"/>
ललितपुरको कोन्ज्योसोम गाउँपालिका १२७ वर्ष पुरानो १७ झ्याल पाहुना घर, गुप्तेश्वर गुफा, तामाङ पदमार्ग र त्रिदेव कथासहित उपत्यकाको ‘सबैभन्दा नजिकको सम्भावित सांस्कृतिक पर्यटन गन्तव्य’ बन्न खोज्दै सिंहदरबारको ढोका ढकढकाइरहेको छ।
राजधानी भित्रकै जिल्ला भएर पनि ललितपुरको कर्णाली उपनाम समेत दिइने महाङ्काल गाउँपालिकाको छिमेकी कोन्ज्योसोम संवृद्धिका लागि सिंहदरबारसँग गुहार मागिरहेको छ। स्थानीय कला–संस्कृतिको जर्गेना गर्दै आन्तरिक पर्यटक आकर्षित गर्न सकिने सम्भावना देखिएकाले कोन्ज्योसोमले विकासका आधार संरचना मजबुत पार्न माग गरिरहेको छ।
ललितपुरको सातदोबाटोबाट मात्र २२ किलोमिटर दुरीमा रहेको भारदेउले आम्दानी गर्न सकिने क्षेत्र पहिचान गरेको छ। बास बस्नका लागि १७ झ्याल पाहुना घर निर्माण गरिएको छ, जुन घर १२७ वर्ष पुरानो भएको दाबी गरिएको छ। पिँडीमा जुत्ता खोलेर बुइकलमा सुत्न पुग्ने गरी १७ झ्याल पाहुना घरलाई सजाइएको छ।

भारदेउ पुग्नेहरूलाई १७ झ्यालको आतिथ्यता लोभ्याउने खालको छ। १७ झ्यालको कथा छोरी माग्न दाप्चा पुग्दाको घटनासँग जोडिएको छ। १२७ वर्ष अघि भारदेउमा खरले छाएको एक तले मात्रै घर थिए। दाप्चामा छोरी माग्न गएको घर दुईतले रहेछ। त्यही घरबाट झ्यालको डिजाइन ल्याएको सुनाउँछन् पाहुना घरका धनी लाल बहादुर मोक्तान। छोरालाई बुहारी माग्न गएका उनका बाजेका पनि बाजेले घर बनाउने तर, राणासँग अनुमति लिएर खबर गर्ने भनेर फर्केछन्।
राणासँग अनुमति लिने, काठ ल्याउने मात्रै होइन, दाप्चाली घरका झ्यालको डिजाइन अनुसार गोदावरीका कालिगढ झिकाएर १७ झ्यालको घर निर्माण गरेपछि मात्रै बुहारी भित्र्याएको सुनाउँछन् मोक्तान। उनी पाँचौ पुस्ता हुन् भने घर देख्ने छैटौँ पुस्ता आइसकेको छ।

२०५२ सालमा माओवादीले थालेको सशस्त्र युद्धअघि पाहुना घरलाई आन्तरिक पर्यटकको स्वागत गर्न भ्याइनभ्याई हुन्थ्यो। द्वन्द्व चर्कँदै गएपछि पाहुना पनि घट्दै गए। अहिले बाजेले निर्माण गरेका पुरातात्त्विक सम्पदाहरूको संरक्षणमा जेनजी पुस्ता सक्रिय भएको छ। युवा पुस्तामा आएको जागरणले १७ झ्याल पाहुना घर पनि उज्यालो बनेको छ।
सिङ्गो कोन्ज्योसोम गाउँपालिकामा ८० प्रतिशत बसोबास तामाङ समुदायको छ। स्थानीय तामाङ संस्कृतिको जर्गेना गर्ने पहल पनि भइरहेको छ। कोन्ज्योसोमको भारदेउ वडा नं ५ को कार्यालयको टेबल र भित्तामा डम्फु राखेर तामाङ संस्कृति संरक्षणको प्रयास गरिएको छ।

भारदेउ आन्तरिक पर्यटकलाई स्वागत गर्न तम्तयार भएर बसेको छ। स्थानीय कला–संस्कृतिलाई जगेर्ना गर्दै आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले कोन्ज्योसोम प्रतिमा निर्माण गरिएको छ, जहाँ गुप्तेश्वर गुफा भनेर चिनिन्छ। बुद्ध जयन्तीको दिन ठुलो मेला लाग्ने गरेको वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष कुमार तामाङ बताउँछन्।
प्रचारप्रसारको कमीले गर्दा आन्तरिक पर्यटक भित्र्याउन नसकेको जनप्रतिनिधिहरूलाई लागेको छ। कोन्ज्योसोमलाई त्रिदेवको रूपमा लिइने गरिएको कार्यवाहक वडा अध्यक्ष तामाङले सुनाए।
गाउँपालिकाले संरचना निर्माण गर्यो। तर, त्यसलाई उपयोग गर्नेमा सक्रिय भएनन्। तामाङ समुदायको बाहुल्यता रहेको पालिकाले तामाङ पदमार्ग पनि निर्माण गरेको छ, जुन पदमार्गबाट कोन्ज्योसोम प्रतिमा निर्माण गरिएको फूलबारीमा पुग्न सकिन्छ।
गुप्तेश्वर पुग्नका लागि पदमार्ग मात्र विकल्प भने होइन, मोटरबाटो पनि प्रतिमा स्थलसम्मै पुर्याइएको छ। कोन्ज्योसोम प्रतिमा स्थल वरपर नै बसोबासको व्यवस्था गराउने पहल भइरहेको बताउँछन्, पालिकाका पूर्वअध्यक्ष गोपीलाल सिंतान।
कोन्ज्योसोमले काभ्रपलाञ्चोकको भगवान् विष्णु लुकेर बस्ने ठाउँ नारायणथानसम्म, कालले पनि तपस्या गरेको कालेश्वरमा पदमार्गले कनेक्ट गर्ने योजना सुनाएको छ।
भारदेउको नाम अपभ्रंश भएर भागदेउबाट बनेको किंवदन्ती पनि छ। गुप्तेश्वरमा महादेव तपस्यामा लिन भएर बसिरहँदा मान्छे पुगे। मान्छेले महादेव भनेर बोलाए। तपस्यामा बसेका महादेव मान्छेसँग बोल्नुपर्छ भनेर हिँडे। मान्छे महादेवलाई बोलाउँदै पछि लाग्यो। महादेवचाँही मान्छेले डिस्टर्ब गर्ने भयो भनेर भागेर हराइसकेपछि यो ठाउँ देउतै भाग्ने ठाउँ भयो। देउतै भागे, अब भाग्देऊ राखिदिऊँ भनेर गाउँको नाम नै भाग्देऊ राखेको रहेछ प्राचीन कालमा।
मानववस्ती बाक्लिँदै गएपछि भाग्देऊ भन्ने गाउँको नाम नराखौँ भन्ने सहमति भएछ र भारदेउ राखौँ भनिएछ। यसको अर्थ के हो भने, भार भनेपछि गाउँको नाम देउको अर्थ देउता बसेको ठाउँ।
कोन्ज्योसोम प्रतिमा नजिकै रहेको गुप्तेश्वर महादेवको मन्दिर छ। मन्दिर गुफा भित्र छ। गुफा भित्र रहेको मन्दिर दर्शन गर्न दर्शनार्थीहरु पुग्ने गर्छन्। हरेक गुफाको द्वारमा जस्तै गुप्तेश्वर मन्दिर पुग्ने र तल त्रिशूल देखियो भनेर फर्किनेहरूलाई स्थानीयले सहजीकरण गरेर दर्शन गराउँछन्। वैशाख पूर्णिमामा स्वयंसेवक नै खटिन्छन्।
गुफा भित्र बसेका महादेवको दर्शन गरेर गुफा भित्रैबाट काभ्रेपलान्चोकको पनौती निस्कने गर्थे रे भन्ने सम्मको किंवदन्ती छ। पनौती जाने गुफालाई भने त्रिशूल नै त्रिशूल राखेर बन्द गरिएको छ।
बिहान सबेरै गुप्तेश्वर दर्शन गर्न पुग्नेहरूले हिउँले सेतै फुलेका हिमाल देख्न सक्छन्। जहाँबाट काठमाडौँ कुहिरोले ढप्पकै ढाकेको काेन्ज्याेसाेम प्रतिमा पुग्दा देख्न सकिन्छ। जङ्गलको एकल यात्रामा भने बाघ भालुको डर हुने स्थानीय अमर लामा बताउँछन्।
आन्तरिक पर्यटक आकर्षित गर्न कोन्ज्योसोमले गुम्बा निर्माणका लागि सरकारी दररेट कायम गराउन सफल भएको छ। संविधान जारी भए पछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा विजयी भएका निवर्तमान अध्यक्ष सिंतान प्रतिमा निर्माण एवं तामाङ पदमार्ग निर्माण गर्न सफल भए।
गाउँपालिकालाई पर्यटन प्रवर्द्धन गर्न युवाहरूले योजनै योजना बुझाएका छन्। आफ्नै पहलमा प्रचारप्रसार गर्दै भारदेउ पुग्ने पाहुनाहरूलाई युवाहरूले गाइड गर्दै आएका छन्।
काठमाडौँमा उकुसमुकुस भएको जनसङ्ख्यालाई आकर्षित गर्ने योजना पालिकाभित्रका युवाहरूले बनाएका छन्। युवाहरू नै आन्तरिक पर्यटक आकर्षित गर्न कम्मर कसेर लागेका छन्। भारदेउका युवा सुरेन्द्र श्रेष्ठ बजेट अभावमा योजना अघि बढाउन नसकिएको सुनाउँछन्।
आन्तरिक पर्यटन प्रवर्द्धनको योजनामा तीनै तहका सरकारले सहयोग गरेमा काेन्ज्याेसाेममा विकासको लहर आउने विश्वास स्थानीय युवाहरूको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.