निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको राजनीतिक उदय

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको राजनीतिक उदय

387
SHARES

काठमाडौँ – मायाको पहिचान नेपालले लगातार मतदाता नामावलीमा नाम दर्ता नगर्नुहुने सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको मतदाता नामावलीमा नाम दर्ता गर्दै आएको छ। यसै क्रममा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि निर्माता तथा कलाकार हट्टीनट्टी श्रेष्ठले हाम्रो मायाको पहिचान कार्यालयमा आएर मतदाता नामावलीमा आफ्नो नाम सुरक्षित गर्नुभयो।

के तपाईँले आफ्नो मतदाता नामावलीमा नाम दर्ता गर्नुभयो त? यदि गर्नुभएको छैन भने छिटै गर्नुहोला है।

दक्षिण एसियामै पहिलो पटक कानुनी रूपमा समलिङ्गी विवाह स्थानीय तहमै दर्ता गराउन सफल माया गुरुङ, जेनजी युवा बाबुधुमी राई र हट्टी नट्टीको तस्बिर पोस्ट गर्दै यही आग्रह गरेको हो मायाको पहिचान नेपालले।

२०८४ सालमा हुने भनिएको चुनाव २०८२ को फागुन २१ गतेका लागि तोकिएपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय चुनावमा होमिएको छ। मतदाता नामावलीमा नाम दर्ता र दल दर्ताको तयारी तीव्र बनाएको छ यो समुदायले। जसको नेतृत्वदायी भूमिकामा छन् संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्त।

मतदाता नामावलीमा नाम दर्ता नगरेका समुदायका व्यक्तिहरूलाई कार्यालयमै बोलाएर फारम भर्न सहयोग गरेको छ मायाको पहिचान नेपालले। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय मताधिकारबाट वञ्चित हुनु हुँदैन भन्ने ध्येयले मायाको पहिचान नेपालले स्वयंसेवकहरू पनि खटाएको छ।

पन्तको नेतृत्वमा समुदाय पुनः जागृत बनेको छ। ब्लु डायमन्ड सोसाइटी स्थापना गर्दा देखि भरखर खुलेर आएका जेनजी युवाहरूको साथ पाएपछि पन्त पनि उत्साहित भएका छन्। पुनः एक पटक पन्तको नेतृत्वमा समुदाय गोलबद्ध भएको छ।

“ब्लु डायमन्ड भनेकै पन्त र पन्त भनेकै ब्लु डायमन्ड” भन्ने धारणा पुनः प्रतिध्वनित भएको छ। पन्तकै सल्लाहमा समुदायका सदस्यहरूको भेलाले तेस्रोलिंगी नुमा लिम्बु (चञ्चला) को अध्यक्षतामा पहिलो राजनीतिक दल घोषणा गरेको छ, जसको नाम समावेशी समाजवादी पार्टी २०८२ राखिएको छ।

समावेशी समाजवादी पार्टीले फागुन २१ कै चुनावमा भाग लिने गरी दल दर्ताका लागि निर्वाचन आयोगसँग परामर्श गरिरहेको जनाएको छ। पार्टीको विधान, नियमावली र घोषणापत्र राष्ट्रिय भेला मार्फत सार्वजनिक गरिएको छ। आयोगको ढाँचामा दल दर्ताको निवेदन दिने तयारी पनि पार्टीले गरेको छ।

संस्थाका नयाँ–पुराना अधिकांश सदस्यहरू मायाको पहिचान नेपालमा पुगेपछि, नीति निर्माण तहमा पहिचान स्थापित गर्नभन्दा विवाद निकाल्न खप्पिस हालको नेतृत्वले पुराना तस्बिर राखेर ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ देखाइरहेको छ।

नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पहिलो पटक आफ्नै नयाँ राजनीतिक दल गठन गरेका हुन्। पार्टीमा महिला र अपाङ्गता भएका व्यक्तिहरूको पनि सक्रिय सहभागिता रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीबाट अबको संसदमा पुग्न सुझाव पाएकी पुर्णदृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईं पार्टीकी प्रवक्ता तोकिएकी छन्।

यो पनि : प्रधानमन्त्री कार्कीको सन्देश : “प्रतीक्षा जस्ता युवाले अब देश हाँक्नुपर्छ”

निर्वाचन आयोगले पार्टीले माग गरेको बज्र चुनाव चिन्ह दिन नसकिने बताएपछि अर्को चिन्हमा छलफल भइरहेको पार्टीले जनाएको छ। “साइबरनेटिक लोकतान्त्रिक सङ्घीयता” को अवधारणासहितको घोषणापत्र २०८२ मा राज्यको शक्ति सिंहदरबारबाट होइन, टोल र वडाबाट सञ्चालन हुने उल्लेख गरिएको छ।

प्रविधि र करुणामा आधारित लोकतन्त्र निर्माण गर्ने र शक्ति ‘नेतामा होइन, जनतामा’ हुने पार्टीको घोषणापत्र सार्वजनिक भइसकेको छ। “अब नयाँ राजनीति निर्माण गर्ने समय आएको छ,” अध्यक्ष चञ्चलाले बताइन्।

“हामी नागरिक हौँ, हामी मतदाता हौँ, र अब हामी नेतृत्वकर्ता पनि हौँ,” समावेशी समाजवादी पार्टीले आह्वान गरेको छ,“आउनुहोस्, प्रविधि–मैत्री, करुणामूलक र समतामूलक नेपाल निर्माणमा सहभागी बनौँ!”

पन्त आफैँले स्थापना गरेको ब्लु डायमन्ड सोसाइटीबाटै समुदायको राजनीतिक सहभागिता गराउन चाहन्थे। तर समुदायलाई नै शोषित गरेको गम्भीर आरोपमा जवाफविहीन बनेको नेतृत्वले पाइला राख्न खोज्दा झगडा गरेर रोकिदियो।

गत साउन १४ गते पन्तसहितका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू ब्लु डायमन्डको पन्तले निर्माण गरेको धुम्बाराहीस्थित भवन पुगेका थिए।

यो भिडियो हेर्नुहोस्।

पन्तको बहिर्गमनपछि ब्लु डायमन्डले हरेक वर्ष गाईजात्रा पर्वमा दृश्यता देखायो। यो परम्परा पनि पन्तकै सुरुवात हो। देखिने काम केही नभएपछि गाईजात्रालाई कोरोना महामारीबाहेक निरन्तरता दिइरह्यो ब्लु डायमन्डले। तर वैवाहिक अधिकारदेखि राजनीतिक सहभागितासम्मका गतिविधि बन्द कोठामा सीमित पारिए।

२०७० मै समुदायका सदस्यहरूले छुट्टै राजनीतिक दल दर्ता गर्न हस्ताक्षर सङ्कलन गरेका थिए। “त्यतिबेला अहिले जस्तो कठिन अवस्था थिएन,” पार्टीकी सचिव सञ्जीवनी लामा (सन्ध्या) भन्छिन्, “अहिले आएर सुनिल बाबु पन्तको योजना कार्यान्वयन हुन लागेको छ।”

ब्लु डायमन्डको नेतृत्वले अझै पनि छलकपट गर्न छोडेको छैन। संस्थाका नयाँ–पुराना अधिकांश सदस्यहरू मायाको पहिचान नेपालमा पुगेपछि, नीति निर्माण तहमा पहिचान स्थापित गर्नभन्दा विवाद निकाल्न खप्पिस हालको नेतृत्वले पुराना तस्बिर राखेर ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ देखाइरहेको छ।

तेस्रोलिंगी पहिचान तिरस्कार गर्दै जन्मिँदा बालक भए महिलाको र बालिका भए पुरुषको नागरिकता दिलाउने विवादास्पद गतिविधिका कारण ब्लु डायमन्ड नेतृत्वबाट पूर्व झापादेखि पश्चिम कैलालीसम्मका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले साथ छोडेका छन्।

नेपालमा पहिलो पटक अन्य पहिचानमा राहदानी लिन सफल मोनिका शाही पनि पन्तकै नेतृत्वमा चुनावी अभियानमा सक्रिय भएकी छन्। पहिलो पासपोर्ट लिए पनि ब्लु डायमन्डले अवसर भने भूमिका श्रेष्ठलाई दिएको उनले मिडियामार्फत बारम्बार सार्वजनिक गरेकी छन्।

ब्लु डायमन्ड नेतृत्वमाथि शेयर रकम ठगी, युएसएआइडीले एचआइभी परियोजनाका लागि दिएको ८ करोड रकम गायब बनाएको, नेपाली पहिचानमा पश्चिमी संस्कृतिको अन्धानुकरण गर्दै बच्चा र श्रीमती भएका विवाहित व्यक्तिको शल्यक्रिया गराएको, जथाभाबी हर्मोन खान उक्साएको, समुदायका सदस्यहरूलाई बाहिर राखेर मात्र साधारणसभा गर्ने, र पालैपालो नेतृत्वमा बस्ने जस्ता आरोप लाग्दै आएका छन्।

यी आरोपको जवाफ नदिएपछि समुदायले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेको छ। आयोगले पहिलो पटक ब्लु डायमन्डबाट सूचना प्राप्त नभएपछि पुनः सात दिनको अतिरिक्त म्याद दिएर पत्र पठाएको छ।

आयोगका अनुसार त्यसको पनि जवाफ नआए ब्लु डायमन्ड सोसाइटी कालोसूचीमा पर्नेछ। कालोसूचीमा परेपछि जरिवानाको कारबाही जिल्ला प्रशासन कार्यालयमार्फत असुल गरिने आयोगले जनाएको छ।

अब ब्लु डायमन्डको नेतृत्वरूपी समूहले संस्थाको बदनाम गराउने कि माग गरिएको सूचना दिएर कानुन कार्यान्वयन गर्ने? यही नै अहिलेको परीक्षा बनेको छ।

यसको मूल्याङ्कन देशभरका समुदायका सदस्यहरूले गरिरहेका छन्। उजुरीकर्तालाई झुटा आरोप लगाएर फसाउने षड्यन्त्र विफल भएपछि अब ब्लु डायमन्डको नेतृत्व कुन रणनीतिमा अघि बढ्छ भन्ने कुरा समुदायले नजिकबाट नियालिरहेको छ।

अनियमितता गर्नेको नामसहित पक्राउ गर्न कोनिकाको उजुरी

समाचार शेयर गर्नुहोस्
387
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.