काभ्रेपलान्चोक – रोशी खोलामा वर्षौँदेखि दोहोरिने बाढी–पहिरोको जोखिम, त्यसमाथि खानेपानी संरचना र सडक–सञ्चारविहीन कठिन भौगोलिक अवस्थाले काभ्रेपलान्चोक जिल्लाको मंगलटारका स्थानीय वर्षौँसम्म सास्ती भोग्न बाध्य बने। देउराली चौतारो एक समय थकाइ मेटाउने मात्र होइन, मानवीय सेवा, उद्धार र सामाजिक सहकार्यको केन्द्र बिन्दु थियो।
खोलाले बगाएर मानिसको ज्यान जाने, मुहान भत्काएर धारो सुक्ने, अस्पताल लैजाँदै मृत्युसम्म हुने त्यस्ता पीडादायी क्षणहरूमा स्थानीय युवादेखि सामाजिक अभियन्तासम्म निरन्तर खटिएको इतिहास मंगलटारले बोकेको छ। पहाड–खोल्साका असहज मार्ग, हेल्पलाइन नपुग्ने अवस्था र राज्यको उपस्थिति न्यून भइरहँदा, समुदायकै हातले मानवीय जिम्मेवारी पूरा भइरहेको थियो।
यही चुनौती, यही संवेदना र यही सेवाभावलाई आधार बनाएर अहिले फेरि स्थानीय युवा देउराली चौतारोलाई महत्त्वपूर्ण सामुदायिक स्थलका रूपमा पुनर्जीवित गर्ने अभियानमा उत्रिएका छन्।
रोशीको बाढीले पुर्याएका क्षतिहरूले अझै घाउ चिलाइरहे पनि, समुदाय भने पुनर्निर्माण, सहकार्य र दीगोसमाधानको दिशामा दृढतापूर्वक अघि बढिरहेका छन्। सामाजिक एकता, स्वयंसेवा संस्कृति र ‘समुदाय स्वयं नै बलियो’ भन्ने विश्वासले मंगलटार फेरि उठ्ने सङ्केत देखिएको छ।
रोशी खोलाले हरेक वर्ष बगाइदिने बस्ती, भत्काइदिने खानेपानीका संरचना र दशौँ वर्षदेखि स्थानीयलाई थिचिरहेको बाढी–पहिरोको जोखिमबीच काभ्रेपलान्चोकको रोशी गाउँपालिका–९ मंगलटारमा रहेको देउराली चौतारोलाई पुनः महत्त्वपूर्ण सामाजिक थलो बनाउने अभियान स्थानीय युवाले सुरु गरेका छन्।

रोशीको बाढीले वर्षौँदेखि पीडित रहेको क्षेत्रमा अहिले समुदायको सक्रियता र खानेपानीको पुनर्निर्माणले फेरि आशा जगाएको छ। २०४५ सालअघिसम्म स्थानीय शंखबुद्ध्द लामा, सानुकान्छा तामाङ, अक्कलबहादुर तामाङ र इन्द्रकुमार श्रेष्ठ सामाजिक र मानवीय सेवामा निरन्तर सक्रिय थिए। त्यतिबेला रोशी खोलाको बाढीले अत्यधिक क्षति पुर्याउँथ्यो, यातायात थिएन, सञ्चारका माध्यम थिएनन्।
पूर्व ओखलढुङ्गादेखि काठमाडौँ जोड्ने पुरानो गोरेटो बाटो मंगलटार हुँदै जान्थ्यो। देउराली चौतारोमै आकस्मिक रूपमा बिरामी ल्याउँदै गर्दा अस्पताल पुग्न नपाएर दुई जनाको निधन भएको प्रसङ्ग इन्द्रकुमार सुनाउँछन्।
थकाई बिसाउने प्रमुख थलो थियो देउराली चौतारो। बाढीले मान्छे बगाउँथ्यो, र ती लाशहरू उठाएर दाहसंस्कारसम्ममा शंखबुद्ध्द, सानुकान्छा, अक्कलबहादुर र इन्द्रकुमारजस्ता स्थानीय अग्रज नै खटिन्थे। वर्षौँअघि सरकारी राहत नपुग्दा पनि गाउँकै हातमा भर पर्ने अवस्था थियो, र यही मानवीय सेवाले मंगलटारको सामाजिक संरचना मजबुत बनाएको थियो।

२०४५ सालमा शंखबुद्ध्दको सभापतित्वमा रेडक्रस उपशाखा तदर्थ समिति बन्यो, संस्थापक सभापति शंखबुद्धकै नेतृत्वमा २०४९ साल उपशाखाले वैधानिकता पायो, इन्द्रबहादुर ले सुनाए। जिल्ला शाखामा अनुरोध गरी नेपाल रेडक्रस सोसाइटीको उपशाखा स्थापना गरिएको स्मरण इन्द्रकुमारले गरे। स्थापनादेखि नै उनीहरूले सामाजिक क्षेत्रमा अविरल काम गर्दै आएका छन्।
उमेरले ७४ वर्ष पुगेका इन्द्रकुमार भन्छन्, “खानेपानी महत्त्वपूर्ण हो, त्यसपछि स्वास्थ्य र शिक्षा, अनि विद्युत् र यातायात।” १७–१८ वर्षदेखि सामाजिक सेवामा सक्रिय उनी कुनै जागिरको लोभ नगरी काममा समर्पित रहँदै आएका छन्।
उनले अहिले भाइ–भतिजालाई काखैमा राखेर सिकाउँदै जिम्मेवारी हस्तान्तरण गरिसकेका छन्। अब देउराली चौतारोमा एउटा पानी ट्याङ्की निर्माण गर्न सहयोगको आशा उनी राख्छन्।
गत वर्ष असोजमा आएको बाढीले स्थानीय क्षेत्रमा ठूलो धनजन क्षति गरायो, पक्की भवन ढल्यो, अन्नपात तथा बस्तुभाउ बगायो, खानेपानीका संरचना पूर्ण रूपमा भत्किए। बाढी–पहिरोको स्थायी जोखिममा रहेको रोशी गाउँपालिका अहिले पुनर्निर्माणको चरणमा छ।
बिपी राजमार्गमा पर्ने वडा नं. ९ मंगलटार बजारमै खानेपानीका लागि स्थानीयले ठूलो सास्ती व्यहोर्नुपर्यो। २०५८–५९ तिर ‘एक घर–एक धारा’ अवधारणाअनुसार धारा जडान भए पनि दुई–चार महिनापछि पानी बग्नै छाड्थ्यो।
खानेपानीको मुहानमा क्षति पुगेपछि पुनर्निर्माण हुन सकेको थिएन। मुहान एक्लै जान नसकिने टाढा स्थानमा थियो, व्यक्तिगत रूपमा पाइप जोडिएका मुहानहरू पनि हरेक वर्ष बाढी–पहिरोले क्षतविक्षत हुन्थे।
यही समस्यालाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले २०८२ असोज १८ र १९ गतेको अविरल वर्षा तथा बाढीबाट क्षतिग्रस्त देउराली चौतारा धाराको पाइप र मुहान पुनःनिर्माण गरी हस्तान्तरण गरेको छ। रोशी गाउँपालिका–९ र रेडक्रस मंगलटार उपशाखाको अनुरोधमा प्राविधिकको सुझाव र दीगोयोजनाअनुसार मुहानमा इन्टेक निर्माण, क्षतिग्रस्त पाइप तथा सप्लाई स्थान परिवर्तन गरिएको हो। यसबाट ३० घरधुरीलाई खानेपानी सुचारु गरिएको छ।

मंगलटारमा व्यक्तिगत रूपमा अनेक धारा निर्माण भए पनि समस्या उही, एक–दुई महिनामा सुकेर धारा निष्क्रिय हुने। मुहान टाढा र जोखिमयुक्त हुँदा वर्षौँसम्म स्थानीय पीडित बने। अहिले भने रेडक्रस काठमाडौँ जिल्ला शाखाको सहयोग र प्राविधिक सल्लाहले गरिएको पुनर्निर्माण सफल भएको रेडक्रस मंगलटार उपशाखाका सभापति दामोदर श्रेष्ठ बताउँछन्। यो धारा मंगलटार बजारको वैकल्पिक खानेपानी स्रोत बन्नेछ।
काभ्रे जिल्ला शाखाका सभापति देवेन्द्र भैल भन्छन्, रोशीमा पीडा धेरै देखियो तर केही गर्न नसकिएको अनुभूति रहन्थ्यो, तर उपशाखाले बाढीपीडितका लागि जुटाएको सहयोग र गरेको काम अत्यन्तै उदाहरणीय छ। जिल्ला शाखाले उपशाखालाई पुरस्कृतसमेत गरेको छ, र खानेपानी क्षेत्रको यो काम आदर्श मानिने उनले बताए।
रेडक्रस काभ्रे उपसभापति तथा वडा नं. ९ का पूर्व अध्यक्ष ज्ञानबहादुर तामाङ पनि बाढी–पहिरोले क्षतिग्रस्त संरचना मर्मतका लागि सहयोग जुटाइरहेको बताउँछन्।
सहयोगको भावना कुनै एउटा भूगोलमै सीमित नराख्ने, अप्ठ्यारो परेको छिमेकमा समेत पुग्ने मर्म सधैँ रहँदै आएको नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले जनाएको छ। यही भावना लिएर शाखाले २०८० सालको भूकम्पले क्षतिग्रस्त बझाङको थलारा–९ स्थित भवानी आधारभूत विद्यालय पुनःस्थापना गरिदिएको सभापति श्यामकाजी डोटेल स्मरण गर्छन्।
त्रिपालमुनि पढ्दै आएका विद्यार्थीहरूलाई तीन कोठे विद्यालय भवन निर्माण गरी सहज पठनपाठनको वातावरण उपलब्ध गराइएको थियो। विदेशी दातृ निकाय खोज्नुपरेन, आफ्नै सदस्यहरूको खाजा–खर्च कटाएर १५ लाखभन्दा बढी रकम सङ्कलन गरिएको उनले बताए।
२०८१–८२ को रोशी बाढी काठमाडौँले नजिकैबाट नियालिरहेको थियो। २०८१ को दशैंमा खानेकुराको अभाव परेका बेला रेडक्रस काठमाडौँले तत्कालै सहयोग पुर्याएको सभापति डोटेल स्मरण गर्छन्। रेडक्रस काठमाडौँ जिल्ला शाखा, मंगलटार उपशाखा र वडा नं. ९ कार्यालयबीचको सम्झौताअनुसार खानेपानी योजना सम्पन्न भएको जानकारी उनले दिए।
स्थानीय सरकारको अनुमति बिना कुनै पनि सङ्घ–संस्थाले काम गर्न नपाउने भएकाले आवश्यक अनुमति लिएर मात्रै सहयोग गरिएको, बाह्य डोनर खोज्नु आवश्यक नपरी आन्तरिक स्रोत–साधनले नै ठूलो काम गर्न सकिने उदाहरण यही योजना भएको उनले बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.