नेपालमा जन्मिएर अमेरिकामा विद्यालय शिक्षा लिएका वा बाबुआमा अमेरिका आएपछि जन्मिएका नेपालीका सन्तानलाई ९–१० वर्षको उमेर देखिनै अभिभावकले नेपाली केटा वा केटीसँग बिहे गर्नुपर्छ भनेर अदृश्य तर दरो दबाब दिन्छन्। विद्यालय, युनिभर्सिटी वा कार्यक्षेत्रमा भेटिएका आत्मीय मान्छेलाई बिहे गर्नु कि छोड्नु नेपाली नयाँ पुस्ता सधैँ दोधारमा हुन्छ। सानो समुदायमा कहिलेकाहीँ भेटिने नेपाली केटा वा केटी भाइबहिनी वा दाजु दिदीका मिल्ने साथी परिदिन्छन्। त्यसमाथि नयाँ पुस्ताले व्यक्तिगत कुरा गरेको थाहा पाउने बित्तिकै कानेखुसी चल्छ। डेटिङ जानै समस्या हुन्छ।
ह्यारिसवर्ग – अमेरिकी जनगणना ब्युरोले सन् २०२४ मा तयार पारेको अमेरिकी समुदाय सर्वेक्षण रिपोर्टका अनुसार झन्डै साढे ३३ करोड अमेरिकी जनसङ्ख्या मध्ये नेपालीको सङ्ख्या २ लाख २५ हजार मात्रै छ। यसमा अमेरिकामा बसिरहेका सबै नेपाली समावेश छैनन् किनकि यहाँ बसाइसराइको प्रक्रियामा रहेकाहरू र विद्यार्थीहरु यसमा पर्दैनन्। सम्पूर्ण अमेरिकी जनसङ्ख्यामा नेपालीको सङ्ख्या शून्य दशमलव ७ प्रतिसतको हाराहारी छ। यति थोरै जनसङ्ख्याबाट आफ्नो जीवन साथी खोज्नु नेपाली मूलका वयस्कहरूका लागि चुनौतीको विषय भइरहेको छ।
आफू ६ वर्षको हुँदा बुबालाई डिभी परेपछि अमेरिका आएका नेपाली युवा विकास अहिले २६ वर्षको भए। उनी अब को सँग बिहे गर्ने होला भनेर विक्षिप्त छन्। बा आमा नेपाली त्यो पनि बाहुनकी छोरीसँग बिहे गर्नुपर्छ भन्छन्। उनलाई अहिले मेक्सिकन अमेरिकन केटी मन परिरहेकी छ।
विद्यालय र युनिभर्सिटी पढ्दा सम्पर्कमा आएका अफ्रिकन र स्पेनिस मूलका दुई अमेरिकी केटीहरूसँग विकासको निकै दोस्ती थियो। आफ्नो संस्कृति र भाषा मिल्दैन भनेर उनले तिनीहरूलाई सरी भनिदिए। अब नेपाली केटी खोज्दा कस्तो पर्छ ठेगान छैन। आफूले मन पराएकालाई बाआमाले स्विकार्दैनन्। बा आमाले खोजेको बिहे गर्दा जीवन नै डामाडोल हुन्छ कि भनेर विकास चिन्तित छन्।
भुटानी शरणार्थी शिविर झापामा जन्मिएर पुनर्स्थापनासँगै अमेरिका आएकी कीर्ति (नाम परिवर्तित) अहिले २४ वर्षकी भइन्। मास्टर्स सक्नै लागेकी उनी अहिले ओहायो राज्यको एउटा प्रतिष्ठित संस्थामा काम गर्छिन्। बा आमाले वैष्णव धर्म अँगालेका छन्। उनी माछामासु खाँदिनन्। उनलाई त नेपाली त्यो पनि उपाध्याय ब्राह्मण र सकेसम्म वैष्णवसँग बिहे गर्नु पर्ने दरो दबाब छ।
कीर्तिले फेसबुक मार्फत नेपालको एक जना हिन्दु पुरेतको छोरासँग कुराकानी बढाउँदै लगेकी छन्। उनी भन्छिन् “त्यसले अमेरिका आउन पाइन्छ भनेर मीठा कुरा गरेको हो कि साँच्चै माया गर्छ वा पछि धोका दिन्छ कि दिँदैन जाँचेर मात्रै बिहे गर्न नेपाल जाने योजना छ।”
अमेरिकाका ५० वटै राज्यमा धेरथोर नेपाली बस्छन्। नेपालीहरू बढी बसोबास गरिरहेको राज्य टेक्ससमा १७ प्रतिशत नेपाली छन्। ओहायो, क्यालिफोर्निया, न्युयोर्क, पेन्सिल्भानिया राज्यमा तुलनात्मक रूपमा बढी नेपाली बसे पनि बिहे गर्नका लागि आफ्नो मन, विचार र उमेर मिल्दो जोडी पाउन सारै कठिन छ। ठुला सहरहरू मध्ये डल्लासमा २२ हजार, न्युयोर्कमा १८ हजार र डिसीमा १५ हजार नेपाली बस्छन्। त्यसमध्ये सीमित व्यक्ति मात्रै बिहे गर्ने उमेरका छन्।
अमेरिकी जनगणनाको तथ्याङ्क अनुसार नेपाली मूलका अमेरिकीको मध्यम उमेर ३१ वर्ष छ। ८ प्रतिशत नेपाली १८ वर्ष मुनिका र ५ प्रतिशत नेपाली ६५ वर्ष माथिका छन्। ५१ प्रतिशत नेपाली २५ वर्ष पुगेका छन्। यहाँका ७० प्रतिशत नेपालीको बिहे भैसकेको छ। यसरी हेर्दा अमेरिकाका केही राज्यमा बिहे गर्ने उमेरका नेपाली मूलका वयस्कको सङ्ख्या हजारको हाराहारीमा भए पनि कतिपय राज्यहरूमा त बिहे गर्ने उमेरका नेपाली ८–१० जना पनि छैनन्। यस्तोमा मन मिल्ने, जात मिल्ने, कूल परम्परा मिल्ने नेपाली जोडी खोज्नु नेपाली मूलका अमेरिकी युवाको लागि ठुलो चुनौती हो।
अझ नेपाली भित्र पनि कुन जातको भनेर सोधिन्छ। जात मिल्यो भने पनि फरक थर गोत्रको हुनु पर्यो। मावलीको थर गोत्र पनि मिल्नु भएन। यो सबै पार भएका नेपाली वयस्कहरू कुनै सहर वा राज्यमा एक दुई जना मात्रै हुन्छन्। त्यस्ता व्यक्ति पनि आफ्नै भाइबहिनी वा दिदी दाजुका साथीहरू पर्ने सम्भावना बढी हुन्छ। तिनीहरूलाई दिदीबहिनी वा दाजुभाइको नाताले हेरिएको हुन्छ।
बिहे, परिवार र सामुदायिकताबारे नेपालमा हुर्किएर अमेरिका आएका र अमेरिकामा हुर्किएकाको शोच पटक्कै मिल्दैन। अमेरिकी परिवार, समाज र कानुनले परिभाषा गर्ने बिहे र नेपाली मूलका अभिभावकको बिहेबारेको अवधारणामा आकाश जमिनको फरक छ। त्यही भएर बिहे गर्ने उमेरका नेपाली युवायुवती सकसमा छन्।
विकास भन्छन् “सबैले सबैलाई चिनेको कारणले हाँसेर बोल्यो कि चियोचर्चो सुरु हुन्छ, लभ पर्यो कि क्या हो भनेर कुरा काटिदिन्छन् अनि कसरी डेटिङ जानु!” नेपाली संस्कृति र परम्परा मान्ने ज्वाइँ वा बुहारी खोज्नैका लागि भनेर केही अङ्कलहरू धेरै नेपाली बसोबास गर्ने राज्यमा बसाई नै सरेको विकास बत्ताउँछन्।
अमेरिकामा बिहे गर्न समस्या भयो भनेर नेपाल गएर बिहे गर्दा धोका पाएकाहरूको कथा व्यथा झन् भनी साध्थे छैन। न्युयोर्क राज्यमा बस्ने एक ब्राह्मण परिवारले धेरै चाँजोपाँजो मिलाएर छोरीलाई नेपाल लगे, कूलघरान हेरेर बिहे गरिदिए। बिहे खर्च र भोज ठुलै भयो। बिहेको तीन वर्षमा कागजात मिलाएर नेपालबाट ज्वाइँ न्युयोर्कको एयरपोर्ट ओर्लिएको दिन छोरी स्पेनिस अमेरिकन प्रेमीसँग बस्न गइदिइन्। परिवारले ज्वाइँलाई स्वागत गरे। केही वर्षमा ग्रिन कार्डको प्रक्रिया पुरा भएपछि ती ब्राह्मण परिवारले ज्वाइँको दोस्रो बिहे गरी दिएका छन्।
अर्को घटना: मेरिल्यान्डमा एक नेपाली युवतीका अभिभावकले नेपाली मूलको केटासँग गरिदिएको बिहे लामो समय टिकेन। युवतीले नेपाल गएर अनलाइनमा भेटिएको केटासँग धूमधाम बिहे गरिन्। हजारौँ डलर बिहे खर्च उनले नै तिरिन्। नेपालमा डिभोर्स भएको भनिएका ती पुरुषले अमेरिका आए देखिनै नेपालमा पठाउनु पर्छ भन्दै पैसा माग्न थाले। पछि ती पुरुषको नेपाली प्रेमिका अमेरिकामा विद्यार्थी भिसामा आइपुगिन्। अहिले डिभोर्सको प्रक्रिया सकेर ती पुरुष विद्यार्थी भिसामा आएकी युवतीसँग बिहे गरेर बसेका छन्।
बिहे, परिवार र सामुदायिकताबारे नेपालमा हुर्किएर अमेरिका आएका र अमेरिकामा हुर्किएकाको शोच पटक्कै मिल्दैन। अमेरिकी परिवार, समाज र कानुनले परिभाषा गर्ने बिहे र नेपाली मूलका अभिभावकको बिहेबारेको अवधारणामा आकाश जमिनको फरक छ। त्यही भएर बिहे गर्ने उमेरका नेपाली युवायुवती सकसमा छन्।
अमेरिकी विद्यालयमा पढेकाहरूको बिहे र परिवारबारेको अवधारणा र नेपालमा उच्चशिक्षा पढेर अमेरिकामा बिहे गरेर आउन चाहनेहरूको बिहेबारेका अवधारणासँग पनि मिल्दैन। नेपालमा “विवाह बन्धन” मा बाँधिने कुरा हुन्छ। सात जुनीसम्म साथै जिउने मर्ने भनिन्छ तर अमेरिकामा विवाह दुवै जनालाई सजिलो अनुभव हुँदासम्म सँगै बस्ने, दुवैलाई मन लागेमा सन्तान जन्माउने, दुवैले हुर्काउने अनि मन नलागेको दिन सजिलै छुट्टिने अवधारणा हुन्छ।
सय वर्ष अघिसम्म अमेरिकामा पनि अहिले नेपालमा जस्तै विवाह भनेको आर्थिक र सांस्कृतिक कारणहरूको साथ परिवारहरूबिचको व्यवहारिक व्यवस्था मानिन्थ्यो तर अहिले यो व्यक्तिगत व्यवस्था हो। अहिले अमेरिकामा विवाह भनेको कानुनी हिसाबले दुई व्यक्तिको मिलन हो। यो पारस्परिक सहमति र कानुनी सम्झौतामा अडेको हुन्छ। अमेरिकामा विवाह पारिवारिक व्यवस्थाको रूपमा छैन। बिहे नगरी बच्चा जन्माउने वयस्कको सङ्ख्या धेरै छ भने विवाह अघि पूर्ण सहमतिका साथ सहवास गर्नुलाई सामान्य रूपमा लिइन्छ।
बिहे गरेर दुलाहा दुलहीको घरमा जाने वा दुलही दुलाहाको घरमा आउने चलन र शोच अमेरिकामा छैन। केटा केटी दुवैले सहमतिका साथ कानुनी अधिकार सहित विवाह गरेर नयाँ जिन्दगी सुरु गर्ने र सहमति नभएको दिन त्यो विवाह तोडेर अर्को जिन्दगी थाल्नुलाई सामान्य मान्ने परम्परा छ।
अधिकांश अमेरिकीहरूले नेपालमा भनिने “अरेन्ज्ड म्यारिज” अर्थात् बाबुआमा वा आफन्तले केटा वा केटी खोजेर गरिदिने विवाहलाई “र्फोस्ड म्यारिज” अर्थात् बलजफती गरिदिएको विवाह भनेर बुझ्दछन्। यहाँ बिहे गर्न आफैँले केटा वा केटी खोज्नुपर्छ। प्रस्ताव गर्नुपर्छ। स्वीकार गर्नुपर्छ। डेटिङ जानुपर्छ। अनि मात्रै बिहे गरिन्छ।
धर्म संस्कृति नजोडिएको यस्तो व्यक्तिगत विवाहको सुरुवात बेलायतमा सन् १८३६ बाट भएको हो। त्यसको झन्डै सय वर्ष पछि सन् १९२९ सम्म आउँदा अमेरिकाका सबै राज्यहरूमा बिहेको लागि कानुनी लाइसेन्स दिने व्यवस्था भैसकेको थियो। अमेरिकामा सन् १९१३ देखि नै ट्याक्स फिर्ता प्रयोजनका लागि श्रीमान् श्रीमतीले संयुक्त निवेदन दिनुपर्ने व्यवस्था लागु भएको थियो। यसरी हेर्दा अमेरिकामा नागरिक विवाह अर्थात् व्यक्तिगत विवाहको सुरुवात भएको १०० वर्ष पुग्नै लागेको छ भने बेलायतमा दुई सय वर्ष पुग्नै लाग्यो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.