निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लुम्बिनीको अपत्यारिलो यात्रा: एनपीएल च्याम्पियन, सुदूरपश्चिम स्तब्ध

लुम्बिनीको अपत्यारिलो यात्रा: एनपीएल च्याम्पियन, सुदूरपश्चिम स्तब्ध

95
SHARES

काठमाडौँ – कुनै समय लगातार तीन खेलमा पराजय भोगेपछि लीग चरणबाटै बाहिरिने सङ्घारमा पुगेको लुम्बिनी लायन्सले अपत्यारिलो यात्रा पार गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको छ। यो उपाधि लुम्बिनी लायन्सको इतिहासमै पहिलो एनपीएल उपाधि हो, जसले टोलीको पुनरागमनलाई झनै ऐतिहासिक बनाएको छ।

शुक्रवार भएको एनपीएलको दोस्रो संस्करणको फाइनलमा उपाधि दाबेदार सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले स्तब्ध पार्दै लुम्बिनीले पहिलो पटक एनपीएल उपाधि कब्जा गरेको हो। लीग चरणको एक खेल बाहेक सबै खेलमा जित हासिल गरेको सुदूरपश्चिम रोयल्सले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन।

फाइनलमा हारेसँगै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामा सीमित भयो। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम लुम्बिनीसँग निरीह बन्न पुग्यो।

लुम्बिनीका बलरहरू हाबी हुँदा सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो। जितका लागि पाएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान गरे।

कप्तान रोहित पौडेलले १६ तथा जोन म्याथु सर्टले १४ रन बनाए। निरोशन डिकवेलाल ११ रनमा अविजित रहे।

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १९.१ ओभरमै ८५ रनमा अलआउट भएको थियो। उसका लागि इशान पाण्डेले सर्वाधिक ३३ रनको योगदान गरे।

कप्तान दीपेन्द्र सिंह ऐरीले १३ तथा हर्मित सिंह र स्कट कुगेलेइजनले १०–१० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन छुन सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले समान ३–३ विकेट लिए। उपाधिसँगै लुम्बिनीले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।

हारपछि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले आजको दिन नै आफूहरूका लागि खराब रहेको प्रतिक्रिया दिए। उनले आफ्ना ब्याट्सम्यानहरू चल्न नसक्दा हार व्यहोर्नु परेको बताए। साथै, उनले अर्को वर्ष अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता पनि जनाए।

प्रतियोगिताको उपाधि जितेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले यसलाई ठुलो सफलता भएको दाबी गरे। सुदूरपश्चिमलाई सस्तैमा समेट्न सकिएला जस्तो नलागे पनि सबै कुरा मिल्दा खेल सहज भएको उनले बताए।

ह्याट्रिक विकेट लिन्छु भन्ने सपना पनि नसोचेको बताएका उनले आफ्ना लागि आजको दिन नै विशेष रूपमा राम्रो रहेको प्रतिक्रिया दिए।

गत वर्ष तालिकाको पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरेको लुम्बिनीले यस पटक उपाधि मात्रै जितेन, प्रतियोगितामा प्रदान गरिएका प्रायः सबै पुरस्कारहरू पनि आफ्नो नाममा पार्‍यो। लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै ओमोडाको ब्रान्ड न्यू कार जेकु जे–फाइभ ईभी र बजाज मोटरसाइकल प्राप्त गरे।

रोहित पौडेलले एनपीएलमा सर्वाधिक २७६ रन बनाएका थिए। २६४ रन जोडेका सुदूरपश्चिमका विनोद भण्डारी समग्रमा तेस्रो तथा नेपाली खेलाडीमध्ये दोस्रो सर्वाधिक स्कोरर बने।

सर्वाधिक रन बनाउने कीर्तिमान पोखराका एडम रोजिङ्टनको नाममा रह्यो। उनले प्रतियोगिताभर ३२३ रन जोडेका थिए। सर्वाधिक विकेट लिने कीर्तिमान भने तीन खेलाडीको नाममा संयुक्त रूपमा रह्यो।

विराटनगर किङ्ग्सका सन्दीप लामिछाने, सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्लले समान १७–१७ विकेट लिए।

लुम्बिनीका रुबेन प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगिताभर १५ विकेट लिएका र ६५ रन बनाएका रुबेन ट्रम्पलम्यानले पाँच लाख रुपैयाँ पुरस्कार हात पारे।

लुम्बिनीकै कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर, विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर तथा लुम्बिनीका शेर मल्ल उत्कृष्ट उदयमान खेलाडी घोषित भए। शेर मल्लले पल्सर मोटरसाइकलसहित दुई लाख रुपैयाँ नगद प्राप्त गरे।

सन्दीप लामिछाने उपस्थित हुन नसक्दा उनको तर्फबाट शक्ति गौचनले पुरस्कार ग्रहण गरेका थिए। सन्दीपले ५० हजार रुपैयाँ नगदसहित बजाज मोटरसाइकल प्राप्त गरेका छन्।

एनपीएलको विजेता टोली लुम्बिनी लायन्सलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिएका छन्। राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टोली, आयोजक र समर्थकप्रति धन्यवादसमेत व्यक्त गरिएको छ।

लुम्बिनी लायन्सले उपाधि जितेसँगै एनपीएलको दोस्रो संस्करण औपचारिक रूपमा सम्पन्न भएको छ। खेलाडीहरूको सम्मानका लागि ठमेलस्थित एलओडी क्लबमा आठै टोलीका खेलाडीहरूको सहभागितामा ‘एनपीएल नाइट’ आयोजना गरिएको छ।

गतवर्ष उद्घाटन खेल जितेको जनकपुरले एनपीएलको उपाधि उचालेको थियो।

समाचार शेयर गर्नुहोस्
95
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.