निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी ज्ञानुमाथि चाबहिलमा आक्रमण

तेस्रोलिंगी ज्ञानुमाथि चाबहिलमा आक्रमण

350
SHARES
फाइल तस्बिर

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूमाथि बिना कारण हुने आक्रमण, कुटपिट र हिंसात्मक व्यवहारको क्रम रोकिएको छैन। औषधि किनेर घर फर्कँदै गर्दा काठमाडौँको चाबहिल सडकमा तेस्रोलिंगी महिला ज्ञानु लामामाथि पनि यही प्रकारको आक्रमण भएको छ।

तेस्रोलिंगी भएकै कारण सार्वजनिक स्थानमै कुटपिट, दुर्व्यवहार र कहिलेकाहीँ त हत्या जस्ता आपराधिक घटनामा पर्नुपर्ने वास्तविकता अझै पनि अन्त्य हुन सकेको छैन भन्ने थप प्रमाण यो घटना बनेको छ।

बिहीबार बेलुकी चाबहिलको सडकमा बिना कुनै कारण एक युवाले ज्ञानुमाथि आक्रमण गरेका हुन्। घटना तत्कालै देखेपछि स्थानीयको सहयोगमा प्रहरीले आक्रमण गर्ने युवालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी वृत्त गौशालामा आफूमाथि आक्रमण गर्ने व्यक्तिमाथि कानुनी कारबाहीका लागि ज्ञानुले उजुरी दिएकी छन्।

मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ७ चाबहिल गंगाहिटी बस्ने ५४ वर्षीया तेस्रोलिंगी महिला ज्ञानुमाथि राति साढे १० बजे आक्रमण भएको हो।

उनी औषधि लिन आफ्नै काम विशेषले चाबहिल चोक पुगेकी थिइन्। काम सकेर डेरातिर फर्कँदै गर्दा सार्वजनिक सडकको बाटोमै ३८ वर्षीय विरोध श्रेष्ठले मुक्का प्रहार गरेको उनी बताउँछिन्। “उसले कुटेपछि म लडेछु। त्यो युवासँग मेरो कुनै चिनाजान थिएन। म सुरुसुरु डेरा कोठामा जाँदै थिए। बाटोमा प्रहरीसँगै डिस्कस गर्दै रहेछ त्यो मान्छे,” ज्ञानुले भनिन्, “प्रहरीसँग किन डिस्कस गरिरहेको? मात्र के भनेको थिएँ, उसले एक्कासि ममाथि आक्रमण गर्‍यो।”

मुलुकी अपराध संहिता २०७४ को भाग २, परिच्छेद ५, दफा ११८ बमोजिम अभद्र व्यवहारमा कारबाही गर्न उजुरी गरेको ज्ञानुले बताइन्। श्रेष्ठको मुक्का प्रहारबाट लडेकी ज्ञानु गाडीको टायर नजिकै ठोक्किएकी थिइन्। सौभाग्यवश उनको टाउको टायरमुनि नपरेकोले ज्यान जोगाउन सफल भइन्।

घटनापछि शुक्रवार ज्ञानुले प्रहरी वृत्त गौशालामा उजुरी दिएकी छन्। उनी भन्छिन्, “बिना कारण बाटोमा हिँड्दा समेत कुटपिटमा पर्नुपर्ने अवस्था कहिलेसम्म?” ज्ञानुको उजुरीमा अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

तेस्रोलिंगी भएकै कारण सार्वजनिक स्थलमै कुटपिट, दुर्व्यवहार र कतिपय अवस्थामा ज्यानै जाने घटनामा समेत परिरहने अवस्था अन्त्यका लागि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले तत्काल प्रभावकारी सुरक्षाको माग गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
350
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.