काठमाडौँ – “ओइ बढी बोल्छस्, के गर्छस् तैँले, बोलाऊ? होस गर, तेरो सत्यानाश हुँदै जान्छ” भन्ने शब्दसहित सडकमा उभिएर सर्वसाधारणलाई थुक्कथुक्कथुक्क गरेको दृश्य देखिने भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।
टिकटकमा भाइरल बनेको यो भिडियो अरू कसैको नभई ब्लु डायमन्ड सोसाइटीका अध्यक्ष उमेश पाण्डे (अमीशा)कै हो। कुनै गल्ती नगरेका युवकलाई किन यस्तो व्यवहार गरेको भनेर सोध्दा अमीशाले श्राप मात्र दिइनन्, थुक्कथुक्क थुकेर समुदायकै बेइज्जत गराइन।
भिडियो सार्वजनिक भएपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी तथा समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बु (चञ्चला)ले समुदायकै सदस्य भएर पनि ब्लु डायमन्ड सोसाइटीका अध्यक्षको यस्तो भिडियो सेयर गर्न लाज लागेको प्रतिक्रिया दिइन। “सबै एउटै हुँदैनन्, मिलाएर बुझ्नु होला,” उनले लेखिन।
भिडियो पोस्ट गर्ने व्यक्तिले चञ्चलाको कमेन्ट पढेपछि भिडियो हटाए। गल्ती कार चालकको थियो, चालकले सरी भनेका थिए। तर पछाडिबाट अमीशा आएर तथानाम बोलिन्। भिडियो पोस्ट गर्ने व्यक्तिले च्याटमा भनेको चञ्चलाले सार्वजनिक पनि गरिन्।
गाली खाने युवकले भिडियो पोस्ट गरेपछि मात्र अमीशा ब्लु डायमन्डको अध्यक्ष भएको पत्ता लगाए। “डर लाग्यो र भिडियो हटाएँ,” उनले भने। उनले नुमालाई च्याट गर्दै आफूले केही गल्ती नगरेको बताए। “तेस्रोलिंगीले दिएको श्राप लाग्छ भन्छन्, घरमा बुबाममी हुनुहुन्छ, केही भयो भने… डर लाग्यो। कमेन्ट पढेपछि भिडियो हटाएँ,” उनको भनाइ छ।
अधिकारका लागि लड्ने नेतृत्वले नै अन्धविश्वासलाई बलियो बनाउनु दुर्भाग्यपूर्ण
सामाजिक सञ्जालमा अमीशाले “तेस्रोलिंगीले श्राप दिए लाग्छ, बढी बोल्छस्” भन्दै गरेको धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक भएको छ। अधिकारकर्मीका अनुसार यस्तो भिडियोले सङ्घर्षरत समुदायलाई “अन्धविश्वास र धाकधम्की प्रयोग गर्ने समूह” को रूपमा देखाउने जोखिम बढाएको छ।
फेसबुकदेखि टिकटकसम्म भिडियो व्यापक रूपमा फैलिएको छ। ब्लु डायमन्डभित्र समुदायबाट समुदायमै शोषण भएको आरोपमा लामो समय मौन बसेका अध्यक्ष अमीशाको यो भिडियोले धाकधम्की र गैरजिम्मेवार भाषा प्रयोग गर्दै समुदायकै छविमा आघात पुर्याएको भन्दै सदस्यहरूले आपत्ति जनाइरहेका छन्।
दक्षिण एसियाली समाजका धेरै मानिसहरू (साथै हिजडा, तेस्रोलिंगी, ट्रान्सजेन्डर समुदायका धेरै व्यक्तिहरू) अहिले पनि “हिजडाले दिएको आशीर्वाद र श्राप साँच्चिकै पूरा हुन्छ” भन्ने विश्वासमा बाँधिएका छन्।
यसले कतिपयलाई जीविकोपार्जन र सामाजिक बँचाइमा आधार दिएको भए पनि,आशीर्वाद–श्रापको संस्कृतिले समुदायलाई सीमित र असहाय बनाउने काम समेत गरेको स्विकारिन्छ। यही विश्वास धेरै ठाउँमा दुरुपयोगको स्रोत बन्दै गएको समुदायका जानकारहरूको भनाइ छ।
“श्राप लाग्छ” भन्ने भय सिर्जना गरेर दबाउने, जबरजस्ती पैसा माग्ने, असहमतलाई आफ्नो प्रभावमा ल्याउने वा व्यक्तिगत फाइदाका लागि हतियारझैँ प्रयोग गर्ने प्रवृत्ति मौलाउँदै गएको उनीहरूको टिप्पणी छ।
अझ दुःखद त, केही नाम चलेका अधिकारकर्मी (ब्लु डायमन्डकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ (पिंकी) , कार्यकारी निर्देशक सुवेन ढकाल (मनिषा), सञ्जय शर्मा, प्रकाश निरौला ग्याङमा भएका व्यक्तिहरू पनि यही अन्धविश्वासलाई मलजल दिँदै आएका छन् भन्ने आरोप समुदायभित्र उठिरहेको छ।
समुदायको निष्कर्षमा यस्ता संस्कृतिको अधिकार र न्यायका प्रश्नसँग कुनै प्रत्यक्ष सम्बन्ध छैन। यसले मानिसलाई असहाय बनाउँछ, डरमा बाँच्न बाध्य पार्छ, र समुदायको दीर्घकालीन मुक्ति यात्रालाई कमजोर बनाउँछ। अन्धविश्वास बलियो बन्दै जाँदा समानता र न्यायका लागि भएको सङ्घर्ष नै विचलित हुने समुदायका अग्रपंक्तिका अधिकारकर्मीहरूको चेतावनी छ।
एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्तले पनि चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार अधिकारका लागि लड्ने नेतृत्वले नै अन्धविश्वासलाई बलियो बनाउनु दुर्भाग्यपूर्ण हो।
“कम्तीमा अधिकारका लागि लडिरहेका अग्रपंक्तिका समुदायका अधिकारकर्मीहरूले त अन्यायविरुद्ध वैज्ञानिक सोच र अधिकार–आधारित कार्यदृष्टिका साथ लड्नुपर्छ, अन्धविश्वास बलियो बनाउने होइन,” पन्त भन्छन्।
“सामाजिक सम्मान, आत्म–गौरव र समान नागरिकका रूपमा पहिचान स्थापित गर्ने हाम्रो मार्ग ‘श्राप–आशीर्वादको डर’ बाट प्राप्त हुँदैन। समानता, न्याय र अधिकारका लागि वैज्ञानिक बाटो अपनाउनुपर्छ।”
समुदायभित्र अहिले नेतृत्वको यस्तो व्यवहार रोक्नुपर्ने माग चर्किँदै गएको छ। धम्कीपूर्ण भाषा र अन्धविश्वासको प्रयोगले दशकौँको सङ्घर्षका उपलब्धिमाथि असर पार्ने चिन्ता व्यक्त गर्दै समुदायले सम्मान, वैज्ञानिक सोच र लोकतान्त्रिक अभ्यासमार्फत समाधान खोजिनुपर्नेमा जोड दिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.