देह मेरो छुटेपछि,
तिमी मेरो “कथा” लेख्नु,
जसरी यो जीवनले
मलाई भोगेर, सिकाएर,
फेरि आफैतिर फर्काइदियो
त्यो सत्यताको“भोगाई”लेख्नु।
र लेख्नु,
यो आत्माले खुशी किन खोज्यो…?
आँखाबाट किन बग्यो नदी अश्रुको…?
किनकि, त्यो शून्यता थिएन,
अन्तरयात्राको “आनन्द”थियो,
त्यो अनुभूतिको “सिकाई”लेख्नु।
र लेख्नु,
अन्तिम श्वासहरूमा पनि
कसरी मुटुले उनलाई सम्झियो,
तर त्यो त कुनै मान्छे थिएन,
मूल आत्माको प्रतीक,
समर्पणको प्रतिमा थियो
त्यो प्रतिमाको“रहस्य” लेख्नु।
र लेख्नु,
मर्दै जाँदा पनि,
कसरी श्वास–श्वासमा,
आशिष् बगिरहेको थियो,
कफनबाट बाहिर आएको,
मेरा हातहरू,
प्रेम र मुक्ति बीचको,
सूक्ष्म सेतु थिए,
त्यो “दिव्य-चिन्ह” लेख्नु।
किनकि,
मृत्यु त अन्त्य होइन,
आत्माको अर्को उदय हो
तर पनि,
अर्को जुनीमा पुनः नलेखिने वाचा गर्दै,
सङ्कल्पका मिठा गाथा पनि लेख्नु।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.