निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भारतीय २ सय र ५ सय दरका नोट चल्ने, पर्यटन क्षेत्रलाई सहज बनाउने

भारतीय २ सय र ५ सय दरका नोट चल्ने, पर्यटन क्षेत्रलाई सहज बनाउने

242
SHARES

काठमाडौँ – अब भारतीय २ सय र ५ सय दरका नोट नेपालभर चल्ने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारसम्म ओसार–पसार गर्न पाइने निर्णय गरेको हो।

यसअघि नेपालमा भारतीय २ सय र ५ सय दरका नोट चलनचल्तीमा नआएपछि सीमा क्षेत्र, पर्यटन व्यवसाय, होटल, यातायात तथा साना व्यापारीहरू समस्यामा परेका थिए।

सन् २०१६ मा भारतले ५०० र १ हजार दरका पुराना नोट अवैध घोषणा गरेपछि नयाँ २ सय र ५ सय दरका नोट नेपालमा प्रयोग गर्न नपाइने अवस्था सिर्जना भएको थियो। त्यसपछि सीमावर्ती बजार, तीर्थयात्री र भारतीय पर्यटकसँग सम्बन्धित कारोबारमा अन्योल र असहजता बढ्दै आएको थियो।

सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै भारतीय दुई सय तथा पाँच सय रुपैयाँ दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान सक्ने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

नव नियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले नेपाल सरकारले लामो समयदेखिको अन्योल चिर्दै भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोटहरू नेपालमा चलाउन निर्णय गरेको बताए। अब दुवै देशका नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारसम्म २ सय र ५ सय दरका नोटहरू नेपाल ल्याउन तथा भारत लैजान पाउनेछन्।

उपाध्यक्ष श्रेष्ठले यो निर्णयले नेपाल र भारतबीचको आर्थिक गतिविधि, व्यापार तथा पर्यटन क्षेत्रलाई थप सहज बनाउने विश्वास व्यक्त गरे। सीमा क्षेत्रका व्यवसाय, होटल, रेस्टुरेन्ट, यातायात र पर्यटकीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्ने उनको भनाइ छ।

सरकारले सोमबार मात्रै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठलाई नियुक्त गरेको थियो। उपाध्यक्ष श्रेष्ठले छोटो समय भए पनि आयोगको भूमिकालाई प्रभावकारी बनाएर अघि बढ्ने आफ्नो योजना सुनाए।

मन्त्रिपरिषद् बैठकले प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिकताका लागि आइटी टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि गरेको छ।

समाचार शेयर गर्नुहोस्
242
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.