मानव इतिहासमा शिक्षालाई सधैँ सत्ता संरचनाको छायामा राखिएको छ। पितृसत्ता, राज्य, धर्म-यी सबैले शिक्षा प्रणालीलाई आफ्नो निरन्तरता सुनिश्चित गर्ने माध्यमको रूपमा उपयोग गरेका छन्।
यही कारण, संस्कृति–आधारित शिक्षा होस् वा आधुनिक अकादमिक शिक्षा, दुवैको मूल दर्शन एउटै देखिन्छ: मानव चेतनालाई सीमित, अनुशासित र आज्ञापालक बनाउनु।
शिक्षा, जसले प्रश्न सोध्न हिम्मत दिन्थ्यो, अहिले “सही उत्तर” सिकाउने कारखाना बनेको छ। शिक्षा, जसले चेतना खोल्थ्यो, अहिले चेतनालाई साँघुरो बनाउने प्रविधि बनेको छ। र यस्तो शिक्षा अन्ततः सत्ता संरचनालाई बलियो बनाउँछ, मानिसलाई होइन।
तर यही भूभागमा, यही इतिहासमा, एउटा यस्तो परम्परा छ-जसले सांस्कृतिक होइन, स्वतन्त्रता। विश्वास होइन, अनुभव। र आज्ञापालन होइन, अवज्ञालाई नै सत्यतर्फको मार्ग ठान्छ। त्यो परम्परा हो-तन्त्र।
१. तन्त्रको दार्शनिक संरचना: चेतनाको विस्तार
‘तन्त्र’ शब्द तन (फैलिनु) र त्र (उद्धार गर्ने) बाट बनेको छ। दार्शनिक अर्थमा, तन्त्र,“मानव चेतनालाई सीमित संरचनाबाट मुक्त गर्दै यसको सम्भावनालाई विस्तार गर्ने प्रज्ञा–पद्धति।”
तन्त्र कुनै धर्म होइन; यो अस्तित्व, शरीर, ऊर्जा र मनसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अनुभववाद (experientialism) हो। यसले भन्छ-सत्य बाहिर किताबमा होइन; सत्य चेतनामा छ। र चेतनालाई फैलाउँदा मात्र मानव स्वतन्त्र हुन्छ। यसैले तन्त्र मूलतः अवज्ञामूलक हो-सामाजिक भय, राजनीतिक आदेश, धार्मिक कठोरता,यी सबैलाई प्रश्न गर्छ।
२. तान्त्रिक: सत्ता होइन, सत्यतर्फ उन्मुख साधक
‘तान्त्रिक’ भन्नाले पुस्तकमा विश्वास गर्ने होइन-अनुभूतिमा विश्वास गर्ने जीव हो। तान्त्रिक चेतनाको दार्शनिक आधार-“सत्य बाहिर होइन, अनुभवमा छ।”
“ज्ञान वार्तालाप होइन, रूपान्तरण हो।”
“अवज्ञा कुनै अपराध होइन, अन्यायविरुद्धको सचेत प्रतिरोध हो।”
तान्त्रिकका लागि शरीर, संवेदना, श्वास, मन, कल्पना-सबै विद्यालय हुन्।
बाह्य सत्ता भन्दा ठूलो सत्ता स्वचेतना हो भन्ने मान्यता तान्त्रिक दर्शनको कोर हो।
यसकारण तान्त्रिक चेतना सधैँ राजनीतिक संरचना (विशेषगरी पितृसत्ता) सँग तनावमा रहन्छ।
३. शिक्षा: संरचनात्मक आज्ञापालन vs तान्त्रिक खोज
(क) संरचनात्मक/अनुशासनात्मक शिक्षा
यो शिक्षाको आधार-“विश्वास” हो। गुरु सत्य हुन्, पुस्तक अपरिवर्तनीय छ, नियम अतर्क्य छ, सत्ता स्वाभाविक छ, अवज्ञा अपराध छ। यसले अनुशासन, आज्ञापालन, दोषभावना र सामूहिक मौन निर्माण गर्छ। यही कारण यस्तो शिक्षा हरेक शोषणकारी संरचनाको प्रिय हुन्छ।
(ख) तान्त्रिक खोज-आधारित शिक्षा
यो शिक्षाको आधार-अनुभव हो। प्रश्न तर्कको आरम्भ हो, चेतना अध्ययनको विषय हो, शरीर र संवेदना वैध ज्ञानका स्रोत हुन्, अवज्ञा अन्यायविरुद्ध चेतनाको क्रिया हो, सृजनशीलता नै मुक्तिको मार्ग हो।
यसरी, तान्त्रिक दर्शनले शिक्षा फर्केर “चेतना विस्तार” को दिशामा चल्नुपर्ने बताउँछ-जसले मानवलाई सत्ता होइन, स्वतन्त्रताको अभ्यास गराउँछ।
४. तान्त्रिक परम्पराहरू: तीन धर्म, एकै चेतना
बौद्ध तन्त्र
‘एहि पस्सिको’-“आएर आफैँ जाँच”-आज्ञापालनको होइन, तान्त्रिक चेतनाको आधार हो। ज्ञान शब्द होइन, प्रत्यक्षता हो।
हिन्दू शक्त–तन्त्र
काली, उग्रतारा, तारा-यी देवीहरू तर्कमाथि होइन, रूपान्तरणमाथि आधारित छन्। शक्तिपूजाले सीमाना तोडेर चेतनाको अवरोध भत्काइदिन्छ।
तिब्बती तान्त्रिकवाद
शरीर, ऊर्जा र दृश्य–कल्पना (visualization)-यी सबैलाई चेतना प्रसारित गर्ने विज्ञान जस्तै प्रयोग गर्छ। त्यहाँ गुरु आदेशका लागि होइन, आन्तरिक प्रत्यक्षता जगाउन हुन्छ।
यी तीन परम्पराको मूल भिन्न होला, तर दार्शनिक केन्द्र एउटै छ-“सत्य अनुभूतिमा छ, आज्ञापालनमा होइन।”
५. निष्कर्ष: शिक्षा तान्त्रिक चेतनातर्फ फर्कनुपर्छ
आजको शिक्षा- संरचना–केन्द्रित, अनुशासनमूलक, पितृसत्तामुखी बनेको छ। तर मानव चेतना सीमालाई तोड्ने, नयाँ ज्ञानको सम्भावना खोज्ने, सृजनशील जोखिम उठाउने परम्परा तन्त्रमै पाइन्छ। त्यसैले शिक्षा प्रणालीलाई दुई बाटोमध्ये एक रोज्नुपर्छ।
१. सत्ता कायम राख्ने आज्ञापालन–मूलक शिक्षा,
२. मानव चेतना विस्तार गर्ने तान्त्रिक शिक्षा।
यदि मानव स्वतन्त्रता नै लक्ष्य हो भने, हामीले दोस्रो बाटो रोज्नैपर्छ। किनकि तान्त्रिक चेतना मात्रै त्यो स्थान हो जहाँ शिक्षा आज्ञापालन होइन-मुक्ति बन्न सक्छ।
(लेखक सुनिल बाबु पन्त पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक हुन्।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.