सिन्धुपाल्चोक – जुगल हिमालको काखैमा विकासको तीव्र चाहना बोकेर बसेको छ तेम्वाथाङ। दुई–तीन वर्षमै बाटो पुगेको छ, बिजुली बत्ती बल्न थालेका छन्। मोबाइल फोन पुगे पनि नेटवर्क कुन बेला टिप्छ, कुन बेला हराउँछ,टुङ्गो छैन। सतहमा विकासले प्रवेश गरेको देखिए पनि भित्री जीवन चिरफार गर्दा यहाँका बासिन्दाले भोगिरहनुपरेको वास्तविकता त्यति सहज छैन।
तेम्वाथाङमा विकासका थुप्रै सम्भावना रहेको छ। जुगल हिमाल पहिलो पटक आरोहणका लागि खुला भएको छ र यसलाई स्वागत गर्न शेर्पा समुदाय उत्साहित छन्।
तर, शिक्षा लिएका अधिकांश युवा–बालक अहिले पनि चौरी गोठमै रमाइरहेका छन्। श्री तेम्वाथाङ आधारभूत विद्यालयसम्म त पढाइ हुन्छ, तर कक्षा ८ पछि माध्यमिक शिक्षा लिन टाढासम्म धाउनुपर्ने बाध्यता उही पुरानै छ।
पुस्तौँदेखि याक–चौरी पाल्दै आएका अभिभावक सन्तानलाई पढाउनकै लागि चौतारा वा काठमाडौँ पठाउन बाध्य छन्। तेम्वाथाङ नजिकै उच्च माध्यमिक विद्यालय आजसम्म स्थापना हुन सकेको छैन।
स्वास्थ्य सेवाको अवस्था पनि उस्तै छ। सामान्य बिरामी हेर्ने स्थानीय स्वास्थ्य चौकी नभएको आरोपबाट भने जुगल गाउँपालिका बिस्तारै मुक्त हुँदै आएको छ। तर स्थानीयको चिन्ता शिक्षा-स्वास्थ्यमै सीमित छैन। मानव निर्मित विनाश, वातावरणीय क्षति, चरनक्षेत्र नाश, भू–क्षय तथा प्राकृतिक स्रोत–साधन दुरुपयोगका कारण उनीहरू अहिले राज्यसँग प्रत्यक्ष हारगुहार गरिरहेका छन्।
बाटो आयो, बत्ती आयो। तर उत्पादन घट्न थाल्यो। चौरी पालन कम हुँदै गयो, चरिचरण क्षेत्र सङ्कुचित भयो। तेम्वाथाङमै केही विकास पुगे पनि नजिकै रहेको निमटोलमा न बत्ती पुगेको छ, न बाटो नै।
“लौन, हाम्रो पनि आवाज उठाइदिनु पर्यो। हामी पनि बोल्छौँ, तर हाम्रो कुरा कुनै मिडियाले बोलेन,” जङमु शेर्पा भन्छन्। निमटोलका बासिन्दाले आजसम्म सडक र बिजुली बत्ती “हेर्न पाएको छन्, उपभोग गर्न भने पाएका छैनन्।” हुनेखानेले त सौर्य–प्यानल राख्छन्, नहुनेका घरमा आज पनि टुकी–बाती नै सहारा हो।
“मोटरबाटो र बत्ती आइदिए हुन्थ्यो। तेम्वाथाङ आउनै दुई घण्टा लाग्छ,” ४४ वर्षीया पेम्बी शेर्पा भन्छिन्।
तेम्वाथाङका स्थानीयलाई सबैभन्दा धेरै मोहित बनाएको भने ब्रम्हायणी खोलामा निर्माणाधीन जलविद्युत आयोजनाले हो। तर यो मोहित बनाउने भन्दा धेरै विनाश निम्त्याउने यन्त्र बनेको छ।

पानी झर्यो कि सुरुङ तेर्स्याउने, भू–क्षय बढ्ने, पहिरो झर्ने, खेतीयोग्य जमिन नासिने अवस्था छ। बलेफीमाथि उकालो चढ्दै जाँदा ब्रम्हायणी खोलामा देखिने जलविद्युत आयोजनाहरूले अब स्थानीयको टाउको दुखाउन थालेका छन्।
सार्वजनिक सुनुवाइ कागजमै मात्र गरिएको, वातावरणीय मूल्याङ्कन बिना नै खोला थुनेर आयोजना निर्माण भइरहेको स्थानीयको आरोप हो। “हामीलाई त सार्वजनिक सुनुवाइ भएको जानकारी नै छैन,” स्थानीय भन्छन्।
मोटरबाटो खन्दा धेरैको जग्गा नष्ट भयो, चौरीका चरनक्षेत्र बिग्रिए, तर मुआब्जा आजसम्म पाइएको छैन। “विकास गर्यौँ नि भन्ने भ्रम मात्र देखाइयो, वास्तविक क्षतिपूर्ति त पाइएन,” स्थानीय शेर्पा समुदायको गुनासो छ।
यही असमानता र क्षतिपूर्तिको अन्योलका कारण शेर्पा समुदायले सङ्घर्ष समिति गठन गरेका छन्। समिति अध्यक्ष निम तार्के शेर्पाको नेतृत्वमा १९ बुँदे मागसहित आयोजना निर्माण कम्पनीलाई पहिलो पटक कडा दबाब दिइएको छ।
उनीहरूले ब्रम्हायणी हाइड्रोपावर कम्पनीमा तालाबन्दीसमेत गरिसकेका छन्। कर्मचारी निकालेर कार्यालयलाई ताला लगाइएपछि कम्पनीले सुरक्षा निकाय गुहार्दै स्थानीयलाई झनै आक्रोशित बनाएको छ।
वार्तामा बस्नुको साटो प्रशासन गुहार्ने कम्पनीको व्यवहारले शेर्पा समुदायलाई झनै रिसाउने अवस्थामा पुर्याएको छ। हाल तेम्वाथाङका स्थानीयले सडक बन्द गराएका छन्।
सङ्घर्ष समितिले “कम्पनीसँग सिधा वार्ता गराउने वातावरण बनाइदिन” प्रशासनलाई आग्रह गरेको छ। उनीहरूले अपर ब्रम्हायणी र ब्रम्हायणी हाइड्रोपावर कम्पनीसँग वार्ता गरेरै माग पूरा गर्न दबाब बढाइरहेका छन्।
समितिको पहिलो माग, अवैध रूपमा सञ्चालन भइरहेको मापदण्ड विपरीतको क्रसर उद्योग तत्काल बन्द गरिनु।
उनीहरूको अन्तिम (१९औँ) माग आयोजना सञ्चालनपछि स्थानीयका लागि विद्युत् महसुलको निश्चित प्रतिशत सुरक्षित गरी लिखित सम्झौता हुनुपर्ने छ।
तर माग सुन्न तयार नभएपछि शेर्पा समुदायले सुरुङ मार्गदेखि कार्यालय भवनसम्म निर्माण कार्य अवरुद्ध गरिदिएका छन्। ४५ मेगावाटको ब्रम्हायणी हाइड्रोपावर र २० मेगावाटको अपर ब्रम्हायणी हाइड्रोपावर दुवै प्रभावित छन्।
स्थानीय भन्छन्,“अब हामी ज्यादती नसहने अवस्थामा छैनौ। अब वार कि पार।”
तेम्वाथाङ र वरपरको क्षेत्रमा विकासका नाममा भइरहेको अव्यवस्थित निर्माण, चरनक्षेत्र विनाश, स्थानीय जीवनरहित बनाउने परियोजनाहरू यी सबै अहिले शेर्पा समुदायको सङ्घर्षका मुख्य आधार बनेका छन्।
विकासको नाममा आएको “सम्भावना” अहिले विनाशको रूप लिएर फर्किएको छ, र समुदाय पहिलो पटक जुगल हिमालकै उचाइको विद्रोह लिएर उठेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.