निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ओलीलाई नेता व्यवस्थापन गर्न सकस, उपाध्यक्षमा बिन्दा एक्ली महिला उम्मेदवार

ओलीलाई नेता व्यवस्थापन गर्न सकस, उपाध्यक्षमा बिन्दा एक्ली महिला उम्मेदवार

114
SHARES

काठमाडौँ – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि नेताहरूको व्यवस्थापन गर्न नसक्दा ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया प्रभावित बनेको छ। आकांक्षीहरूबीच सहमति जुट्न नसकेपछि निर्वाचन तालिका दोस्रो पटक संशोधन गरिएको छ।

तालिका संशोधनसँगै उम्मेदवारी मनोनयनको समय थपिएपछि मतदानको समय पुस २ गतेलाई धकेलिने सम्भावना बढेको हो। काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा सहमति खोज्ने प्रयास जारी रहेकाले निर्धारित समयमा मतदान हुन नसक्ने अवस्था देखिएको हो।

एमाले सचिव पद्मा अर्यालले सोमबार बेलुकी पत्रकार सम्मेलन गर्दै अझैसम्म पनि आकाङ्क्षीहरूलाई मिलाउने प्रयास जारी रहेकाले मतदान धकेलिने सम्भावना रहेको जानकारी दिइन्।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएसँगै अन्य पदका आकाङ्क्षीहरूले पनि धमाधम उम्मेदवारी दिएका छन्। बन्दसत्रको दोस्रो दिन ओलीको समूहमा स्थान नपाएका नेताहरूको असन्तुष्टि बढेपछि समय थपिएको हो।

गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको सङ्ख्या १९ कायम गरेको र केन्द्रीय सदस्य २५१ बाट ३०१ पुर्‍याएको भए पनि ओली समूहलाई भाग मिलाउन हम्मेहम्मे परेको देखिएको छ। सचिव अर्यालले पनि नेताहरूको व्यवस्थापन गर्न सकस भएको स्वीकार गरेकी छन्।

ओली समूहबाट रोजेको पद नपाएकामध्ये कसैले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कोही ईश्वर पोखरेल पक्षमा खुलेका छन्। महासचिव पद नपाएपछि ओली पक्षका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्।

विघटित प्रतिनिधिसभामा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले खुला क्षेत्रतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। अहिलेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि ओलीसँग असन्तुष्ट हुँदै उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यी दुवै नेतासँग अध्यक्ष ओली निरन्तर छलफलमा रहेको र सबैलाई मिलाएर लैजाने प्रयास भइरहेको सचिव अर्यालको दाबी छ।

महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ। परशुराम मेघी गुरुङले पोखरेल पक्षबाटै उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। यसअघि पोखरेल समूहमा खुलेका योगेश भट्टराईले पनि उपमहासचिवमा आफ्नो उम्मेदवारी स्वतन्त्र रहेको बताएका छन्।

रघुजी पन्त भने प्रदीप ज्ञवालीले छाडेको ठाउँमा आफू उपाध्यक्ष बन्ने लबिङमा लागेका छन्। नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका पन्त पछिल्लो समय ओलीनिकट मानिन्छन्। पन्तलाई पोखरेल पक्षले उपाध्यक्षमा समेट्ने गरी छलफल गरे पनि उनी साझा उम्मेदवार बन्ने रणनीतिमा लागेका छन्।

ओली प्रधानमन्त्री हुँदा पटक–पटक महान्यायाधिवक्तालगायतका पदमा नियुक्ति पाएका अग्नि खरेलले पनि सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। कृष्णगोपाल श्रेष्ठ र गोकुल बाँस्कोटाले पनि पोखरेल पक्षबाट सचिव पदमा उम्मेदवारी दिएका छन्।

ओली तेस्रो पटक अध्यक्ष बन्ने दाउमा रहँदा ईश्वर पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको अदृश्य साथ लिएर मैदानमा होमिएका छन्। ओलीले नपत्याएका लालबाबु पण्डितले सचिवमा, भीम आचार्यले उपाध्यक्षमा र आनन्द पोखरेलले उपमहासचिवमा उम्मेदवारी दिएका छन्।

उपाध्यक्ष पदमा एक मात्र महिला उम्मेदवार बिन्दा पाण्डे पोखरेल समूहबाट उम्मेदवार बनेकी छन्। उनलाई वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको समर्थन रहेको छ।

तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई ओलीले केन्द्रीय सदस्यमा समेत नपत्याएपछि उनले पनि ‘स्वतन्त्र’ उम्मेदवारी दिएका छन्।

यसै महाधिवेशनबाट राजनीतिक विश्राम लिएकी अष्टलक्ष्मी शाक्यले नेतृत्व हस्तान्तरणका लागि आफूले पद छोडेको बताइन्।

शाक्यसँगै सक्रिय राजनीति छोडेका वर्तमान उपाध्यक्ष युवराज ज्ञवालीले एउटै व्यक्ति एउटै कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने मान्यता आफ्नो रहेको बताएका छन्।

समाचार शेयर गर्नुहोस्
114
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.