काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले मतदाता नामावली दर्ताको काम सम्पन्न गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दर्ता तथा अद्यावधिक प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
आयोगले कार्तिक ३० गतेसम्मको समय दिएर मतदाता नामावली दर्ता सुरु गरेको थियो। मतदाताको उत्साहजनक सहभागितालाई सम्बोधन गर्न आयोगले नामावली दर्ताको समय मङ्सिर ५ सम्म थपेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आग्रहमा आयोगले पहिलो पटक २७ कार्तिकदेखि राष्ट्रिय परिचयपत्रमार्फत घरमै बसेर अनलाइन नामावली दर्ता सुरु गरिएको थियो।
मङ्सिर ५ गते एकै दिन ७ हजार ८६२ नयाँ मतदाता थपिएका छन्। पुरुष ४ हजार ४०, महिला ३ हजार ८१९ र अन्य ३ जनाले नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ।
निर्वाचन आयोगको कार्यालयमा पुगेर नाम दर्ता गराउने र राष्ट्रिय परिचयपत्रबाट नाम दर्ता गराउने गरी जम्मा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएको आयोगको तथ्याङ्कमा उल्लेख छ। राष्ट्रिय परिचयपत्रबाट नामावली दर्ता गराउने मतदाता ४ लाख ९२ हजार १८० जना रहेका छन्।
निर्वाचन कार्यालयमा पुगेर नामावली दर्ता गराउने मतदाता ३ लाख ४४ हजार ९१४ जना रहेका छन्। तीमध्ये १ लाख ९२ हजार ८९० पुरुष, १ लाख ५१ हजार ९८० महिला र ४४ अन्य लैङ्गिक पहिचानका मतदाताले नाम दर्ता गराएका छन्।
फागुन २१ को चुनावका लागि नाम दर्ता गर्न दिएको ३० कार्तिकसम्म ५ लाख २७ हजार ६३७ मतदाताले नामावली दर्ता गरेका थिए। सोही दिन १७ हजार ४६१ जनाले नामावली दर्ता गराएका थिए।
नामावली दर्ता तथा अद्यावधिक कार्य शीघ्र सहजीकरण कार्य टोलीका संयोजक उपसचिव कुल बहादुर जि.सी.का अनुसार राष्ट्रिय परिचयपत्रबाट २ लाख ८० हजार ३६५ पुरुष, २ लाख ११ हजार ७९८ महिला र १७ अन्य लैङ्गिक पहिचानका मतदाताले नामावली दर्ता गरेका छन्।
अब निर्वाचन अवधिभर मतदाता नामावली दर्ता बन्द भएकाे छ। फागुन २१ काे निर्वाचन सकिएपछि मतदाता नामावली दर्ता खुल्ने उपसचिव जि.सी.ले बताए। उनले भने,’अब निर्वाचन अवधिभर बन्द नै हो। निर्वाचन सकिएपछि खुल्छ।’
मतदाता नामावलीमा नाम दर्ता गराउन लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि मायाको पहिचान नेपालले सुरुवातदेखि नै विशेष सहजीकरण गरेको जनाएको छ।
संविधानसभाका सभासद् सुनिल बाबु पन्तले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन समुदायलाई प्रेरित गर्ने उद्देश्यले भिडियो सन्देश जारी गरेका थिए। यही सक्रियताले यो समुदाय भित्र बढ्दो राजनीतिक सचेतना र सहभागितालाई झनै उजागर गरेको देखिएकाे छ।
यसअघिका चुनावमा १ करोड ८१ लाख ६८ हजार २३३ जना मतदातामध्ये १८७ जना अन्य लैङ्गिक पहिचानका मतदाता रहेका थिए। यो चुनावमा भने ६१ जना अन्य लैङ्गिक पहिचानका मतदाता थप भएका छन्, जसले समुदाय भित्र राजनीतिक अधिकारप्रति जागरण बढ्दै गएको सङ्केत गर्दछ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भित्र समलिङ्गी महिलाले महिलाकै र समलिङ्गी पुरुषले पुरुषकै रूपमा मतदाता नामावलीमा नाम दर्ता गरेका छन्, जुन कानुनी पहिचानको स्वीकार्यता र नागरिक अधिकारप्रति बढ्दो सचेतनाको उदाहरण हो।

नामावली दर्तामा समुदायको उत्साहजनक सहभागिता रहेको मायाको पहिचान नेपालले जनाएको छ। नेपालमा दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गराउन सफल मायाको पहिचान नेपालकै पहलमा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको नेतृत्वमा पहिलो पटक राजनीतिक दल दर्ताको प्रक्रियामा पुगेको छ।
तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु चञ्चला समावेशी समाजवादी पार्टीकी अध्यक्ष बनेकी छन्। ‘मिस्टर गे हेन्डसम’ मनिन्द्र सिंह दनुवार महासचिव र पूर्ण दृष्टिविहीन प्रतीक्षा चापागाई प्रवक्तामा रहेका छन्। समुदायको नेतृत्व र संरचनामा यस्तो विविधता देखिनु पनि राजनीतिक नेतृत्वको क्षेत्रमा नयाँ अभ्यासको सूचक बनेको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू सङ्गठित भएर मतदाता नामावली दर्तादेखि राजनीतिक दल दर्ताको प्रक्रियामा अघि बढेपछि, ब्लु डायमन्ड सोसाइटीले थप गरिएको समय सकिन दुई दिन बाँकी छँदा मात्र नामावली दर्ता गर्न आग्रह गरेको थियो। यसलाई समुदायका सदस्यहरूले सामाजिक सञ्जालमा ट्रोल बनाएका थिए, जसले दर्ता प्रक्रियाप्रति समुदायमा रहेको उच्च जागरूकता र भित्री बहसलाई ब्लु डायमन्डले दबाएर राख्न बाध्य पादै आएको प्रस्ट्याएको छ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्तिक ५ गतेदेखि मतदाता नामावली दर्ता सुरु भएको थियो। करिब एक महिनाको अवधिमा ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
फागुन २० सम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको अन्तिम मतदाता नामावली मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
प्रवक्ता भट्टराईका अनुसार उक्त नामावलीमा कुनै त्रुटि भएमा सो त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन मङ्सिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिनेछ।
सो अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.