काठमाडौँ – बाहिर व्यवस्था परिवर्तनको नारा लगाउने, भित्र माफी माग्ने व्यवसायी दुर्गा प्रसाईँ २० लाखसम्मको ऋण मिनाहा गराउने लोभमा मान्छे भेला पारिरहेका छन्। नारा लगाइरहेका छन्।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई देवी दुर्गाको मूर्ति उपहार दिएर कुराकानी गरेका प्रसाईँले आफू प्रधानमन्त्री बने २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने अभिव्यक्ति दिए।
प्रसाईँ स्वयं बैङ्कबाट ऋण लिएर नतिरी अरूलाई पनि ऋण तिर्नु पर्दैन भन्ने भ्रामक अभिव्यक्ति दिँदै आएका विवादित व्यक्ति हुन्। व्यापारी र नेताको नाम तोक्दै गालीगलौज गर्ने, भीडलाई उत्तेजित पार्न खप्पिस प्रसाईँले प्रधानमन्त्री कार्कीसँगको भेटपछि आफू प्रधानमन्त्री भए २० लाखसम्मको ऋण तिर्न नपर्ने बताए।
प्रसाईँले बैङ्कबाट लिएको झन्डै ६ अर्ब ऋण नतिरेको आरोप छ। आफूले ऋण तिर्न नसकेपछि उनी अरूलाई पनि ऋण नतिर्न उक्साइरहेका छन्। जुन पैसा सर्वसाधारण जनताको बचत रकम हो। राज्य संयन्त्रमाथि औँला उठाएर प्रसाईँ ऋण नतिर्न हल्ला गरिरहेका छन्। यसले बैङ्क तथा वित्तीय संस्थामा कर्जाको जोखिम बढेको छ।
बैङ्क तथा वित्तीय संस्थामा जनताले जम्मा गरेको रकम करिब ७५ खर्ब पुगेको छ। यो भनेको जनताको निक्षेप हो। नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार बैङ्क तथा वित्तीय संस्थाले जनताको निक्षेपको निश्चित रकम ऋण प्रवाह गर्छन्। नेपाल राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थाबाट करिब ५६ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
ऋणको सावाब्याज नियमित रूपमा असुली भएन भने त्यसको प्रत्यक्ष प्रभाव निक्षेपकर्तामा पर्छ। ऋणीले पैसा लिएर चुक्ता नगर्ने हो भने निक्षेपकर्ताले रकम फिर्ता पाउँदैनन्।
बैङ्किङ सिस्टमलाई निरन्तर चलाउनका लागि प्रवाह भएको कर्जा नियमित रूपमा असुली हुनुपर्छ। कर्जा असुली नियमित हुन सकेन भने निक्षेपकर्ताहरूमाथि ठुलो अन्याय हुने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुरु प्रसाद पौडेल बताउँछन्।
ऋण मिनाहा हुनसक्छ?
बैङ्क तथा वित्तीय संस्थालाई नेपाल सरकारका कुनै निकायले ऋण मिनाहा दिने रकम फण्डिङ गरिदिनुपर्छ। कति जनाको कति रकम हो? ऋणीलाई कसैले शोधभर्ना उपलब्ध गराइदिए ऋण मिनाहा हुनसक्छ। तर, बैङ्क तथा वित्तीय संस्थाले ऋण मिनाहा गराएमा निक्षेपकर्तामाथि अन्याय हुने प्रवक्ता पौडेलले बताए। उनले भने, ‘त्यो सम्भव देखिँदैन।’
बैङ्कबाट लिएको कर्जा चुक्ता नगर्ने हो भने वित्तीय प्रणाली नै ठप्प हुन्छ। बैङ्क तथा वित्तीय संस्थाले नियमित ढङ्गले ग्राहकलाई कुनै पनि खालको अप्ठ्यारो नपारी ट्रान्सपरेन्ट तरिकाले कर्जा प्रवाह गर्नुपर्छ। ब्याज तोके अनुसार लगाउनुपर्छ।
नियमित कर्जा असुल हुन नसके समस्या पर्न सक्छ। कर्जा लिने हो, कर्जाको सही सदुपयोग गर्ने हो। कर्जा जे प्रयोजनका लागि लिइएको थियो, त्यही प्रयोजनका लागि प्रयोग गर्ने हो।
आयआर्जनका स्किमहरू देखाएर परियोजना सञ्चालन गर्न कर्जा लिइन्छ। त्यसैमा रहेर गर्ने हो भने लिएको कर्जाले केही न केही रकम उत्पादन गर्न सक्छ। त्यसले फाइदा हुन्छ। त्यही फाइदाबाट बैङ्कको ब्याज तिर्ने हो, किस्ता तिर्ने हो।
राष्ट्र बैङ्कले भरपुर रूपमा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर उपयोग गर्न अनुरोध गरेको छ। कसैको बहकाउमा लागेर ‘कर्जा लिएपछि तिर्नुपर्दैन’, ‘निश्चित रकमसम्मको कर्जा तिर्नु पर्दैन’ भनेर भन्छ भने त्यो भ्रमको खेती हो। त्यस्तो सम्भव छैन।
निश्चित तहको साना किसानहरूको समस्यामा परेको हकमा त्यस्तो कार्यक्रम ल्याएर गर्न खोजिएको हो भने नेपाल सरकारले स्पष्ट रूपमा बोल्छ। सरकारले केही बोलेको छैन। त्यसैले ऋण मिनाहाको कसैको भ्रममा नपर्न प्रवक्ता पौडेलले अनुरोध गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.