निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महोत्सव चलाउने होडबाजी, स्थानीय उत्पादनको बजारीकरण शून्य

महोत्सव चलाउने होडबाजी, स्थानीय उत्पादनको बजारीकरण शून्य

214
SHARES

आज भोलि नेपाल भरिनै महोत्सवको चहलपहल छाइरहेको छ। यो यस्तो मौसम छ, अहिले महोत्सव चलाउनेको होडबाजी र प्रतिस्पर्धा नै भएको छ, जुन गाउँदेखि शहरनै किन नहोस्। गाउँका कुनादेखि सहर बजारका ठुला ठुला स्थानहरूमा महोत्सव, कन्सर्ट, मेला, प्रदर्शनीको भ्याईनभ्याई छ।

अहिलेको यो विन्टर सिजनमा जहाँ टाढा-टाढादेखि दिनानुदिन मानिसको घुइचोनै लाग्ने गरेको छ। विशेषतः यी महोत्सवहरू यस्तै समयको मौका पारी आयोजना हुने गर्दछन्। जति पनि महोत्सव, मेला, कन्सर्ट आदीको आयोजना गरिएको हुन्छ यी प्रायः नाफा र व्यावसायिक रूपमा मात्र भएको छ, न कुनै सामाजिक न त कुनै उद्देश्य अनुरुपनै छ।

मुख्यतः बजार तथा व्यवसायको प्रवर्द्धनका लागी भनेरै महोत्सवहरूको आयोजना हुने गर्दछ, तर विभिन्न उद्देश्य लिएर गरेका महोत्सवहरू उद्देश्यमानै सीमित भएका छैनन्। कहिले के कहिले के भनेर विभिन्न खालका बहानामा पनि क्लब, सङ्घ संस्थाले उत्सवहरूको आयोजना गरेका छन्।

सानो-सानो मेला, उत्सवबाट अहिले ठुला खालका धेरै दिनसम्म चल्ने महोत्सव, स्टेट फेस्टिवल, न्यू इयर इभ, कन्सर्ट, आदीले शहर, गाउँ गल्ली तताइरहेको छ। जसका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्दछ। यसले गर्दा यहाँको व्यवसायमा टेवा पुग्ने गर्दछ र महोत्सवको पनि शान बढ्छ।

तर त्यो महोत्सव नाफा एवं फाइदामुखी मात्र हुने गर्दछ। त्यहाँ उपलब्ध हुने सामान स्वदेशी नभई विदेशी हुने गर्दछ। क्षणिक र टिकाउ कम, मुनाफा ज्यादामा ती सामान पाइने गर्दछन्, जसले गर्दा ग्राहकलाई घाटा पुग्ने गर्दछ। यही हो मौका भनी ग्राहक महँगो र नक्कली सामानमा ठगिने गरेको कैयौँ घटना महोत्सव, मेलामा हुने गर्दछ, यस्ता खालका क्रियाकलापमा आयोजक चनाखो हुनु पर्ने देखिन्छ।

सकारात्मक सोच र उद्देश्य अनुरूपका कामका लागिनै आयोजक लाग्नु पर्ने हुन्छ। स्थानीय तहमा हुने सांस्कृतिक, सामाजिक, भौतिक र आर्थिक पक्षलाई टेवा पुग्ने खालका कार्यक्रमहरू हुनु जरुरी छ, जुन क्षणिक उद्देश्य नभई दीर्घकालीन होस्।

पहिले सम्पन्न भएका महोत्सव, मेलाहरूको कहिल्यै पनि समीक्षा भएको पाइदैन्। सम्पन्न भएका कार्यक्रमले गाउँ शहरमा कत्तिको प्रभाव पार्‍यो त्यसले जनमानसमा फाइदा गर्‍यो कि गरेन? त्यसको कुनै लेखाजोखानै छैन।

महोत्सवको मुख्य ध्येयै आर्थिक आम्दानी सोचेका हुन्छन्, कसरी आयोजक धनी हुने भन्ने सोचले जरा गाडेको हुन्छ र धेरैनै उद्देश्य लिएर कार्यक्रम गर्ने गर्दछन्। त्यो आयोजकको काम हो र सम्पन्न भई सकेपछि त्यसको हरहिसाब कत्तिको सही या गलत हो त्यसको पूर्ण जानकारी पाउनु पनि नागरिकको अधिकार हो। यसका लागि राज्य एवं त्यस समुदायको कर्तव्य, खबरदारी र जबाफदेही हुनु पनि हो। अहिलेका महोत्सव उही नाच गान, खेलकुद भन्दा अन्य केही गर्न सकेको देखिँदैन।

महोत्सव, मेला भन्दै विभिन्न सङ्घ संस्थाले ठुलो धनराशि खर्ची रहेको छ र आफ्नो व्यवसाय फस्टाइरहेको पनि छ। तर महोत्सव सम्पन्न भइसकेपछि सामान्य आयोजकले एउटा मायाको चिन्ह समेत उपलब्ध नगराउँदा कति व्यवसायीहरू रुष्ट पनि भएका छन्।

किनकि सामान्य उपहारले पनि व्यवसायीलाई पुनः सो स्थानमा स्टल वा सहयोग गर्न मद्दत पुग्ने हुन्छ। यसमा आयोजकले ध्यान दिनु जरुरी छ। जसले सर्वोत्कृष्टलाई पुरस्कार र हौसला प्रदान हुने पनि गर्दछ। महोत्सवमा स्थानीय मौलिक बाजा गाजालाई प्रोत्साहन दिने जसका कारण ती लोप हुन नसकुन् त्यसले जीवन्त अमर बनाइ रहेको हुन्छ।

महोत्सवमा स्थानीय कलाकारद्वारा नाटक मञ्चन एवं साहित्य, कला, भेसभुसा, सङ्गीतको उचित सम्मान गर्नु जरुरी छ। महोत्सवले धेरै उद्देश्य पुरा गर्छ भनेर बिगुल फुक्दै हिँड्नु भन्दा थोरै आवश्यकताको प्रचार र थोरै नै कत्तिको पुरा गर्न सकियो भनेर हेर्नु पर्दछ। माग मात्र गर्दै जाने तर कार्यान्वयन नहुँदा अप्ठ्यारो पर्ने गर्दछ।

पहिले सम्पन्न भएका महोत्सव, मेलाहरूको कहिल्यै पनि समीक्षा भएको पाइदैन्। सम्पन्न भएका कार्यक्रमले गाउँ शहरमा कत्तिको प्रभाव पार्‍यो त्यसले जनमानसमा फाइदा गर्‍यो कि गरेन? त्यसको कुनै लेखाजोखानै छैन। आगामी हुने यी कार्यक्रमलाई मध्यनजर गर्नु पर्दछ। जसबाट भावी कार्यक्रमलाई टेवा पुग्दछ।

२०६१, २०६४, २०६७, २०७०, २०७३, २०७६, २०७९ हुँदै पर्वतमा उद्योग वाणिज्य सङ्घले तीन/तीन वर्षमा महोत्सव आयोजना गर्दै आएसँगै २०८२ को महोत्सव आयोजना हुँदैछ। अहिले पनि बजार बेहुली झैँ सिँगारिने क्रममा छ। जिल्लाका जात-जातिको आफ्नै भाषा, संस्कार छ। तर त्यो अहिले लोप हुने क्रममा छ।

नेवारको भाषा, लाखे नाच, हनुमान नाच, धिमी बाजा, बास्सा निकाल्ने, योमरी रोटी, म्हँ पूजा आफैमा राम्रो भएपनि कसैले चासो नदिँदा लोप भएको छ। हो यस्ता खालका संस्कृतिलाई जोगाइ राख्न अहिलेको महोत्सवले विशेष चासो दिनु पर्दछ। साथ साथै गुरुङको ल्होसार, मगरको सिस्नो खोस्ने, सालैजो भाका आदी जातजातिका रहनसहन, संस्कार, झाँकीलाई जीवन्त राख्नु आवश्यक छ।

पर्वत जिल्लामा उत्पादित बस्तुहरूको प्रवर्द्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र संवर्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यवसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्देश्य रहे पनि त्यो गतिलो तहबाट लागु कहिल्यै भएको पाइँदैन।

स्थानीय उद्योगको संवर्द्धन, उद्यमशीलताको विकास, प्रविधिको प्रयोगबाट उत्पादनमा वृद्धि ,व्यावसायिक कृषि उत्पादन, व्यवसाय र व्यवसायीहरूको बजारीकरणलाई राखिए पनि अहिलेसम्म उनीहरूको सहभागिताले खासै प्रमुखता पाउन भने सकेको छैन। साहित्य, भाषा कला लगायतका सामाजिक तथा सांस्कृतिक पक्षमा नयाँ आयाम ल्याउन सकेको कहिल्यै देखिँदैन।

पर्वत नयाँ पुल देखिको र्‍याफ्टिङलाई मोदिवेणीसम्मको रुट बनाएको भए आयोजकलाई थप आर्थिक लाभ हुने देखिन्छ। बलेवाको यान्त्रिक पुललाई सोही स्थानमा कुनै पार्क, टावर हालेर राख्न सके बाहिरबाट आउने पर्यटकलाई अझ मनोरञ्जन प्रदान गर्न सकिन्थ्यो। जसले बलेवाका बासिन्दाको आर्थिकपार्जन गर्न मद्दत पुग्दछ। संस्थागत फाइदा मात्र हेरेर हुँदैन स्थानीय व्यक्तिको, समुदायको पनि हेर्नु पर्दछ।

अहिलेसम्म यहाँको स्थानीय तहमा उत्पादन हुने वस्तुको बजारीकरण छ या छैन त्यो हेर्नु पर्दछ। गाउँदेखि तरकारी लिएर आउँछन् त्यसको व्यापार छ कि छैन त्यो हेर्नुपर्‍यो। अन्य ठाउँबाट आयात हुने सामान यहाँको भन्दा सस्तो र भरपर्दो हुनु पर्‍यो नत्र कसले महँगो हालेर सामान खरिद गर्दछ। यसलाई मध्यनजर गर्नु पर्दछ। जसका कारण गाउँदेखि ल्याउने सामान नबिकेर बाटैमा फ्याँकेर हिँड्नु पर्ने अवस्था आउन बेर लाग्दैन।

सामान बिक्री नहुँदा पनि त्यसको कुनै मूल्य पर्ने वा स्टक राखी बेच्न एवं क्षतिपूर्ति दिन सक्ने हुनु पर्‍यो। कृषकलाई घाटा पर्ने खालको हुनु भएन। तब मात्र स्थानीय बिक्रेतालाई फाइदा पुग्छ।

महोत्सव गर्ने होडबाजी छिमेकी जिल्लामा समेत सँग-सँगै हुनुले एउटै धौलागिरि क्षेत्र भएर पनि एक आपसमा सहजीकरण नहुनुले दुबैलाई क्षति पुग्ने देखिन्छ। साँढेको जुधाई, बाच्छाको मिचाई हुने निश्चित छ। तसर्थ दुवै आयोजकलाई अत्यन्त चुनौतीको सामना गर्नु पर्ने छ। साथै बारम्बार महोत्सवको ढाँचा दोहोरिनु र फरक पन नहुनुका कारण यस पटक फलामको चिउरा चपाउनु पर्ने अवस्था हुने हुँदा अब सच्चिन आवश्यक छ।

उद्योग वाणिज्य सङ्घले लगानी भित्र्याउने खालका स्किम ल्याउन पहल गर्नु र महोत्सवहरूको अनुभव, प्राप्त सल्लाह, समीक्षा र सुझावलाई मनन गरी मार्गनिर्देशनका रूपमा अगाडि बढी सामाजिक, सांस्कृतिक, भौतिक, धार्मिक रूपमा फाइदा र स्थानीय सामाग्रीको प्रवर्द्धन गर्न सके यसले आगामी दिनमा टेवा पुग्ने देखिन्छ।

समाचार शेयर गर्नुहोस्
214
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.