मानिसले सधैँ सोधिरहन्छ,“मनको यो अनवरत बकबक (Continuous Chatter) कसरी रोक्ने?”
पातञ्जलि योगसूत्रमा एक विद्यार्थीले यही प्रश्न गर्दा, पातञ्जलिको जवाफ अत्यन्त सटिक थियो, “मन रोकिन्न; तिमी मन बन्न छोडेपछि मात्र शान्त हुन्छ।”
उहाँले दिएको उपमा अझै स्पष्ट छ- नदी रोक्न नदीभित्र हाम्फालिन्छ भने तिमी नै बग्छौ। असल उपाय भनेको किनारमा बस्नु हो। किनार,‘तट’; र बस्ने-‘स्थ’।तटस्थ अर्थात् घटना–प्रवाहसँग नलागी, केवल बसेर हेर्ने। यही हो साक्षीभाव।
पूर्वीय दर्शनका मुख्य तीन आधार-बौद्ध, जैन, र वेदान्त-तीनैले साक्षीभावलाई मुक्ति, स्पष्टता र आत्मज्ञानको पहिलो ढोका मानेका छन्।
आज जब हाम्रो समाज चित्त–अशान्त, प्रतिक्रिया–प्रधान र उत्तेजनाले भरिएको छ, यी पुराना शिक्षाहरू पहिलेभन्दा कैयौँ गुणा अझ सान्दर्भिक भएका छन्।
१) बौद्ध परम्परा: “हेर्ने, तर आसक्त नहुने” सतिपट्ठानको शिक्षा
बौद्ध दर्शनले साक्षीभावलाई सति (Mindfulness) र समता (Equanimity) मार्फत विस्तार गर्छ।
सतिपट्ठान सुत्तमा बुद्धले चारवटा प्रत्यक्ष अभ्यास सिकाउनुहुन्छ-
शरीरलाई हेर्ने,
भावनालाई हेर्ने,
मनको अवस्थालाई हेर्ने,
धर्म (जसमा पञ्च खन्द: रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानको प्रकृति समावेश छ) लाई हेर्ने।
तर हेर्ने शैली महत्त्वपूर्ण छ- न त दमन, न त आशक्ति; केवल ‘जसरी छ, त्यसरी’ देख्ने।
विपश्यनामा यसको सरल सूत्र छ- केही कुरा “उठ्यो-हेर, बित्यो-हेर।”
यही कारण बौद्ध ध्यानले मनलाई दबाउँदैन। मनको प्रत्येक आवेग र विचारलाई तात्कालिक र अनित्य रूपमा उजागर गर्छ। रिस, खुसी, दुःख-यी सबै क्षणिक बादल हुन्, आकाश होइनन्। बादल आउँछ, जान्छ; आकाश सधैँ साक्षीको रूपमा यथावत् रहन्छ। जसलाई ‘देखियो’, त्यसबाट मुक्ति स्वाभाविक रूपमा उत्पन्न हुन्छ।
व्यवहारिक उदाहरण: तपाईँ सडकमा हिँडिरहनुभएको छ, छेउबाट तीव्र गतिमा एउटा गाडीले धूलो उडाउँदै गयो। मनको पहिलो प्रतिक्रिया रिस उठ्नु हो। तर, साक्षीभावले भन्छ-‘शरीरमा रिसको ताप उठ्यो,त्यसलाई हेर। मनमा गालीको विचार आयो, त्यसलाई हेर।’ तपाईँ त्यो रिस नबनी, केवल रिसको अनुभूतिलाई स्वीकार गर्ने तटस्थ दर्शक मात्र बन्नुहुन्छ।
२) जैन दर्शन: ‘वितरागता’-रागद्वेषमुक्त साक्षीको दृढ अभ्यास
जैन परम्परामा मुक्ति मार्गको पहिलो आधार नै वितरागता राग, द्वेष, मोहभन्दा अलग रहने मानसिक अवस्था।
जैन सन्तहरू “द्रष्टा–भाव” दर्शक भएर बस्न सिकाउँछन्। घटना भइरहन्छ, भावनाहरू उठिरहन्छन्, तर साधकले भन्छ, “यो बाह्य–प्रवाह हो; म त यसको मात्र साक्षी।”
उदाहरणका लागि: कसैले तपाईँलाई अपमान गर्यो। प्रतिक्रिया गर्नु भनेको कर्मको नयाँ बीउ रोप्नु हो (राग/द्वेष)। साक्षी हुनु भनेको अपमानको भावनालाई मात्र देख्नु हो।
जैन ध्यान (समाईक, कायोत्सर्ग आदि) सबैको केन्द्र एउटै छ: घटनासँग नटाँसिने। कारण आसक्त भएर बस्दा कर्ममा राग–द्वेष उत्पन्न हुन्छ; साक्षी भएर बस्दा कर्म आफैँ टुट्दै–टुट्दै जान्छ (क्षय हुन्छ)।
३) वेदान्त: ‘द्रष्टा’ र ‘दृश्य’ छुट्याउने अद्वैत दृष्टि
वेदान्तले साक्षीभावलाई चेतनाको मूल पहिचानका रूपमा व्याख्या गर्छ। मन, विचार, भाव, निर्णय सबै दृश्य; तर ती सबैलाई चुपचाप देखिरहेको द्रष्टा-शुद्ध आत्मा।
शङ्कराचार्यले बारम्बार याद गराउँछन्- “तिमी अनुभूति होइनौ, अनुभूतिको साक्षी हौ।”
वेदान्तको साधना मनलाई बलपूर्वक चुप गराउने होइन, मनलाई आफू भन्दा अलग वस्तु भनेर पहिचान गर्ने हो। एकपटक त्यो दूरी स्पष्ट भयो भने विचार उठ्छन्, तर तिमी बग्दैनौ।
भावना आउँछ, तर तिमी जल्दैनौ।
मन चिर्चिराउँछ, तर तिमी तट-स्थ रहन्छौ।
आजको समाजमा साक्षीभाव किन गम्भीर आवश्यकता बनेको छ?
सामाजिक सञ्जालले प्रतिक्रिया–संस्कृति बनाएको छ। राग, रिस, “मसँगै पाँच सेकेन्डमै जवाफ देऊ” भन्ने दबाबले चेतना अलमल्याएको छ। साक्षीभावले तत्काल प्रतिक्रिया दिने बानी रोक्छ।
राजनीतिक ध्रुवीकरणले समता सिक्न दिएको छैन। हामी सुन्नुभन्दा पहिले नै निर्णायक बन्दै गएका छौँ। साक्षीभावले हामीलाई अर्को पक्षलाई केवल हेर्न सिकाउँछ।
मानसिक स्वास्थ्य सङ्कट गहिरिँदै छ। मानिसहरू आफ्नो भावनालाई हेर्न सक्दैनन्, त्यसैले भावना नै उनीहरूलाई चलाउँछ।
आत्मपहिचान विचारसँग मिसिँदै छ। विचार मात्र विचार हो भनेर छुट्याउन सक्नुपर्छ-यही साक्षीभावले सिकाउँछ।
साक्षीभाव: आन्तरिक क्रान्तिको संस्कृति
पातञ्जलि भन्छन्- मन रोक्न खोज्यौ भने मनसँग झगडा मात्र बढ्छ। बुद्ध भन्छन्- हेर्न सके विचार आफैँ शान्त हुन्छ। महावीर भन्छन्- राग–द्वेष हटेपछि मन स्वतः निर्मल हुन्छ। वेदान्त भन्छ- साक्षी ज्ञानले मनको अधीनता टुट्छ।
ती सबैले एउटै सत्य दोहोर्याइरहेका छन्- मुक्ति नियन्त्रणमा होइन, स्पष्टतामा छ। शान्ति दमनमा होइन, दूरीमा छ। सच्चा स्वतन्त्रता नै यही दूरीमा छ।
नदी बगिरहेको छ- तिमी किनारमा बस्न सिक्यौ भने नदीले तिमीलाई कहाँ लैजान पनि सक्दैन। साक्षीभाव यही उच्चतम जीवन कला हो,अशान्त संसारभित्र बसेर पनि आन्तरिक शान्ति र स्थिरतालाई नगुमाउने कला। यो नै आजको युगको सबैभन्दा ठुलो र आवश्यक आन्तरिक क्रान्ति हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.