्वाचन घोषणापछि मात्रै २ लाख ९ हजार ५५२ नयाँ मतदाता थपिएका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अवगत गराए।
उनका अनुसार, हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय संस्थाहरूले निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराइसकेका छन्। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकेको र अब निर्वाचन कार्यक्रम प्रकाशनको तयारी भइरहेको पनि जानकारी दिएको छ। उनले भने, “आचारसंहिता अन्तिम रूप दिनुअघि राजनीतिक दलहरूसँग पुनः छलफल हुनेछ।”
प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न सकिने सम्भावनाबारे चासो राखेकी थिइन्। आयोगले अन्तरजिल्ला मतदानको व्यवस्था गर्न सकिने वा नसकिनेबारे अहिलेसम्म कुनै स्पष्ट जवाफ दिएको छैन।
प्रधानमन्त्री कार्कीले उठाएका निर्वाचन तयारीसम्बन्धी सबै चासोहरू आयोगले छलफल गरेर मात्रै सम्बोधन गर्न सकिने वा नसकिने बताउने जनाएको छ। निर्वाचन आयुक्त सगुन शमशेर राणाले यस विषयमा बिहीबार छलफल हुने जानकारी दिएका छन्।
छलफलका क्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर र सगुनशमशेर राणा लगायत अधिकारीहरूको टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो।
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने तयारी गरिरहेको छ। तर, देशभित्रै अर्को निर्वाचन क्षेत्रका मतदातालाई आफ्नो नामावली भएको केन्द्र बाहेक अन्यत्र मतदान गर्न सकिने व्यवस्था भने गरिएको छैन।
घरबाट बाहिर रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मतदाताले मतदाता नामावली भएकै मतदान केन्द्रमा पुग्नुपर्ने बाध्यता अन्त्य गर्न माग गरेका छन्। संविधानसभाका पूर्वसदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले आफू बसिरहेको ठाउँबाट मतदान गर्न सक्ने व्यवस्था गर्न आयोगसँग आग्रह गरेका छन्।
उनले भने, “घर–परिवारबाट निकालिएका समलिङ्गी, तेस्रोलिंगी व्यक्तिहरूका लागि आफ्नै निर्वाचन क्षेत्रमा पुग्न सहज छैन। विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने कुरा भइरहँदा, आफ्नै देशमा बस्ने तर निर्वाचन क्षेत्रमा पुग्न नसक्ने समलिङ्गी, तेस्रोलिंगी र अपाङ्गता भएका मतदातालाई आफ्नो बसोबासस्थानकै नजिक मतदान गर्न सक्ने सुविधा दिनुपर्छ।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.