फ्लडलाइटको उज्यालोमा एनपीएल, दर्शक दङ्ग

फ्लडलाइटको उज्यालोमा एनपीएल, दर्शक दङ्ग

395
SHARES

काठमाडौँ – नेपाली खेलकुदको महासङ्ग्राम नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ। नेपाली क्रिकेट इतिहासमै पहिलो पटक १० हजार दर्शक क्षमताको पारापेटमा बसेर फ्लडलाइटमुनि खेलाइएको प्रतियोगितामा काठमान्डु गुर्खाजले विजयी सुरुवात गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डुले विजयी सुरुवात गरेको हो।

जितका लागि जनकपुरले दिएको १३१ रनको मध्यम लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। काठमान्डुको जितमा बेन जेफ्री चाल्र्सवर्थले सर्वाधिक ४६ रनको योगदान गरे।

आकाश त्रिपाठीले ३९ तथा लिन्द कुमारले १९ रन जोडे। जोन सिम्पसनले १३ रन जोड्दा भीम सार्की ३ रनमा समेटिए। त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको जनकपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो।

जनकपुरका लागि आशिफ शेखले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५४ रनको योगदान गरे। ४१ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे। मयन यादवले अविजित ३१ तथा लाहिरु समाराकुनले २२ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

लाहिरु मिलान्थाले ७ तथा सञ्जय कृष्णमुर्ति र जान निकोलले २–२ रन बनाए। कप्तान अनिल शाहले खाता नै खोल्न सकेनन्। बलिङतर्फ मिलन्द कुमारले सर्वाधिक ३ विकेट लिए। एनपीएलको यो दोस्रो संस्करण प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरिन्।

तस्बिर : प्रधानमन्त्री सुशीला कार्कीको सचिवालय

उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो। पहिलो सिजनमा रुखमाथि चढेर क्रिकेट हेरेका दर्शकहरू यसपटक सिटमा बसेर फ्लडलाइटको उज्यालोमा बसेर क्रिकेट हेर्न पाउँदा दङ्ग परे।

टिकट बिक्री भएको २४ घण्टा नबित्दै सबै टिकट बिक्री भएपछि नेपाल क्रिकेट सङ्घ क्यानले घरमै बसेर टेलिभिजनबाट एनपिएल हेर्न आग्रह गरेको थियो। तर सबै टिकट बिक्री भएको क्यानले दाबी गरे पनि मैदानमा दर्जनौँ सिट खाली देखिएका थिए।

चुस्त सुरक्षा व्यवस्थाकाबीच एनपीएलको उद्घाटन खेल सफलताका साथ सकिएको छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्। जसमा ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुनेछन्।

प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली सहभागी छन्।

एनपीएलको प्रत्यक्ष प्रसारण नेपालमा कान्तिपुर म्याक्स टिभी तथा नेपाल बाहिर स्टार स्पोर्टसबाट हेर्न सकिनेछ। प्रतियोगिता अन्तर्गत मङ्गलवार दुई खेलहरू हुनेछन्।

बिहान ११ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो ४ बजे हुने दोस्रो खेलमा विराट नगर किङ्स र पोखरा एभेन्चर्सबीच प्रतिस्पर्धा हुनेछ। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा सुरु भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्ने छ।

समाचार शेयर गर्नुहोस्
395
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.