निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अनियमितता गर्नेको नामसहित पक्राउ गर्न कोनिकाको उजुरी

अनियमितता गर्नेको नामसहित पक्राउ गर्न कोनिकाको उजुरी

395
SHARES

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी कोनिका लामाले ब्लु डायमन्ड सोसाइटीभित्र फैलिएको व्यापक अनियमितता, अपारदर्शिता र व्यक्तिगत स्वार्थमा केन्द्रित गैरकानुनी गतिविधिको गम्भीर छानबिन गर्न माग गरेकी छन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयमा उजुरी दर्ता गर्दै सोसाइटीमा चलिरहेका भ्रष्टाचार, ठगी र आपराधिक काममा संलग्न व्यक्तिलाई नाम किटाएर पक्राउ गरी कानुनी कारबाही गर्न आग्रह गरेकी हुन्।

कोनिकाले उजुरीमा उल्लेख गरेअनुसार, ब्लु डायमन्ड सोसाइटी सीमित गुट, आफन्त र आसेपासेहरूद्वारा सञ्चालित अपारदर्शी संस्थामा परिणत भएको छ, जसमा अलोकतान्त्रिक प्रवृत्ति, वित्तीय अनियमितता र सत्ता–सन्तुलनको दुरुपयोग चरम रूपमा बढेको छ। उनले संस्थाभित्र “केटालाई केटी, केटीलाई केटा बनाउने” नाममा अवैध रूपमा हर्मोन औषधि (सुनौलो गुलाप चक्की) प्रयोग गराइने, र यो कार्य परिवार नियोजन सङ्घसँगको सहकार्यमा गैरकानुनी रूपमा चलाइएको गम्भीर आरोप लगाएकी छन्।

उनले ब्लु डायमन्ड सोसाइटीका वर्तमान अध्यक्ष अमिशा (उमेश) पाण्डे, पदमबहादुर निरौला र पिंकी गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेकी छन्। सोसाइटीमा आर्थिक अनियमितता, करछली र विदेशी सहयोग रकमको अपचलनका विषयमा उनीहरूले सीधा जिम्मेवारी लिनुपर्ने बताउँदै, कोनिकाले यिनीहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।


उनका अनुसार, देश–विदेशबाट सङ्कलित करोडौँ रुपैयाँ भ्रष्टाचार र हिनामिनामार्फत सीमित मुठ्ठीभर व्यक्तिको ऐसआराममा खर्च भइरहेको छ, जसको प्रत्यक्ष फाइदा वास्तविक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पाउन सकेको छैन। उनले भनिन्, “हाम्रो समुदायका धेरैजसो सदस्य सोझा, अल्पज्ञानी र असङ्गठित छन्, त्यसकै फाइदा उठाएर बाठा–ठूला भनिने केही व्यक्तिहरूले आर्थिक अनियमितता गरेका छन्।”

कोनिकाले ब्लु डायमन्ड सोसाइटीले सरकारलाई तिर्नुपर्ने कर र रोयल्टी नतिरी रकम लुकाउने, र सो रकमको धाकधम्की दिने गरेको पनि आरोप लगाएकी छन्। उनले उजुरीमा लेखेकी छन्, “यौनिक अल्पसङ्ख्यकको नाममा केही व्यक्तिहरूले आपराधिक कार्य गर्छन्, तर सजाय भने निर्दोष व्यक्तिलाई दिन खोजिन्छ। उनीहरूकै कारण निर्दोष समुदायका सदस्यले प्रहरी यातना, जेल सजाय र सामाजिक अपमान भोग्न बाध्य भएका छन्।”

उनले ब्लु डायमन्डमा नक्कली शेयर प्रमाणपत्र र भौचरहरू बनाएर रकम हिनामिना गरिएको तथ्य पनि उजुरीमा उल्लेख गरेकी छन्। संस्थाको वित्तीय लेनदेन र दस्ताबेजहरू नक्कली बिल–भौचरका माध्यमबाट चलाइएका भन्दै उनले रोक लगाउन माग गरेकी छन्।

कोनिकाले ब्लु डायमन्ड सोसाइटीलाई पारदर्शी, कानुनी र समावेशी दिशामा अघि बढाउन अब एक स्वतन्त्र न्यायिक संयन्त्र गठन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

समाचार शेयर गर्नुहोस्
395
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.