काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन्। त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान् नेतृत्वको खाँचो रहेको उनले बताए।
राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ। इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पने दायित्व हाम्रो काँधमा छ। यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु। त्यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान् नेतृत्वको खाँचो छ।”
उनले राजनीति पेसा वा व्यवसाय नभएको उल्लेख गर्दै यो समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव सबैमा जागृत हुन जरुरी रहेको बताए। “नेपाली जनताले यतिबेला हामीसँग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभुलौँ,” राष्ट्रपति पौडेलले भने।

काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रूपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको तथा आर्थिक, सामाजिक, भौतिक विकास र सहरी व्यवस्थापनमा देखाएको नवीनपना र सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले इतिहास र संस्कृतिको बेजोड सङ्गमका रूपमा रहेको राजधानीस्थित आधुनिक समयका महानगरवासीको आवश्यकता, चाहना र सपना सम्बोधन गर्ने दायित्व निर्वाहमा काठमाडौँ महानगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे।
महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन्।
महानगर दिवसको अवसरमा लिखित विवरण प्रस्तुत गर्दै बालेनले दुई खर्ब मूल्य बराबरको जग्गा फिर्ता गराउने लक्ष्य राखिएको बताए। उनले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता गरेको जानकारी दिए।

चाप्लुसी, बेइमानी र अवसरवादले भरिएको समाजप्रति व्यङ्ग्य गर्दै नयाँ र्याप गीत सार्वजनिक गरेका बालेनले सार्वजनिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने अपेक्षा व्यक्त गरे।
महानगरले दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेको जनाएको छ। धुलोरहित कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार गरिएको र ६२ वटा चोकमा हाई मास लाइट जडान गरिएको बालेनले बताए।
सडक बत्तीको गुणस्तर वृद्धि गर्न र रात्रिकालीन शहरी सौन्दर्य बढाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ती राखेर शहर उज्यालो बनाउने काम भइरहेको पनि उनले जानकारी दिए।
समारोहमा देशको गरिमा बढाउन विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने १५ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा सांस्कृतिक अध्येता तथा नेवा: मानवअधिकारकर्मी प्रा. डा. चुन्दा बज्राचार्य, वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, शिक्षाविद् प्रा. डा. केदारभक्त माथेमा, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, नेपाली क्रिकेटर सोमपाल कामी, महिला भलिबल क्याप्टेन जेनिशा विश्वकर्मा, युरोलोजिस्ट डा. सञ्जय खड्गी, साहित्यकार प्रकाश सायमी, पौडी खेलाडी नयना शाक्य, फिफाका पूर्व रेफ्री ज्ञानुराजा श्रेष्ठ, ललितकलाकर्मी गोविन्दलाल डङ्गोल, पावर लिफ्टिङ् खेलाडी रुवी श्रेष्ठ, महिला क्रिकेटर इन्दु बर्मा र समाजसेवी रञ्जनलाल श्रेष्ठ छन्। उनीहरूलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो।
समारोहमा महानगरपालिकाको गरिमा अभिवृद्धिमा योगदान पुर्याए बापत ७ जना जनप्रतिनिधिलाई जनही १ लाख रुपैयाँसहित ‘स्थानीय सेवा गौरव पुरस्कार २०८२’ बाट सम्मानित गरिएको छ। सम्मान प्राप्त गर्ने जनप्रतिनिधिमा वडा नम्बर ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नम्बर १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नम्बर १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नम्बर २५ का अध्यक्ष राजेश डङ्गोल, वडा नम्बर ३ का सदस्य केशवप्रसाद श्रेष्ठ, वडा नम्बर १८ का सदस्य हेमज्योती शाक्य र वडा नम्बर ३२ का सदस्य हरिबहादुर बस्नेत छन्।
समारोहमा ४ जना जनप्रतिनिधिलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मानित गरिएको छ। सम्मानित हुनेमा वडा नम्बर ४ का सदस्य सरु अधिकारी, वडा नम्बर २० का सदस्य शोभा मानन्धर, वडा नम्बर २६ का सदस्य शान्ता महर्जन र वडा नम्बर २९ का सदस्य सङ्गीता पुजारी छन्।
कार्यक्रममा वडा नम्बर १० का सदस्य सतिश तण्डुकार र वडा नम्बर २१ का सदस्य रीना नेपालीलाई प्रथम जननिर्वाचित नगर प्रमुख जनकमान श्रेष्ठ स्वशासन पुरस्कारबाट सम्मानित गरिएको छ। उक्त पुरस्कारको राशि जनही १ लाख रुपैयाँ रहेको छ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो। ०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो। यही दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.