"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेम्बाथाङका शेर्पा समुदाय किन रिसाए?

तेम्बाथाङका शेर्पा समुदाय किन रिसाए?

‘सुविधा अर्कैलाई, पीडा स्थानीयलाई’

279
SHARES

सिन्धुपाल्चोक – पासाङ नोर्बु शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्। हाइड्रोले बारम्बार माग राख्दा पनि पूरा गरिरहेको छैन,उनी गुनासो सुनाउँछन्। विद्यालयको आरसिसी वाल बनाइदिन पहिलो माग राखिएको थियो। उनी सोही माग लिएर हाइड्रोको केन्द्रीय कार्यालयसम्म पुगे।

“जग्गा चाहिन्छ, छुट्टै बनाएर पनि दिन्छौँ,” भन्दै हाइड्रोपावर कम्पनीले आशा त देखायो, तर व्यवहारमा कदम उठाएन। कमजुङमा पक्की पुल बनाउने माग पनि राखिएको थियो। “हाम्रो सामुन्ने ‘हुन्छ, हुन्छ’ भने तर चासो दिइएन,” अध्यक्ष शेर्पाले बताए। हाइड्रोले चासो नदिएपछि गाउँवासीले अवरोध गर्ने निर्णय गरेको उनले सुनाए।

हाइड्रोपावर निर्माण सुरु भएको दुई–तीन वर्ष भइसकेको छ। सुरुका वर्षमा विद्यालय, स्वास्थ्य चौकी बनाइदिने आशा देखाइयो। बर्खा लागेपछि आउजाउका लागि बाटोको समस्या छ। “नेशम खोलादेखि माथि रोड बन्ला, बाटो बन्ला भनेर वर्ष बितिसक्यो,” ७५ जना विद्यार्थी अध्ययनरत श्री तेम्बाथाङ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर्पा भन्छन्। त्यसमाथि सिता हाइड्रो र सोलार हाइड्रोका कारण पनि अवरोध थपिएको उनको भनाइ छ।

माध्यमिक तहको शिक्षा लिन नजिकको गन्तव्य चनौटे हो,जहाँ पुग्न एक दिन पैदल हिँड्नुपर्छ। कोही चौतारा–जलबिरे वा आर्थिक क्षमता भए काठमाडौँसमेत पुर्‍याइन्छ। “८ कक्षा पढेपछि धेरै बालबालिका गोठालो लाग्छन्,” अध्यक्ष शेर्पाले पहिचानसँग भने, “क्षमताले भ्याएन भने चौँरीको गोठालो हुन्छ।” यही कारण तेम्बाथाङका धेरै बालबालिका ८ कक्षा पछि अध्ययनबाट वञ्चित हुने गरेको उनले बताए।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–तेम्बाथाङ, निमटोलका स्थानीय शेर्पा समुदायका बालबालिका माध्यमिक तहकै शिक्षा लिनबाट वञ्चित हुँदै आएका छन्। “गोठालो नलागेर एउटै कक्षामा भए पनि पढिरहन्छु भन्ने विद्यार्थी समेत थिए,” अध्यक्ष शेर्पाले सुनाए। तीन–तीन पटक कक्षा दोहोर्‍या उत्तीर्ण हुनुपरेको उदाहरण पनि छ।

माध्यमिक तहको पढाइका लागि दुई दिनको बाटो हिँडेर मात्र विद्यालय पुग्न सकिने चुनौती अहिले पनि कायम छ।

ब्रम्हायणी खोलामा जलविद्युत आयोजना निर्माण गर्न आएका कम्पनीहरूले स्थानीयलाई थुप्रै आश्वासन दिए, तर व्यवहारमा लागु गरेनन्। “हातमा सिप भएकालाई काम दिन्छौँ, गाडी चलाउन आउनेलाई ड्राइभर राख्छौँ,” भनेर सुनाए। तर स्थानीयलाई फास्लाङ–फुस्लुङ मात्र बनाइयो,” अध्यक्ष शेर्पा भन्छन्।

स्थानीयले माग राखेपछि छलफल भयो। १९ बुँदे मागसहित ७ दिनको अल्टिमेटम दिइयो। तर निर्माण कम्पनी टस–मस भएन। सबैभन्दा धेरै विरोध क्रसरको विषयमा भएको उनले बताए। “सेयरको कुरा पनि भयो,हुनेले लगानी गर्ने, नहुने गरिबको उपाय छैन,” उनी भन्छन्।

स्थानीयको तत्कालको आवश्यकता सेयर होइन, सडक, पुल र सुरक्षात्मक संरचना हो। “कमजुङ खोलामा तत्काल पुल बनाइनुपर्छ,” अध्यक्ष शेर्पा भन्छन्। मोटरबाटो गुम्बाबाट ल्याइदिनुपर्ने माग पनि स्थानीयको रहेको उनले सुनाए। हिउँदमा वैशाखसम्म मोटरबाटो चल्ने तर त्यसपछि गाडी बन्द हुने समस्या छ।

तेम्बाथाङका स्थानीयलाई सदरमुकाम ओहोरदोहोर गर्न निकै कठिनाइ छ। पाँचपोखरी घुमेर जानुपर्छ। नेशम खोलाको पुल पनि कहिले पहिरोले बगाइदिन्छ। तेम्बाथाङ–निमटोलमा १६० भन्दा बढी घरधुरी छन्।

रोजगार अभावले कोही विदेशतिर लागेका छन्, कोही गाउँमै दुःख गरेर बसेका छन्, कोही चौँरी पालनमा निर्भर छन्। चौँरी पालक किसानलाई सडकले ठुलो क्षति पुर्‍याएको छ। “चौँरी चराउन सम्भव नै छैन,” उनले भने। छिन्ताङदेखि माथि सडक नपुर्‍याउने मनसाय स्थानीयमा छ।

चौँरी हिँड्ने बाटो पहिरोले अवरुद्ध हुँदा मान्छेसमेत हिँड्न नसक्ने अवस्था छ। मोटरबाटो आउनुअघि ६०–७० घरधुरीले चौँरी पाल्थे, अहिले घटेर २०–२५ घरधुरीमा पुगेको छ। गाउँको मुख्य आम्दानी चौँरी पालन नै हो। छुर्पी र घिउ बिक्री गरेर घर खर्च चल्ने हो।

खेतीका मुख्य बाली आलु, मकै र गहुँ हुन् तर पेट गुजार्न पनि मुस्किल छ। यस्तै बेला हाइड्रोपावर आएर आश्वासन दियो, तर व्यवहारमा केही गरेन। पर्यटकसमेत समस्यामा परेका छन्। “२०–२५ जनाको समूह आउँदा माथिबाट ढुङ्गा खसे पनि थाहा नहुने अवस्था छ,” शेर्पा बताउँछन्।

तर हाइड्रोले चासो दिएको छैन। “अर्को ठाउँबाट सडक दिन्छु भन्ने पनि भनेको छैन,” उनी भन्छन्“हामीलाई समस्यामा पार्‍यो, उहाँहरूले सुविधा पाए।”

स्थानीयले मागपत्र बुझाएपछि ब्रम्हायणी हाइड्रोपावर कम्पनीका उपप्रमुख इन्द्रबर गुरुङले “एकै पटक सबै माग पूरा गर्न नसकिने, क्रमबद्ध रूपमा अघि बढिरहेका छौँ,” भन्ने प्रतिक्रिया दिए। “नियम–कानुनले दिएको कुराहरू सम्बोधन गर्दैछौँ,” उनले बताए।

सडकको चौडाइ फिक्स नभएसम्म क्षतिपूर्ति दिन नसकिने, निःशुल्क सेयर ऐन–कानुन अनुसार मात्र हुने उनले स्पष्ट पारे। “राइट सेयरको प्रक्रिया छ, फ्रि सेयर कानुनले दिन भन्यो भने रोकिँदैन,” उनी भन्छन्,“प्याकेज बनाउँदै छौँ, दिपुको बस्ती, तलको सेटलमेन्ट, बस्ती जोगाउने विषय पनि छ,डिजाइन हुँदैछ।”

एक्सेस रोड खोल्ने काम स्थानीय सरकारले गरिरहेको बताउँदै उनले भने, “हाइड्रोपावर अहिले बामे सर्दैछ। एक्सेस रोड खोलेर पावरहाउस र हेडव‌र्क्स निर्माणतर्फ जाने चरणमा छौँ।”

ब्रम्हायणी खोलामा हाइड्रोपावर आतङ्क, शेर्पा समुदायले गर्‍यो पहिलो विद्रोह

तेम्बाथाङको जग्गा क्षतिपूर्तिका लागि कम्पनीले रोड सर्वे गरिसकेको उनले बताए। “कसको कति जग्गा पर्छ भनेर नापी कार्यालयको अमिनले छुट्ट्याइसकेपछि सम्झौतामा लेखिएअनुसारै पहिलो प्राथमिकतामा क्षतिपूर्ति हुनेछ,” उनले भने।

ठेक्का–पट्टा ५० प्रतिशत स्थानीयको हुनुपर्छ भन्ने माग ‘नियम अनुसार सम्भव’ नरहेको उनले बताए। “बैङ्कको लगानी पनि भएकोले, स्थानीयलाई काम दिन बैङ्कसँग छलफल चाहिन्छ,” उनको भनाइ छ।

तर स्थानीय भन्छन्, “बैङ्क बेलेन्स भएको भए काम खोज्न किन आउँथ्यौँ?” कम्पनीले बैङ्क ग्यारेन्टी बिना ठेक्का दिन नसक्ने बताएको छ। स्थानीय झन् आक्रोशित भए,“कम्पनीको ग्यारेन्टी बैङ्कले दियो, हाम्रो जग्गाको ग्यारेन्टी कसले दिन्छ?”

मौखिक सहमति मात्रै भइरहेको उल्लेख गर्दै उनले सङ्घर्ष समितिलाई बेलाबेलामा अपडेट दिने गरेको बताए। “स्थानीयसामु ‘हुन्छ–हुन्छ’ भन्ने तर कहिल्यै नपुरा गर्ने” हाइड्रोको व्यवहार तेम्बाथाङ–निमटोलमा बसोबास गर्ने शेर्पा समुदायका लागि दैनिक समस्या बन्न पुगेको छ।

हत्तपत्त आक्रोशित नहुने शेर्पा समुदाय अहिले “हाइड्रोपावरका कारण आक्रोशित” बन्न पुगेको छ।

समाचार शेयर गर्नुहोस्
279
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.