काठमाडौँ – बन्दुकको नालबाट परिवर्तन खोज्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’को राजनीतिक यात्रामा महत्त्वपूर्ण मोड आएको छ। अब उनले बन्दुक बोक्ने हातमा गुलाबको फूल बोकेर लोकतान्त्रिक अभ्यासमा प्रवेश गर्ने घोषणा गरेका छन्।
‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पहिलो पटक आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन लागेको हो। यसअघि विगतका सबै निर्वाचन बहिष्कार गर्दै आएको यो समूहले पहिलोपटक निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेको छ। प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएको यस पार्टीलाई आयोगले गुलाबको फूल चुनाव चिन्ह प्रदान गरेको छ।
दल दर्ता प्रमाणपत्र र चुनाव चिह्न लिन ‘विप्लव’सहितका नेताहरू बाजागाजासहित आयोगको परिसर पुगे। आयोगमा दर्ता हुने दलको सङ्ख्या यससँगै १२५ पुगेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको तत्कालीन माओवादी युद्धमा सक्रिय भूमिका निभाएका विप्लव हालसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बनेका थिएनन्। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनी कुनै क्षेत्रबाट चुनाव लडेनन्, बरु पछि प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भए।
कपिलवस्तु क्षेत्र नं–३ बसोबास गर्दै आएका विप्लवको पुर्ख्यौली घर रोल्पाको लिवाङ हो। २०७४ सालको प्रतिनिधिसभा चुनाव विप्लव नेतृत्वको पार्टीले बहिष्कार गरेको थियो।
निर्वाचन आयोगले चुनावमा सहभागी हुन प्रतिनिधिसभातर्फ मङ्सिर १० गतेसम्म र राष्ट्रिय सभातर्फ मङ्सिर ७ गतेसम्म दल दर्ता निवेदन दिनुपर्ने समयसीमा तोकेको छ। दर्ता प्रमाणपत्र पाएको विप्लव माओवादीले अब निर्वाचन प्रयोजनका लागि औपचारिक निवेदन दिनेछ।
प्रवक्ता भट्टराईका अनुसार प्रतिनिधिसभातर्फ १५ दल र राष्ट्रिय सभातर्फ ४ दलले भाग लिन निवेदन दिएका छन्।
दल दर्तापछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘नेताहरूले स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष निर्वाचन गराउनु सरकारको जिम्मेवारी भए पनि त्यसलाई सफल तुल्याउने दायित्व राजनीतिक दलकै काँधमा रहने टिप्पणी गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनमा भाग लिएर मतदाताको मन जित्न राजनीतिक दलहरूलाई आह्वान गरे।
यस्तै, दल दर्ताका लागि आयोग पुगेका नेपाल मानवतावादी पार्टीका अध्यक्ष मेघबहादुर कामीले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन आफूहरू आतुर रहेको बताए।
बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले प्रदेशदेखि स्थानीय तहसम्म सबै जिल्लामा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.