काठमाडौँ – टोखा नगरपालिका वडा नं ९ नयाँबसपार्कमा बेवारिसे शव फेला परेको छ। शनिवार बिहान सरसफाइ गर्ने क्रममा बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको हो। बोरामा हालेर फालेको शवको पहिचान खुल्न सकेको छैन।
वडा नं ९ का अध्यक्ष रामभक्त घिमिरेले बिहान फोहोर उठाउँदा बोरामा प्याक गरिएको शव फेला परेको बताए। “४–५ दिनअघिको हुनुपर्छ, फोहोर सफा गर्दा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको हो,” वडा अध्यक्ष घिमिरेले पहिचानसँग भने, “नाम खुलेको थिएन, प्रहरीले अनुसन्धान गरिरहेको होला।”
उनले शव तेस्रोलिंगी व्यक्तिको भएको गाइँगुइँ हल्ला सुनेको पनि बताए। घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
बसपार्क अगाडिको मुख्य सडक छेउमा रहेको सानो झाडीमा प्लास्टिक र तन्नाले बाँधेर, बोरामा राखेर फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले घटनाको अनुसन्धान भइरहेको बताए। “शवको पहिचान हुन सकेको छैन। शव हेर्दा महिला–पुरुषको नभएर तेस्रोलिंगीको जस्तो देखिएको छ,” भट्टराईले पहिचानसँग भने, “नाम, ठेगाना खुलेको छैन, हामी बुझ्दैछौँ।”
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले शव धादिङका तामाङ थर गरेकी तेस्रोलिंगी व्यक्तिको हुन सक्ने शङ्का व्यक्त गरेका छन्। समुदायका सदस्यले तामाङ्नी भन्ने मेटी हराएको दुई महिना भएको बताएका छन्। “त्यही त होइन?” भन्ने शङ्का समुदायका सदस्यले सामाजिक सञ्जालमा लेखेका छन्।
समुदाय सुधारका अभियन्ता, मायाका पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्री (मधु केस)ले आफूहरू अहिले घटनास्थलमा पुगेर प्रहरीको अनुसन्धानमा सहयोग गरिरहेको बताए। ‘शव तेस्रोलिंगीको भन्ने नै छ,नाम ठेगाना नखुल्दा यही हो भन्न सकिने अवस्था छैन,’उनले भने,’हामी प्रहरीलाई सहयोग गरिरहेका छौँ।’
बोरामा प्याक गरी फालिएको शव दुई–चार दिनसम्म कसैले थाहा नपाइ बसपार्ककै झाडीमा कुहिँदै शव भेटिनु तेस्रोलिंगी समुदायले भोग्दै आएको अमानवीय विभेद र उपेक्षाको ज्वलन्त चित्र भएको समुदायका अधिकारकर्मीले बताएका छन्।
तेस्रोलिंगी अधिकारकर्मी तथा समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बु चञ्चला, सचिव सञ्जीवनी लामा (सन्ध्या), मोनिका शाहीलगायतका अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
समावेशी समाजवादी पार्टीकी सचिव सन्ध्याले विज्ञप्ति जारी गर्दै तेस्रोलिंगी व्यक्तिहरूमाथि भइरहेका हत्या र हिंसा अहिले विश्वभरकै गम्भीर मानवअधिकार सङ्कटका रूपमा उभिएको उल्लेख गरेकी छन्।
सचिव सन्ध्याले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा समाजले तेस्रोलिंगी व्यक्तिहरूलाई “भिन्न” भनेर हेर्ने प्रवृत्ति, दण्डहीनताको संस्कार, गलत धारणाहरू र राज्य–समाजले पर्याप्त सुरक्षा नदिनुले तेस्रोलिंगी समुदाय निरन्तर जोखिममा परेको स्पष्ट उल्लेख छ।
विज्ञप्तिमा सामाजिक विभेद र पूर्वाग्रहलाई मुख्य कारणका रूपमा प्रस्तुत गरिएको छ। यसअन्तर्गत तेस्रोलिंगी व्यक्तिहरूलाई अझै पनि धेरै ठाउँमा स्वीकार गर्ने संस्कृतिको कमी रहेको र उनीहरूलाई “असामान्य” वा “गलत” भनेर हेर्ने सोच कायम रहेको उल्लेख छ। परिवार र समाजबाट तिरस्कार, विद्यालय, कार्यस्थल तथा सार्वजनिक स्थानमा अपमानजनक व्यवहार झेल्नुपरेको यथार्थ पनि उल्लेख छ। विज्ञप्तिमा यी सबै कारणले हिंसाको वातावरण तयार हुने र अन्ततः हत्या जस्ता चरम अपराधलाई समेत उत्प्रेरित गर्न सक्ने निष्कर्ष प्रस्तुत गरिएको छ।
विज्ञप्तिमा प्रहरी तथा न्यायिक निकायमा संवेदनशीलताको कमीका कारण अपराधीहरू दण्डबाट जोगिन सफल हुने र यस्तो दण्डहीनताले थप हिंसा बढाउन भूमिका खेल्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा तेस्रोलिंगी समुदायलाई शिक्षा, रोजगारी र स्वास्थ्य सेवामा पहुँच कम हुने, बेरोजगारी बढ्ने, सडक वा असुरक्षित क्षेत्रमा बस्नुपर्ने बाध्यता उत्पन्न हुने, आर्थिक निर्बलताका कारण उनीहरू हिंसाको लक्ष्य बन्ने सम्भावना अझ बढ्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा तेस्रोलिंगी व्यक्तिमाथि भएको हत्या केवल एक व्यक्तिको ज्यान गुम्ने घटना मात्र नभई सम्पूर्ण समुदायमाथि आतङ्क फैलिने, सार्वजनिक स्थानमा हिँड्दा असुरक्षित महसुस हुने, सामाजिक सहभागिता घट्ने तथा आफूलाई लुकाएर बाँच्नुपर्ने बाध्यता बढ्ने जस्ता गम्भीर मनोवैज्ञानिक प्रभावहरू देखिने उल्लेख छ।
विज्ञप्तिका अनुसार, तेस्रोलिंगी समुदायमाथि हुने हत्या तथा हिंसा रोक्नका लागि लैङ्गिक पहिचानका आधारमा हुने हिंसा र हत्यालाई गम्भीर अपराध घोषणा गर्नुपर्ने, अपराधीलाई तत्काल अनुसन्धान र कडा कारबाही गरी दण्डहीनता अन्त्य गर्नुपर्ने सुझाव राखिएको छ। साथै, विद्यालयदेखि समुदायसम्म लैङ्गिक विविधताको सम्मानबारे शिक्षा प्रदान गर्दै सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने, जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित आवास, हेल्पलाइन र प्रहरीको तत्पर सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा शिक्षा, रोजगार, स्वास्थ्य र नेतृत्व विकासमा विशेष कार्यक्रममार्फत समुदायलाई सशक्त बनाउनु पर्ने भनिएको छ।
विज्ञप्तिमा तेस्रोलिंगी हत्या कुनै व्यक्तिगत समस्या मात्र नभई समाजमा विद्यमान गहिरो पूर्वाग्रह र असमानताको दर्पण भएको उल्लेख छ। प्रत्येक व्यक्तिले उनीहरूको पहिचान जे भए पनि सम्मान र सुरक्षासहित बाँच्ने अधिकार राख्ने उल्लेख गर्दै तेस्रोलिंगी समुदायको जीवन रक्षा गर्नु भनेको मानवता रक्षा गर्नु नै भएको स्पष्ट रूपमा जोड दिइएको छ।
केहीदिन अघि मात्रै बाँकेस्थित महेन्द्र बहुमुखी क्याम्पस हाताभित्रको पुरानो खाली घरमा तेस्रोलिंगी मिना थारु मृत भेटिएकी थिइन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.