काठमाडौं – मङ्सिर १३ गते लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीहरूको विशेष उत्सवको दिन बनेको छ। नेपाल दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने देश बनेको मङ्सिर १३ लाई अहिले समुदायले विशेष उत्सवको रूपमा मनाउन थालेका छन्।
नेपालमा १२ असार २०८० मा सर्वोच्च अदालतले विवाह दर्ता गर्न दिएको अन्तरिम आदेश ऐतिहासिक बनेको छ। संविधानसभाका पूर्व सदस्य सुनिल बाबु पन्त कार्यकारी निर्देशक रहेको मायाको पहिचान नेपालको पहलमा माया गुरुङ र सुरेन्द्र पाण्डेले पहिलो पटक कानुनी रूपमा समलिङ्गी, तेस्रोलिंगी जोडीका लागि विवाह दर्ता गर्न पाउने बाटो खोलिदिए।
यसअघि वर्षौँदेखि सुनिल बाबु पन्त र मायाको पहिचान नेपालले निरन्तर सङ्घर्ष गर्दै आएका थिए। दर्ता नहुने, फाइल स्वीकृत नहुने, कार्यालयले फर्काउने, सरकारी निकायले कानुनी आधार नभएको भन्दै पन्छिने,यी सबै अवरोध काटेर दर्ताको बाटो खोलिएको हो।
जुन दिन माया र सुरेन्द्रले कानुनी रूपमै विवाह दर्ताको प्रमाणपत्र हात पारेर इतिहास रचे, त्यो दिनलाई नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले दिवसको रूपमा मनाउन सुरु गरेका हुन्।

विवाह दर्ताका लागि समुदायका जोडीहरूले गर्दै आएको सङ्घर्षले सफलता पाएको दिनलाई भुल्न नसक्ने भएकाले दिवसका रूपमा मनाइएको सुरेन्द्र बताउँछन्।
घर–परिवारको दबाबमा आफ्नै लैङ्गिक तथा यौनिक पहिचान लुकाइराख्न बाध्य हुने समलिङ्गी–तेस्रोलिंगी समुदायलाई आफूहरूको पनि अधिकार, पहिचान र अस्तित्व छ भन्ने सन्देश दिनका लागि पनि वैवाहिक समानता दिवस मनाएको उनको भनाइ छ।
“जीवन सधैँ सुखैसुख वा दुखैदुख रहेनछ,” माया भन्छिन्, “सङ्घर्ष नै जीवन रहेछ भन्ने मलाई फिल भयो।”
कानुनी रूपमा विवाह दर्ता नहुँदा पार्टनरबाट ठगिँदा पनि कानुनी उपचार खोज्न नसकिने अवस्था थियो। अब त्यो अवस्था छैन। समलिङ्गी–तेस्रोलिंगी जोडीले कानुनी रूपमा विवाह दर्ता गरेसँगै दैनिक जीवनका धेरै काम सहज भएको सुरेन्द्र बताउँछन्।
सर्वोच्च अदालतको अस्थायी रूपमा विवाह दर्ता गर्न पाउने आदेशले पनि बैङ्क खाता खोल्न, सम्पत्तिको हक हस्तान्तरण गर्न सहज भएको सुरेन्द्रको अनुभव छ।
सरकारले कानुन नबनाउँदा समलिङ्गी–तेस्रोलिंगी जोडीले अभिभावकविहीन बालबालिका एडप्ट गर्न पाएका छैनन्। पहिले नै लिएका जोडीहरू समेत कानुनी झन्झटमा पारिन्छन्। मायालाई अहिले आमा बन्ने चाहना समुदायले पूरा गरिदिएको छ। माया यसमै खुसी छिन्।
तर, बच्चा लिन सहज हुने कानुन बनाउन सरकारसँग उनले माग गरेकी छन्। “नयाँ पुस्ताले हाम्रोजस्तो दुखकष्ट भोग्न नपरोस्,” भन्दै मायाले बाँचुन्जेल लडिरहने बताएकी छन्।
प्रमीला तामाङले आफूजस्तै छोरीसँग विवाह गरेकी छन्। प्रहरी, प्रशासन, स्थानीय तहसम्म परिवारले दबाब दिँदा पनि उनले मनले रोजेको साथी सुशीला रम्तेललाई छानिन्। सुशीलासँग विवाह गरेपछि प्रमीलालाई परिवारले घरभित्र प्रवेश गराएको छैन। उनमा बुबाआमासँग भेट्ने तीव्र चाहना छ।
तर परिवार स्विकार्न तयार छैन। कानुनी रूपमा विवाह दर्ता गराएपछि उनी घर जान समेत पाएकी छैनन्। बुबाआमालाई भेट्न नपाउँदै गर्दा कस्तो पीडा हुन्छ भन्ने शब्दमा व्यक्त गर्न सक्दिनन् प्रमीला। अरूले “बुबा–आमा” को कुरा गर्दा उनको आँखाबाट आँसु बग्छ। पीडाले शब्द निस्कँदैनन्।
प्रहरीले सँगै बस्न नदिएको समलिङ्गी जोडीको सिंहदरबार गुहारेपछि भयो विवाह दर्ता
माया त माया हो। मायाको न जात हुन्छ, न धर्म हुन्छ, न लिङ्ग हुन्छ, न उमेर हुन्छ। मायाको परिभाषा ठुलो र फराकिलो छ। संसारलाई जित्ने शक्ति प्रेममै हुन्छ। घृणा त्यसको ठिक विपरीत हो। मायाले सम्बन्ध जोड्छ, घृणाले तोड्छ। मायाको पहिचान नेपालको पहलमा सुशीला र प्रमीलाले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र पाएका थिए।
वैवाहिक समानता दिवस, मङ्सिर १३ मा, संस्थाले सुशीला र प्रमीला जस्ता जोडीलाई पनि सम्मान गरेको छ।

“बिचार–व्यवहार नमिलेर प्रेम रोकिन्न,” समावेशी समाजवादी पार्टीकी सचिव सञ्जीवनी लामा (सन्ध्या) सामाजिक सञ्जालमा लेख्छिन्।
“मानवता भित्रको विविधतालाई स्वीकार गर्न सक्नुपर्छ। यही नै मानवीय चरित्र हो। मायालाई प्रेमकै आँखाले हेर्नुपर्छ। बैगुनीलाई गुणले मार्नुपर्छ। ढुङ्गा हान्नेलाई फूलले हान्नुपर्छ।”

समावेशी समाजवादी पार्टीका उपाध्यक्ष बाबुधुमी राई भन्छन्, “वैवाहिक समानता दिवस केवल समुदायको लागि होइन, यो राष्ट्रिय दिवस नै हुनुपर्ने दिन हो।”
सुनिल बाबु पन्तले रत्नपार्कबाट सुरु गरेको समानताको लडाइँ इतिहास बनेको राईको टिप्पणी छ। “जन्मिँदा केटा भएर केटीको लुगा लगाउँछस् भन्ने प्रश्न आइरहन्थ्यो। आज मलाई कुनै हिचकिचाहट छैन,” राई भन्छन्,“त्यो वातावरण बनाउनका लागि समुदायका अग्रज पन्तले संसदमा बसेर लड्नु ठुलो चुनौती थियो।”
“समानताको अधिकार लड्दै–लड्दै विवाहसम्म आइपुगेर दिवस मनाउन पाउनु गर्वको विषय हो,” राईको भनाइ छ।
मायाको पहिचान नेपालको पहलमा २२/२३ समुदायका जोडीको विवाह दर्ता रेकर्ड रहेको जानकारी पनि कार्यक्रममा दिइयो।

समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बु (चञ्चला) भन्छिन्, “वैवाहिक समानता दिवस केवल समलिङ्गी–विपरीतलिंगी विवाह अधिकार मात्र होइन। यो त दुई आत्माबीचको सम्मान, एकअर्काको अस्तित्व स्विकार्ने पवित्र प्रतिज्ञा हो।”
उनले सामाजिक सञ्जालमा लेखेकी छन्,“प्रेमलाई प्रेमकै आँखाले हेर्न सिक्दा मात्रै समाज उचाइमा पुग्छ। विविधता स्विकार्दा बराबरी जन्मिन्छ। माया गर्नेहरू सधैँ सम्मानका हकदार हुन्छन्।”
संविधान सभाका पूर्व सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्त भन्छन्,“यो नेपालले इतिहास कोरेको महान् दिन हो।”
नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता भएको मङ्सिर १३ ले समानताको नयाँ युग सुरु गरेको उनले बताएका छन्। “यस दिनले संविधान, राज्य र नीतिको मान अझ उँचो बनायो। विश्व सामु नेपाल कति प्रगतिशील छ भन्ने पहिचान दियो,” पन्त भन्छन्।
“यो राष्ट्रिय गौरवको दिनलाई राज्यले किन नमान्ने? यो त समताको, स्वतन्त्रताको, मानवताको विजयको दिन हो।” मङ्सिर १३ ले प्रमाणित गरिदियो, नेपालमा मानवता हराएको छैन, बरु समानताको बिरुवा गहिरोसँग रोपिएको छ।
पन्त भन्छन्, हरेक व्यक्तिले चाहेअनुसार आफ्नो स्वतन्त्र जीवन बाँच्न पाउने अधिकार अब कानुनी र सामाजिक दुवै रूपमा पुष्टि भएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.