निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लुसुक्क एमालेको दल दर्ता, तेस्रोलिंगी नेतृत्वको पहिलो दल पनि चुनावमा

लुसुक्क एमालेको दल दर्ता, तेस्रोलिंगी नेतृत्वको पहिलो दल पनि चुनावमा

357
SHARES

काठमाडौँ – फागुन २१ गते हुने घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका छन्। दल दर्ताको लागि तोकिएको समय सकिन एक दिन बाँकी रहँदा थप १६ दल दर्ता भए।

चुनावमा भाग दिने दलको सङ्ख्या ८० पुगेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। संसद् पुनर्स्थापनाको नारा घन्काउँदै आएको नेकपा एमालेले अन्ततः निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको छ।

एमालेले दल दर्ता गराएकै दिन राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, उज्यालो नेपाल पार्टीलगायत १६ दल दर्ता भएका हुन्। निर्वाचनमा भाग लिन दल दर्ता गर्ने समय बुधवारसम्म मात्रै छ। आयोगका अनुसार हाल आयोगमा दर्ता कायम रहेका दलहरूको सङ्ख्या १ सय ३२ पुगेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ पनि निर्वाचन आयोगमा दर्ता भएको छ। तेस्रोलिंगी नुमा लिम्बू (चञ्चला)को अध्यक्षतामा दर्ता भएको यो दलले प्रमाणपत्र भने बुधवार बुझ्ने बताएको छ।

पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्त, दक्षिण एसियामै पहिलो पटक कानुनी रूपमा समलिङ्गी विवाह दर्ता गराउने जोडीसमेतले स्थापना गरेको ‘मायाको पहिचान नेपाल’को पहलमा समावेशी समाजवादी पार्टी गठन भएको पार्टी अध्यक्ष चञ्चलाले बताइन।

निर्वाचन कानुन अनुसार सबै प्रक्रिया पूरा गरिसकेकाले प्रमाणपत्र बुझेकै दिन प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्ने अध्यक्ष लिम्बूले बताइन्। नेपालको इतिहासमा पहिलो पटक दल दर्ता गरेरै चुनावमा भाग लिने तयारी गरेको समावेशी समाजवादी पार्टी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी), महिला, अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्तिहरूको पहिलो राजनीतिक दल बन्नेछ।

आयोगका अनुसार निर्वाचनका लागि आवश्यक प्रक्रियागत कामहरू निरन्तर चलिरहेका छन्। मतदाता नामावली दर्ता सकिएको छ। नयाँ दल दर्ताको निवेदन लिने र प्रक्रिया पुरा गरेका दलहरूलाई दल दर्ताको प्रमाणपत्र दिने काम पनि निरन्तर चलिरहने आयोगले जनाएको छ।

फागुन २१ कै चुनावमा भाग लिन भने बुधवार दल दर्ता गर्ने अन्तिम दिन हो। बुधवार दल दर्ताको प्रमाणपत्र पाउने दलले पनि फागुन २१ कै चुनावमा भाग लिन पाउनेछन्। आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मङ्सिर ११ गते दर्ता हुने दलले चुनावमा भाग लिन पाउँदैनन्।

एमालेले पनि चुनावमा दल दर्ता गराएपछि सरकार र निर्वाचन आयोग दुवै हौसिएका छन्। जेनजीहरुकै समूहको घेराबन्दीमा परेको सरकारलाई दलहरूले चुनावमा भाग लिएर सहयोग गर्ने स्पष्ट सङ्केत दिएका छन्।

२०७९ को चुनावमा पहिलो दल बनेको नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले र तेस्रो दल बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टीले दल दर्ता गराएपछि सरकार र निर्वाचन आयोग दुवै हौसिएका हुन्।

सबै राजनीतिक दल निर्वाचनका लागि तयार भएको अवस्थामा देशभर चुनावी माहौल बनेको आयोगले विश्वास गरेको छ। आयोगका प्रवक्ता नारायण भट्टराईले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताए।

संसद् पुनर्स्थापनाको रटान लगाउँदै नेता–कार्यकर्तालाई सरकारविरुद्ध सडकमा उतारेको नेकपा एमालेले लुसुक्क निर्वाचन आयोग पुगेर दल दर्ता गरेसँगै आयोगको आत्मबल बढेको देखिएको छ। पत्रकारहरूको आँखा छल्दै दल दर्ता गराएको एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि भने हल्लाखल्ला गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार असंवैधानिक भएको दाबी गर्दै, विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले सर्वोच्च अदालतमा पुगेर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दर्ता गरेका छन्।

निर्वाचन आयोगमा भने एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव भिष्म अधिकारी पुगेका थिए। दल दर्ता र रिट दुवै कागजी प्रक्रिया अघि बढाएको एमालेले एकातिर चुनावमा भाग लिन तयार रहेको सन्देश दिएको छ भने अर्कोतिर प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण अनिवार्य रहेको पनि जनाएको छ।

असंवैधानिक सरकारले गरेको चुनाव स्वीकार्य नहुने भन्दै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने आवरणमा बसेको एमालेले चुनावमा जान दल दर्ता गराएसँगै सरकार पनि हौसिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको विरोध गर्ने दलले समेत दल दर्ता गरिसकेकोले चुनावको वातावरण थप मजबुत बनेको बताए।

सरकारले निर्वाचनका लागि आवश्यक बजेट माग गरेमा दिन सकिने जवाफ निर्वाचन आयोगलाई दिएको छ। आयोगले करिब ५ अर्ब बजेट सुनिश्चित गरेर काम गरिरहेको जनाएको छ। अपुग भएमा थप बजेटको माग गर्ने प्रवक्ता भट्टराईले बताए।

समाचार शेयर गर्नुहोस्
357
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.