निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कोटेश्वरमा फ्लाइओभर निर्माण गर्न जापानसँग ऋण सम्झौता

कोटेश्वरमा फ्लाइओभर निर्माण गर्न जापानसँग ऋण सम्झौता

193
SHARES

काठमाडौँ – नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब रु. ३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको छ।

जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टङ्क प्रसाद पाण्डेयले जानकारी दिए।

यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौँ, ललितपुर, भक्तपुर तथा वि.पी.राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको प्रवक्ता पाण्डेयले बताए।

आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।

हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु तथा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सम्बोधन गर्दै द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

जापानी राजदूतले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुका साथै नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे।

अर्थ मन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल-जापान सहकार्यअन्तर्गत काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

समाचार शेयर गर्नुहोस्
193
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.