काठमाडौँ – ठगी तथा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अन्तर्गतको कसुरमा प्रभु म्यानेजमेन्ट प्रा.लि.का पूर्व शेयरधनी हेम कुमार महाजु पक्राउ परेका छन्। उनी कम्पनीका हालका सहायक लेखा प्रमुख समेत हुन्।
ठाकुर प्रसाद मानन्धरलगायतको जाहेरीपछि दायर मुद्दामा नेपाल सरकार वादी र कुसुम लामा प्रतिवादी छन्। उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी मुद्दा दायर भएको छ।
अनुसन्धानका क्रममा सङ्कलित प्रमाणमा प्रभु म्यानेजमेन्ट प्रा.लि.को नाममा सञ्चालित सिटिजन्स बैङ्कको खातामा शङ्कास्पद रूपमा रकम जम्मा भएको देखिएको छ।
विभिन्न व्यक्तिहरूको नामबाट रू. १०,००,०००/- नबढ्ने गरी ९,९९,५०० रुपैयाँ समेतका दरले पटक पटक शंकास्पद रूपमा रकम जम्मा भएको पाइएको छ। रेमिट कारोबारमा कम्पनीलाई ‘आउटवर्ड रेमिट’ मात्र गर्नुपर्ने व्यवस्था छ। तर एकै दिनमा पटक–पटक शङ्कास्पद रकम जम्मा भएको प्रमाण भेटिएको छ।
रेमिट कारोबारको आवरणमा नेपालमा आउने विप्रेषण रकम हुन्डीमार्फत प्राप्त गरी हिसाब मिलान गरिएको छ। यसमा प्रभु म्यानेजमेन्ट प्रा.लि.का केही कर्मचारीको संलग्नता देखिएको अनुसन्धानले जनाएको छ।
यही क्रममा कम्पनीका पूर्व शेयरधनी तथा खातामा हस्ताक्षरकर्ता मध्येका एक हेम कुमार महाजुलाई पक्राउ गरिएको हो। उनको स्थायी घर काभ्रेको पनौती नगरपालिका–८ हो। उनी हाल ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलमा बस्दै आएका थिए।
प्रहरीको विशेष टोलीले उनलाई टौखेलबाट नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए। उनीविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.