काठमाडौँ – सुरक्षण मुद्रण केन्द्रले नयाँ क्युआर आधारित सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ। लाइसेन्सको ब्याकलग हटाउन केन्द्रले यातायात व्यवस्था विभागसँगको सहकार्यमा यसअघि प्रयोग हुँदै आएको चिप प्रविधि हटाएको छ।
चिप प्रविधि पुरानो र रिड गर्न महँगो डिभाइस आवश्यक पर्ने भएकाले सरकारले नयाँ क्युआर प्रणाली अघि सारेको हो। अहिलेको प्रविधि र आवश्यकताका अनुसार केही रणनीति परिवर्तन गरिएको सरकारको दाबी छ।
अफलाइनमा समेत लाइसेन्स भेरिफिकेसन गर्न सकिने बलियो पक्ष रहेको केन्द्रले जनाएको छ। क्युआरबाट ट्राफिक प्रहरीलाई चिट काट्न, लाइसेन्सको बारेमा जानकारी लिन अझै सजिलो हुने विश्वास सरकारले गरेको छ।
तर नियमित लाइसेन्स छपाइमा नै ढिलासुस्ती देखिएको छ। सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत नियमित लाइसेन्स छपाई सुरु गर्न सकेको छैन। हाल भने केवल वैदेशिक रोजगारीमा जाने तथा आपतकालिन आवश्यकताका लागि आएका लाइसेन्सहरू मात्र छपाई भइरहेको छ।
गत कार्तिक २१ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नै मुद्रण मेसिनबाट सवारी चालक अनुमतिपत्र छाप्ने कार्यको शुभारम्भ गरेका थिए। सञ्चारमन्त्री खरेलले “२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेकोमा पहिलो चरणमा १२ लाख प्रति छापिने” बताएका थिए।
तर हालसम्म एक प्रति पनि छापिएको छैन। लाइसेन्स छपाइका लागि आवश्यक केही प्रक्रिया नै पूरा नभएकाले कहिलेबाट नियमित छपाई सुरु हुन्छ भन्ने यकिन नभएको एक कर्मचारीले बताए।
इमर्जेन्सीका लागि आवश्यक लाइसेन्स भने अहिले दैनिक रूपमा छापिँदै आएको छ। हाल दैनिक ५ सय प्रति छापिनुपर्ने भए पनि सामान्य रूपमा दिनमा २–३ सय प्रति मात्र छाप्ने काम भइरहेको जानकारी सुरक्षण मुद्रण केन्द्रका सूचना अधिकारी गोपालराज तिमल्सिनाले दिए।
उनले छपाइ गरेर वितरणका लागि यातायातमा पठाउने गरेकाे बताए। `छाप्न सुरु भएको छ,पठाइपनि सकेका छाैं’तिमल्सिनाले पहिचानसँग भने,`वितरणाकाे काम यातायात कार्यालयले गर्छन।´
काभ्रेको बनेपास्थित केन्द्रमा वर्षौँदेखि यत्तिकै थन्किएका मेसिन र पार्टपुर्जाको मर्मतपछि सुरु भएको छपाइका लागि हालसम्म करिब तीन अर्ब रुपैयाँ लगानी भएको छ।
सुरक्षण मुद्रण केन्द्रका कर्मचारीका अनुसार केही समस्याहरू अझै परीक्षणको क्रममा छन्। उक्त प्रक्रिया पूरा भएपछि दैनिक २५ हजार लाइसेन्स छाप्न सक्ने दाबी गरिएको छ।
अर्को समस्या भने बिचौलियाको बिगबिगी उस्तै देखिएको छ। वैदेशिक रोजगारी तथा आपतकालिन लाइसेन्सका लागि बिचौलिया मार्फत हुने कारोबारमा सुधार नआएको र पुरानो सिस्टमकै झल्को देखिएको छ।
सरकारको दाबी अनुसार नयाँ क्युआर प्रणालीले छपाई र वितरण दुवैमा पारदर्शिता ल्याउने लक्ष्य राखेको भए पनि हालको अवस्थामा सुरक्षित र नियमित लाइसेन्स वितरण अझै चुनौतीपूर्ण देखिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.