निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जेनजी आन्दोलन हाइज्याक गर्ने प्रयासविरुद्ध तनुजा आक्रामक

जेनजी आन्दोलन हाइज्याक गर्ने प्रयासविरुद्ध तनुजा आक्रामक

120
SHARES

काठमाडौं – जेनजी आन्दोलनको नाम दुरुपयोग भइरहेको भन्दै जेनजी अगुवा तनुजा पाण्डेले कडा आपत्ति जनाएकी छन्। उनले ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङलाई जेनजीको नाम बेच्ने काम तुरुन्त बन्द गर्न चेतावनी दिएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक अभिव्यक्तिमार्फत पाण्डेले पछिल्ला तीन महिनामा गुरुङका अस्थिर, असङ्गत र विरोधाभास गतिविधिले देश र जेनजी आन्दोलनलाई ठुलो क्षति पुगेको उल्लेख गरेकी छन्। यसअघि पनि विभिन्न व्यक्तिहरू र समूहहरूले जेनजी आन्दोलनको लोकप्रियता प्रयोग गरी व्यक्तिगत तथा संस्थागत एजेन्डा अघि बढाउन खोजेको, आन्दोलनलाई आफ्नो नियन्त्रणमा लिन खोजेको र आन्दोलनको मूल मर्मबाट विचलित गराउने प्रयास गरेको पृष्ठभूमिमा पाण्डेको यो अभिव्यक्ति आएको हो।

पाण्डेले गुरुङलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरो’को संज्ञा दिँदै लेखेकी छन्, “तपाईँका मागहरू पूरा नभए जेनजी ‘फेल’ हुन्छ भन्ने कथ्य जबरजस्ती थोप्ने काम अब बन्द गर्नुहोस्।” उनले यस्तो प्रदर्शनमुखी गेट–किपिङ आफैँमा लज्जास्पद रहेको बताउँदै पक्षपात नहोस् भन्ने चाहना राख्नेले सबैभन्दा पहिले त्यो संस्कार आफैँबाट सुरु गर्नुपर्ने उल्लेख गरेकी छन्।

उनको फेसबुक स्ट्याटसमा लेखिएको छ, “तिमीलाई चाहिएको बेला संसद् भत्काउने र नचाहिएको बेला पुनःस्थापना गर्ने, घरी चुनाव गर्ने, घरी चुनाव नगर्ने मनपरी स्वीकार्य छैन। खबरदार! नेपाल कसैको प्रयोगशाला होइन। व्यक्तिगत एजेन्डा अघि सार्न सहिद र जेनजीको नाम बेच्ने काम तुरुन्त बन्द गर।”

पाण्डेले गुरुङका गतिविधिहरूलाई निरन्तर विरोधाभासपूर्ण रहेको भन्दै प्रश्न उठाएकी छन्। “कहिले नेताहरूलाई निर्वाचनमा आउन नदिने घोषणा गर्छौ, कहिले पार्टी नै आवश्यक छैन भन्छौ। कहिले बहुदलीय लोकतन्त्रको वकालत गर्छौ, अनि तिनै दलहरूलाई बेवास्ता गर्दै एकपक्षीय सम्झौता गर्छौ। कहिले राष्ट्रपतिले बहुदलीय प्रणालीको समर्थन गरेकै भरमा ज्यान मार्ने धम्की दिन्छौ। फेरि त्यही दलहरूलाई सार्वजनिक बहसमा आउनुपर्ने भन्दै अन्ततः तिनैलाई ‘अन्तिम विकल्प’ का रूपमा प्रस्तुत गर्छौ,” उनले लेखेकी छन्। उनले यस्तो विरोधाभास राजनीति नभई “असङ्गत नाटक”को संज्ञा दिएकी छन्।

उनले अरूको आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारमा आत्म–विश्लेषण गर्न पनि आग्रह गरेकी छन्। “पछिल्ला तीन महिनामा तिम्रो अस्थिर र असङ्गत कदमले देश र हाम्रो आन्दोलनलाई कति क्षति पुर्‍यायो भन्ने बुझ,” पाण्डेले लेखेकी छन्।

७० प्रतिशत सिट माग्ने व्यक्तिले त्यसको गम्भीरता बुझ्नुपर्ने उल्लेख गर्दै उनले भरपर्दो र निरन्तरशील हुन अनिवार्य रहेको बताएकी छन्। “त्यो सिटका लागि योग्य हुन पनि जरुरी छ, नैतिक रूपमा पनि। अरूमा क्षमता खोजिरहँदा आफ्नै क्षमता नहेर्नु भनेको पूर्ण पाखण्ड हो, र यसले तपाईँको राजनीतिक नैतिकता नै प्रश्नवाचक बनाउँछ,” उनको भनाइ छ।

पाण्डेले गुरुङलाई केही समय विश्राम लिन सुझाव दिँदै, “जुन क्षेत्रमा तपाईँको दक्षता छ, त्यसमै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। गम्भीर राजनीतिक विषयमा तपाईँका बढ्दो टिप्पणीहरू देशको शान्तिका लागि चिन्ताजनक बन्दै गएका छन्,” भनेकी छन्।

समाचार शेयर गर्नुहोस्
120
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.